काठमाडौँ । शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह डिकोलोजाइसेन एजुकेशन फाईनान्सिङ नाउ भन्ने मुल नारालाई अघि सार्दै शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह मनाउने भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले जेठ १५ गतेदेखि १९ गतेसम्म उक्त बिश्वब्यापी कार्यसप्ताह मनाउन लागेको हो ।
उक्त कार्यसप्ताहमा सार्वजनिक शिक्षा प्रणालीको सुधारका लागि विभिन्न मागहरू अघि सारिएको छ । त्यसका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र संवैधानिक दायित्व पूरा गर्ने, समतामूलक समाज निर्माण गर्ने, भौतिक पूर्वाधार सुधार्ने, प्राविधिक शिक्षामा जोड दिने लगायतमा विषय रहेका छन ।
कार्यसप्ताह अन्तर्गत केन्द्र र प्रदेश तथा स्थानीय तह गरेर विभिन्न कार्यक्रम गर्न लागिएको हो । सङ्घीय शिक्षा ऐन तत्काल जारी गर्न दबाब सिर्जना गर्न विभिन्न सरोकारवालाहरूबाट कम्तीमा ५० हजार हस्ताक्षर सङ्कलन र हस्तान्तरण गर्ने कार्यक्रम छ ।
त्यस्तै शिक्षामा लगानी वृद्धि गर्ने पर्याप्त आधारसहित सङ्घीय, प्रादेशिक तथा स्थानीय तहका विभिन्न सरकारका निकायलाई ज्ञापनपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।