जेष्ठ ४,२०७९ / ०९ : ४८ अपरान्ह / 2022-05-18 09:48 pm

        वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न कामपाको निर्देशन

        - ३ हप्ता अगाडि
        माघ ८,२०७८

        काठमाडौँ महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । 

        कोरोना भाइरस संक्रमण तीव्ररुपमा बढिरहेका समय पनि केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि काठमाडौँ महानगरपालिका आफु मातहतका विद्यालयलाई यस्तो निर्देशन दिएको हो । 

        कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, कामपा शिक्षा विभागसमेतको निर्देशनलाई समेत वेवास्ता नगर्न महागरको शिक्षा विभागले सूचना जारी गर्दै निर्देशन दिएको छ । 

        महानगरले जारी गरेको सूचनामा निर्देशन पुनः वेवास्ता गरी विद्यार्थीको भौतिक सहभागितामा गतिविधि अघि बढाए कारवाही गर्न बाध्य हुने उल्लेख गरिएको छ । कोरोना भाइरस संक्रमणको तेस्रो लहर तीव्ररुपमा बढिरहेको भन्दै सरकाले गत पुस २७ गतेदेखि भौतिक उपस्थितमा कक्षा सञ्चालन नगरी वैकल्पिक माध्यमबाट सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिइसकेको छ ।

        सरकारले निर्देशनको बेवास्ता गरी कामपाका भित्री वडामा विद्यालय सञ्चालन भएको जनगुनासो आएपनि कामपाले पुनः सूचना जारी गरेको र फेरि वेवास्ता गरे थप कारवाही अघि बढाउने कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए । 

        अहिले काठमाडौँ उपत्यका कोरोना भाइरस संक्रमणको केन्द्र बन्दै गएको छ । उपत्यकामा दैनिक सात हजार संक्रमित देखिन थालेका छन् ।

        कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भन्दै सरकारले लोकसेवा आयोग र त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षासमेत स्थगित गरिसकेको अवस्था छ भने यातायातका साधनमा पनि जोरबिजोर प्रणाली लागू गरिसकेको छ ।

        पछिल्ला केही दिनयता देशभरिमा दैनिक १२ हजारभन्दा बढी कारोना भाइरस संक्रमण पुष्टि भइरहेका छन् ।

          सम्बन्धित समाचारहरु