काठमाडौँ, अर्थमन्त्री युवराज खतिवडाले विश्व अर्थ व्यवस्थामा देखा परेको व्यापार युद्धबाट नेपालजस्ता मुलुकलाई परेको असरबारे विश्व बैंक मौन रहेको बताएका छन् ।
विश्व बैंक समुहले बिहीबार काठमाडौंमा नेपाल डेभलपमेन्ट अपडेट रिपोर्ट सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खवितडाले विश्वमा संरक्षणवाद पुनः उदाउन खोजेको देखिएको भन्दै व्यापार युद्धबाट कसरी बच्ने भन्ने उपायबारे विश्व बैंकको प्रतिवेदन मौन रहेको समेत बताए । उनले विश्व बैंकले मध्यम तहका लागि प्रक्षेपण गरेको औषत ६ प्रतिशतको आर्थिक वृद्धिदरले नेपाललाई नपुग्ने भन्दै त्यो भन्दा ठुलो आकारको वृद्धिका लागि सरकार लागिपरेको दावी पनि गरे ।
कार्यक्रममा विश्व बैंकका नेपाल निर्देशक चिमाओ फ्यानले नेपाल सन् २०३० सम्म मध्यमस्तरको आय भएको मुलुक बन्ने भएकाले सरकार रेमिट्यान्समा भन्दा अन्तै केन्द्रित भएको देखिएको बताए ।
बिश्व बैंकले नेपाल भूराजनीतिक रुपमा अन्य देशभन्दा असहज अवस्थामा रहेको भन्दै हिजो भन्दा राम्रो मात्र नभई अरुको भन्दा निकै राम्रो ढंगले काम गर्नुपर्ने समेत जनाएको छ ।








