विराटनगर, विराटनगर महानगरपालिकाले विराटनगर–१९ स्थित सार्वजनिक माध्यमिक विद्यालयमा अत्याधुनिक कम्प्युटर ल्याब स्थापना गरेको छ । आइतबार विद्यालयमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाद्धारा उद्धघाटन गरिएको उक्त ल्याव महानगरको ४५ प्रतिशत र डिजिटल ब्रिजेज फोर नेपाल तथा विल्ट बेटर विराटनगरको ५५ प्रतिशत संयुक्त लगानीमा ल्याब स्थापना गरिएको हो ।
अत्याधुनिक उपकरणसहित ल्याबमा १६ वटा कम्प्युटर जडान गरिएको छ । सो ल्याबबाट प्रविधिमा आधारित शिक्षण सिकाई, विभिन्न गोष्ठी, सेमिनार, प्रशिक्षणलगायतका कार्य गर्न सकिनेछ । ल्याब स्थापना भएसँगै वडा नम्बर १९ का सार्वजनिक विद्यालय तथा सो वडामा रहेका अन्य विद्यालयसमेत लाभान्वित हुने मेयर नागेश कोइरालाले बताए ।
अबको शिक्षालाई प्रविधिसित जोड्न नसके पछाडि परिने भन्दै मेयर कोइरालाले भने “अहिलेको सूचना प्रविधिसँग जो व्यक्ति जोडिन्छ उसले विश्व बुझ्छ । अबको समय भनेको कम्प्युटरको समय हो । प्रविधिमार्फत घरमै बसेर पनि रोजगारी पाउने अवस्था छ ।” उनले विद्यालयस्तरदेखि नै सूचना र प्रविधिप्रति विद्यार्थीलाई पोख्त बनाउनुपर्नेमा जोड दिए ।
वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेले महानगरपालिका भएर पनि विकासको दृष्टिले अत्यन्तै पछाडि परेको वडाको विद्यालयलाई ल्याब स्थापनाका लागि छनौट गरेकोमा धन्यवाद ब्यक्त गर्दै विद्यालयमा करिब ७५ प्रतिशत बाँतर समुदायका बालबालिका अध्ययन गर्ने बताए । शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारको विकास अन्य वडाको तुलनामा १९ नम्बर वडामा कम भएको गुनासो समेत गरे ।
ल्याब सञ्चालनका लागि विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरुलाई १२ दिने तालिमसमेत सञ्चालन गरिएको थियो । डिजिटल ब्रिजेज फोर नेपालले २ वर्षसम्म सघन रुपमा प्राविधिक सहयोग उपलब्ध गराउने ब्रिजेजका प्रोजक्ट कोर्डिनेटर प्रकाश श्रेष्ठले बताए ।
विद्यालयका प्रधानाध्यापक खगेन्द्र खवासले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा कम्प्युटर ल्याबले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।सो विद्यालयमा साढे ३ सय विद्यार्थी अध्ययनरत छन् ।