काठमाडौं, चिनियाँ कम्पनी थ्री गर्जेज इन्टरनेशनल कर्पाेरेसन (सीटीजीआई) ले जलाशययुक्त जलविद्युत् आयोजना पश्चिम सेती अघि बढाउन नसकिने जानकारी सरकारलाई दिएको छ ।
आयोजना निर्माणका लागि सहमति भएको लामो समयपछि चिनियाँ कम्पनी बाहिरिन खोजेको हो । लगानी बोर्ड र सीटीजीआईका प्रतिनिधिबीच मंगलबार र बुधबार भएको बैठकमा उसले आयोजना प्राविधिक तथा आर्थिक रुपमा लगानीयोग्य नरहेको जनाएको हो ।
सरकारले उक्त २०६८ सालमै उक्त कम्पनीसँग आयोजना निर्माणका लागि सम्झौता गरेको थियो । १ खर्ब ६० अर्ब रुपैयाँ लगानीसहित सन् २०१५ मा उक्त कम्पनीले आयोजना निर्माणका गर्ने प्रतिबद्धता लगानी बोर्डमा पेस गरेको थियो । नेपालको मन्त्रिपरिषद्ले सन् २०१२ को २९ अगष्टमा सीटीजीआईलाई पश्चिम सेती निर्माण–सञ्चालन–हस्तान्तरण (बूट) मोडलमा दिने गरी अनुमोदन गरेको थियो।
मन्त्रिपरिषद्ले स्वीकृत गरेयता सीटीजीआईले लगानी बोर्ड, ऊर्जा मन्त्रालयलाई ऊर्जा बजार, ऊर्जाको बिक्री मूल्य, स्थानीयलाई दिने शेयर, आयोजनाको जडित क्षमता लगायतका दर्जनौं मुद्दाबारे स्पष्ट हुन चाहेको भन्दै सम्झौता गर्न आनकानी गरेको थियो ।
सरकारले उसले राखेका सबै जिज्ञासा लिखित रुपमा उपलब्ध गराए पनि संयुक्त उपक्रम सम्झौताका लागि तयार थिएन। पछि गत कात्तिक ३० गते विद्युत् प्राधिकरणसित संयुक्त उपयुक्त (ज्वाइन्ट भेच्नर) सम्झौता गरेको थियो। उक्त सम्झौता गरे पनि उसले आयोजना अघि नबढाउने बहाना भने झिक्न छाडेन ।
लगानी बोर्डले अन्तिम पटक वार्ता गर्न सीटीजीआईलाई बोलाएको थियो । यो वार्तामा पनि उसले पुरानै मुद्दा दोहोर्याएर अन्ततः लगानी गर्ने अनिच्छा प्रकट र्गयो । यसरी ६ वर्षभन्दा बढी समय ओगटेर पश्चिम सेतीमा सीटीजीआई पनि विमुख भयो । यसको औपचारिक निर्णय मात्र हुन बाँकी छ ।








