काठमाण्डौ, विश्व बैङ्कका उपाध्यक्ष हार्टविग साफेर र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले विश्व बैङ्कले नेपाललाई गरेको सहयोगको प्रसंसा गरे । विश्व बैङ्कले नेपाललाई उच्च प्राथमिकतामा राखेर सहयोग गरेको भन्दै प्रधानमन्त्रीले यसको निरन्तरताको अपेक्षा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल बिकास र समृद्धिको बाटोमा अघि बढिरहेको भन्दै उनले नेपालको बिकासमा विश्व बैङ्कको भूमिका अपरिहार्य हुने धारणा राखे ।
भेटमा उपाध्यक्ष साफेरले नेपालको बिकासका लागी सडक र पुल विकासका मेरुदण्ड भएकाले त्यसमा लगानी गर्नु अपरिहार्य भएको बताएका थिए । गरीबि घटाउन र समावेशी विकासको बाटोमा नेपाललाई अग्रसर तुल्याउन बिश्व बैंकले भूमिका खेल्ने उनले बताए । यसैबिच पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारले विश्व बैङ्कसँग १८ अर्ब रूपैयाँको सम्झौता गरेको छ ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडा र विश्व बैङ्कका उपाध्यक्ष हार्टविग साफेरको उपस्थितिमा अर्थमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थ सचिव राजन खनाल र नेपाल, बङ्गलादेश र भूटानका लागि बैङ्कका देशीय निर्देशक चिम्याओ फ्यानले हस्ताक्षर गरेका थिए । दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गर्ने सिलसिलामा यातायात क्षेत्र सुधारका निम्ति निर्माण गरिने पुलमा लगानी गर्न बैङ्कले १३ अर्ब ३० करोड भन्दा बढी रकम ऋणस्वरुप उपलब्ध गराउनेछ । सो रकमबाट ४ सय ७७ भन्दा बढी पुल निर्माण गरिने बताईएको छ ।








