सप्तरी, कोसीटप्पु वन्यजन्तु आरक्ष र रासायनिक मलखाद, प्राविधिक र लागत अनुसारको बजार भाउ नपाउँदा केराको व्यावसायिक खेती गर्ने कृषक चिन्तित भएका छन् । सप्तरीको हनुमाननगर–कङ्कालिनी नगरपालिका भारदहका किसानमा व्यवसायबाट विस्थापित हुने चिन्ता बढेको छ ।
केही वर्षअघि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र विस्तारले उनीहरूमा चिन्ता थपिएको थियो भने अहिले बाढीपहिरो, मलखाद र बजार भाउले गर्दा केरा खेती विस्थापित हुने चिन्ता भएको छ । व्यावसायिक केरा खेतीबाट जीवन धानिरहेका तीन सयभन्दा बढी कृषक बेरोजगार हुने अवस्थामा पुग्ने अवस्था भइसकेको छ ।
करिब २१ सय बिघामा उत्पादन हुने सप्तरीको केरा काठमाडौँ, पोखरा, बुटवल, नारायणघाट, हेटौँडा, पशुपतिनगरसहित देशका विभिन्न सहरसम्म निर्यात हुने गरेको छ । मानकी, हाइब्रिड, नटबर, मालभोग, चम्पाचिनी, कुरकुटियालगायत आधा दर्जनभन्दा बढी जातका केरा उत्पादन गर्ने यहाँका कृषक सरकारबाट कुनै सहयोग नपाउँदा र केरा खेतीका लागि सहज रूपमा मलखादसमेत उपलब्ध नहुने गरेका कारण खेतीबाट विस्थापित हुने अवस्थामा पुगिसकेको भारदहका कृषक दिनेश मण्डल बताउँछन् ।
दैनिक गर्जो टार्नेदेखि घरपरिवार छोराछोरीको पढाइलेखाइ व्यावसायिक केरा खेतीमा नै निर्भर भएको भन्दै भारदहका कृषक बच्चा मण्डलले भने, हाम्रो आयआर्जन गर्ने स्रोत केरा खेतीबाहेक अरु केही पनि छैन, केरा खेती पनि खोसियो भने हामी भिखारी हुन्छौँ । भारदहसँगै पोर्ताहा, बैरवा, योगिनिया, मधवापुर गाविसका कृषक व्यावसायिक केरा खेती गरी जीविकोपार्जन गर्दैआएको छ । व्यावसायिक केरा खेतीबाट वार्षिक ४ अर्बको कारोबार हुने गरेको भारदहका केरा व्यापारी इन्द्रदेव लौगीले बताए ।








