केही समयदेखि अमेरिका र चीनबीच व्यापारिक विवाद चुलिँदै गएको अवस्थामा अमेरिकाले राखेको नयाँ व्यापार वार्ता प्रस्तावलाई चीनले स्वागत गरेको छ । विश्वका दुई ठूला अर्थतन्त्र रहेका चीन र अमेरिकाबीचको विवादले व्यापार युद्धकै रुप लिने अनुमान गरिएको थियो ।
महिनौंदेखि चीन र अमेरिकाले एकअर्का विरुद्ध प्रतिशोध स्वरुप करबृद्धिको घोषणा गरिरहेका थिए । तर बुधबार अमेरिकी अर्थमन्त्री स्टीभेन मुन्चिनले व्यापार विवादका विषयमा छलफल गर्न उच्च चिनीया अधिकारीलाई वासिङ्टन आमन्त्रण गरेका छन् ।
“बेइजिङले अमेरिकाको निमन्त्रणा प्राप्त गरेको साँचो हो र त्यसलाई हामीले स्वागत गरेका छौं,” चिनीया बाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङल गाओले भन्नुभयो । उनले दुबै पक्षले छलफलमा उठाइने खासखास विषयमा कुराकानी अगाडि बढाइसकेको जानकारी पनि दिए ।
चीनमा रहेका अमेरिकी कम्पनीमाथि अमेरिकी करबृद्धिको असर पर्न थालेको समाचार आएसँगै अमेरिकाले वार्ताका लागि आमन्त्रण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट हुने ५०० अर्ब अमेरिकी डलर बराबरको आयातमा करबृद्धि गर्ने चेतावनी दिएको एक सातापछि नै अर्थमन्त्री मुन्चिनको नयाँ वार्ता प्रस्ताव आएको छ ।
वार्ताको प्रस्ताव सार्वजनिक भएलगत्तै एसियाली सेयर बजारमा सकारात्मक प्रभाव परेको छ । साताका पूरै छ दिन ओरालो लागेको हङकङ सेयर बजारमा सुधार आई २।५ प्रतिशत विन्दुले वृद्धि भएको छ भने शाङघाइ सेयर बजारमा एक प्रतिशतले वृद्धि भएको छ ।








