काठमाडौं, सरकारले आगामी असोज १२ गतेदेखि काठमाडौं उपत्यकासहित देशका मुख्य शहर तथा जिल्ला सदरमुकामहरुमा सुपथ मूल्यको पसल सञ्चालन गर्दैछ । दशैं तिहार र छठ पर्वलाई ध्यानमा राखेर देशभर ४७ वटा सुपथ मूल्यका पसल खुल्नेछन् । यसरी खुल्ने पसल कात्तिक २७ गतेसम्म चल्नेछन् ।
दशैं तथा तिहारका समयमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सुपथ मूल्यका पसल सञ्चालन गर्न लागेको छ । साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थान लगायतले सस्तो उपभोग्य सामान उपलब्ध गराउन पसल खोल्नेछन् । कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, भक्तपुर, ललितपुरमा तीनवटै संस्थानले एकीकृत पसल चलाउने तयारी छ । यी पसलमा मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ, चिनीमा ५, बास्मतीमा १०, खसीबोका च्यांग्रामा १०, नुनमा २, डिडिसी घ्युमा ५० र पनिरमा प्रतिकिलो १० रुपैयाा छुट दिने निर्णय भएको छ । संस्थानहरुले चाडपर्वका बेला बजारमा दैनिक उपभोग्य बस्तुको कमी हुन आपूर्ति र अनुगमनलाई शसक्त बनाउने भएका छन् । संस्थानहरुले दशै, तिहार र छट पर्व जस्ता चाडबाडलाई मध्यनजर गर्दै बिगत झैं यस वर्ष पनि नेपाल सरकारको निर्देशन अनुसार बिभिन्न स्थानमा सहुलियत दरमा बिक्री बितरण कक्ष स्थापना गर्नेछन् ।
खाद्य संस्थानले सिंहदरबारमा एकीकृत र ७ प्रदेशमा थप ११ वटा सुपथ मूल्यका पसल खोल्ने भएका छन । खाद्य संस्थानले चामल, गहुँ र गेडागुडी सुपथ मूल्यमा उपलब्ध गराउनेछ । आगामी असोज १२ गतेदेखि काठमाडौं उपत्यकासहित देशका मुख्य शहर तथा जिल्ला सदरमुकामहरुमा सुपथ मूल्यको पसल सञ्चालन हुनेछ । देशभर ४७ वटा सुपथ मूल्यका पसल खुल्नेछन् । यसरी खुल्ने पसल कात्तिक २७ गतेसम्म चल्नेछन् । काठमाडौ लगायत देशका विभिन्न स्थानमा सञ्चालन गर्ने लागिएको सुपथमुल्यको पसलले उपभोक्तालाई केही राहत पक्के हुनेछ । तर सिमित ठाउँमा मात्रै सुपथ मूल्य पसल राखिने भएकाले सबै नागरिकको पहुँचमा भने पुग्दैन ।








