काठमाण्डौ, प्रतिनिधिसभाका सांसदहरुले पूँजीगत खर्च सन्तोषजनक नरहेको भन्दै सरकारको चर्को आलोचना गरेका छन ।
संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सोमबारको बैठकमा पूँजीगत खर्चसम्बन्धि छलफलमा भाग लिँदै सांसदहरुले पूँजीगत खर्च जनताको अपेक्षा अनुसार हुन नसकेको भन्दै सरकारको आलोचना गरेका हुन । बैठकमा समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पूँजीगत खर्च गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले नयाँ आर्थिक वर्ष सुरु भएको ४ महिना बित्दा पनि आयोजनाहरुको डिजाईनको काम समेत सुरु गर्न नसकेको भन्दै कहिले पूँजीगत खर्च गर्न सुरु गर्ने भनि सरकारसँग प्रश्न समेत गरे ।
समितिका अर्का सदस्य विष्णु पौडेलले औचित्य पुष्टि नभई गैर बजेट बिनियोजना नगर्न पनि सरकारलाई सचेत गराए । पूर्व अर्थमन्त्री समेत रहेका उनले गैर बजेटको दवाव अर्थ मन्त्रालयका परेको उल्लेख गरे ।
समितिको बैठकमा अर्थ सचिव राजन खनालले गैर बजेटको दवाव नदिन अन्य मन्त्रालयलाई आग्रह गरे । उनले अतिआवश्यक परे मन्त्रालयले आफ्नै स्रोत परिचालन गरेर पनि बजेट खर्च गर्न सकिने व्यवस्था गरिएको पनि स्मरण गराए ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलगायतका विभिन्न मन्त्रालयका पदाधिकारीहरुले पूँजीगत खर्चको अवस्थाबारे समितिलाई जानकारी गराएका थिए ।








