काठमाडौं । बौद्ध अध्ययन तथा दिगो विकास विषयमा २ वर्षिय स्नातकोत्तर कार्यक्रम सुलक्षण कीर्ति विहार कीर्तिपुर चोभार गेटमा सञ्चालन हुने भएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहारबिचको शैक्षिक सहकार्यबाट सामुदायिक स्तरमा स्थापित सुलक्षण कीर्ति क्याम्पसमा हिउँदे शत्रबाट कक्षा सञ्चालन हुनलागेका हुन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालय, डीनको कार्यालय अनुसार कोभिड महामारीले पारेको प्रभावले यस वर्षको नयाँ भर्ना कार्यक्रम प्रभावित भएकाले नयाँ भर्ना कार्यक्रमको अवधि थप गरिएको छ ।
सोही अनुसार सुलक्षण कीर्ति क्याम्पसबाट स्नातकोत्तर तहको बौद्ध अध्ययन तथा दिगो विकास कार्यक्रमको लागि पहिलो पटक प्रकाशित मिति २०७८।०९।२३ गतेको भर्ना आह्वान सम्बन्धी सूचनामा यही २०७८ माघ १५ गतेसम्म रहेको भर्ना आवेदन अवधि माघ २८ सम्म थप गरिएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहारबिचको शैक्षिक सहकार्यमा विश्वविद्यालयको बौद्ध अध्ययन सङ्काय अन्तर्गत सेमेस्टर प्रणाली अनुसारको नेपालमै पहिलो पटक स्नातकोत्तर तहको सामाजिक शास्त्र विषयको बौद्ध अध्ययन तथा दिगो विकास कार्यक्रमका लागि विद्यार्थी भर्ना गर्न क्याम्पस प्रशासनले अनुरोध गरेका छन् ।
कीर्तिपुर नगरपालिका, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिको संयुक्त सहयोग रहेको यस क्याम्पसमा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण विद्यार्थी भएका विद्यार्थीहरूले क्याम्पसको मुख्य कार्यालयमा सम्पर्क राखी आवेदन दिन सकिने छ ।
अहिलेको वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा विश्वविद्यालय स्तरको उच्च शिक्षा अध्ययन÷अनुसन्धानमा बढी माग भई आएको र विश्वको एक मात्र साझा एजेन्डा (दिगो विकास) को लक्ष्यमा पुग्न सहयोग हुने ज्ञान र विज्ञानको संयोग भएको यो विषय योग्य र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने नयाँ विषयमा स्नातकोत्तर तहमा अध्ययन गर्न सकिने क्याम्पसले जनाएको छ ।
अध्ययनकालागि पुर्न तथा आंशिक छात्र वृत्तिको व्यवस्थासमेत रहेको सुलक्षण कीर्ति क्याम्पस सहायक क्याम्पस प्रमुख दामोदर त्रिपाठीले बताए । यस विषयको अध्ययन पश्चात् विभिन्न सरकारी तथा गैर सकारी संस्थाहरूमा विकास विज्ञ एवम् नीति निर्माताका रूपमा अवसर प्राप्त हुने भएकाले यर्थाशिघ्र आवेदन दिनसमेत उनले अनुरोध गरेका छन् । कक्षाहरु साँझ चार बजेदेखि सात बजेसम्म सञ्चालन हुने छन् ।