जेष्ठ १,२०८१ / ०१ : ५४ पूर्वान्ह / 2024-05-14 01:54 am
      • param ad
      • furniture
      • veera Incorporation

      दूध लिटरमा दश रुपैँया घटाउने डेरी उद्योगहरूको निर्णय, अरु के के मा मूल्य घट्ने सूचिसहित

      - ६ महिना अगाडि
      कार्तिक २५,२०८०

      विराटनगर, कोशी प्रदेश डेरी उद्योग संघले दुधको बिक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ । दुधको मूल्यसँगै दही, पनिर र नौनी घ्यूको बिक्री मूल्य पनि घटाउने संघले निर्णय गरेको हो ।

      ८ वटा कोशी प्रदेशका ठूला विभिन्न डेरी उद्योगहरु आबद्ध संघको बैठक कार्तिक २३ गते विराटनगरमा बसेको थियो । उक्त बैठकले किसानको दूधको बजार सुनिश्चितता गर्न तथा हाल दूधको उत्पादन बढी भएको समयमा उपभोक्तालाई समेत राहत प्रदान गर्ने उद्देश्यले कार्तिक १ गतेदेखि यो निर्णय लागू गर्ने सूर्योदय मिल्क एण्ड वेभरेज इ. प्रा.लि.का संञ्चालक मनोज यादवले बताएका छन् । 

      उनका अनुसार घटाएको मूल्य अनुसार अब उपभोक्ताले स्ट्याण्डर दूध आधा लिटरको मूल्य ४५, लो फ्याट मिल्क आधा लिटरको ३५, दही २ सय मिलिलिटरको ३५, आधा लिटरको दही ८०, एक लिटर दहीको १५०, पनिरको प्रतिकेजी ७८० र नौनी घ्यू प्रतिकेजी ८ सय रुपैयाँमा पाउने भएका छन् । 

      यस्तै उक्त मूल्य अनुसारनै विक्री सुरु हुने रितिका डेरी उद्योग प्रालिका संचालक योगेन्द्र चिमरियाले बताएका छन् । झापाको विर्तामोडमा रहेको एनएमसी डेरी उद्योगका संचालक रामचन्द्र उप्रेतीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

      यस्तो निर्णय गर्ने डेरी उद्योगहरुमा एनएमसी डेरी उद्योग, कामधेनु दुग्ध विकास संहकारी संस्था लि., रितिका डेरी उद्योग, सूर्योदय मिल्क एण्ड वेभरेज इ. प्रा.लि., गोरस डेरि प्रा.लि., जीवन विकास डेरी, मदानी मिल्क हाउस र शिवम डेरी एण्ड फुड इन्डष्ट्रिज प्रा.लि. रहेका छन् । 

      कोशी प्रदेशमा दूध उत्पादन बढेर बजारमा विक्री नहुँदा दूध उत्पादक किसानहरु ‘मिल्क होलिडे’को मारमा छन् । अघिल्लो आर्थिक वर्षको तथ्यांक अनुसार कोशी प्रदेशमा दूध दिने गाईको संख्या ५ लाख १० हजार ३२ रहेको छ भने भैंसीको संख्या २ लाख ८७ हजार ९६८ रहेको छ । उक्त संख्याको गाई र भैंसीबाट प्रदेशमा दैनिक ५ लाख २५ हजार १५५ लिटर दूध उत्पादन हुने तथ्यांकमा उल्लेख छ । 

      प्रतिव्यक्ति उपलब्धता वार्षिक ९२ लिटर रहेको छ भने आवश्यकता ७१ लिटर मात्रै हो । उक्त तथ्यांक अनुसार पनि कोशी प्रदेशमा दूध उत्पादन आवश्यकता भन्दा बढी हो । दूधको उत्पादन बढेपछि दूध व्यवसायीहरुले नयाँ बजारको रुपमा बंगलादेश निर्यातको सम्भावना खोजी गरिरहेका छन् । तर, अहिलेसम्म बंगलादेश निर्यातको टुंगो लाग्न भने नसकेको बताइएको छ । 

      गएको फागुन महिनासम्म उत्पादित दूध जेनतेन बजारमा खपत भएको र त्यसपछि बजारको मागभन्दा बढी दूध बजारमा आउनेक्रम अहिले निरन्तर छ । फागुन चैत महिनासम्म विराटनगरको सूर्योदय मिल्क एण्ड बेभरेज इण्डष्ट्रिजले बढी भएको दूधलाई पाउडरमा रुपान्तरण गर्दै आएकोमा अहिले तीनओटा उद्योगले पाउडर बनाइरहेका छन् । कोशी प्रदेशमा तीनओटा पाउडर प्लान्ट सञ्चालन भएपनि किसानले उत्पादन गरेको सबै दूध खपत नहुने अवस्था आएको डेरी उद्योगका सञ्चालकहरुले जानकारी दिए । 

      कोशी प्रदेशमा अहिलेको सिजनमा उत्पादन भएको दूध मध्ये १ लाख ५० हजार लिटर दूध औपचारिक क्षेत्रबाट बजारमा आउने गरेको थियो । तर, अहिले औपचारिक क्षेत्रमा झण्डै २ लाख ५० हजार लिटर भन्दा बढी दूध संकलन भइरहेको डेरी उद्योगहरु बताउँछन् । कोशी प्रदेशमा दूध उत्पादन वृद्धि गर्न प्रदेश सरकारले प्रतिलिटर २ रुपैयाँको दरले नगद अनुदान दिने नीति लिएका कारण पनि उत्पादन बढेको व्यवसायीहरुले बताएका छन् । 

      /pagegallery/2023111145.jpg

        सम्बन्धित समाचारहरु