काठमाण्डौ, सरकारले भूकम्प पीडितलाई शुन्य व्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले भूकम्प पीडितलाई शुन्य व्याजदरमा पुनः कर्जा प्रवाह गर्ने व्यवस्था नेपाल राष्ट्र बैंकमार्फत् मिलाइएको जानकारी दिएका हुन् । शुक्रबार अर्थ मन्त्रालयको साउन महिनाको कार्य प्रगति विवरण सार्वजनिक गर्दै उनले भूकम्प पीडितले लिएको ऋणको व्याज २ प्रतिशत भन्दा नबढने पनि स्पष्ट पारे । भूकम्प पीडितले विभिन्न बैंकबाट लिएको ऋणको ब्याज २ प्रतिशतभन्दा बढि नलिन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिइएको अर्थमन्त्री खतिवडाले बताए ।
अर्थ मन्त्रालयले श्रावण महिनामा अघिल्लो वर्षको सोही अवधिको भन्दा ३७ प्रतिशत बढि राजस्व संकलन गर्न पनि सफल भएको छ । सरकारले श्रावण महिनामा २६ अरव खर्च गरेको पनि अर्थ मन्त्रालयले जनाएको छ । त्यसमध्ये १६ अरव स्थानीय र प्रदेश सरकारलाई हस्तान्तरण गरिएको पनि अर्थमन्त्री खतिवडाले जानकारी दिए । अर्थ मन्त्रालयले श्रावण महिनामा मात्रै ११ वटा कर कार्यालय थप गरिएको पनि जनाएको छ ।








