काठमाण्डौ,गत आर्थिक वर्ष २०७४÷०७५ मा कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग भएको पाइएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्रालयले दिएको तथ्याङ्कले गत वर्ष मात्रै कर्णालीलाई १८ हजार ४०७ मेट्रिक टन खाद्यान्न अपुग देखाउँछ ।
तथ्याङ्कअनुसार यस प्रदेशका रुकुम, सल्यान र सुर्खेतबाहेक अन्य सातवटै जिल्लामा वार्षिक खाद्यान्न अपुग हुने गरेको मन्त्रालयका प्राविधिक सहायक दीपेन्द्र श्रीवास्तवले जानकारी दिए ।
“आव ०७४÷०७५ रुकुमले धान गहुँ, मकैलगायतका उत्पादित बाली आफूले खाएर दुई हजार ६६४ मेट्रिक टन सञ्चित गरेको छ भने सुर्खेतले पाँच हजार ४०५ मेट्रिक टन खाद्यान्न सञ्चित गर्न सकेको छ,” प्राविधिक सहायक श्रीवास्तवले भने । सबैभन्दा बढी सल्यान जिल्लाले १३ हजार ६३० मेट्रिक टन खाद्यबाली सञ्चित गरेको उनले बताए ।
त्यस्तै, गएको वर्षमै दैलेखमा एक हजार ५३०, डोल्पामा दुई हजार ६६६, जाजरकोमा तीन हजार ५९४, जुम्लामा चार हजार १६६, मुगुमा पाँच हजार १०२ र हुम्लामा आठ हजार ४१५ मेट्रिक टन खाद्यान्न अपुग रहेको उनले बताए । प्राविधिक सहायक श्रीवास्तवका अनुसार सो वर्ष सबैभन्दा बढी कालीकोटमा १४ हजार ६३३ मेट्रिक टन खाद्यान्न अपुग भएको थियो । यसलाई केलाउँदा साविकका कर्णाली आयतित खाद्यान्नमा बढि निर्भर देखिन्छ ।
साविकको कर्णालीका नागरिकलाई प्रतिव्यक्ति १९१ किलो र रुकुम सल्यान, सुर्खेत, दैलेख र जाजरकोटलाई २०१ किलो खाद्यान्न आवश्यक पर्दछ । पहाडी तथा मध्य पहाडी जिल्ला भन्दा हिमाली जिल्लामा प्रतिव्यक्ति वार्षिक खाद्यान्न दर कम निर्धारण गरिनुमा काम गराई र खाद्यान्न उपलब्धता भएको बताइएको छ ।
मन्त्रालयका कृषि प्रसार अधिकृत पूर्णबहादुर थापा का अनुसार कर्णालीमा खाद्यान्न आयातको अवस्थाबाट मुक्त हुन नसक्नुमा पछिल्लो समयमा विदेशिने युवाको सङ्ख्या बढ्नु, कृषि पेशालाई घृणाका रुपमा हेरिनु, वर्षा कम हुनु, बसाइँसराइ, अव्यस्थित शहरीकरण र जलवायु परिवर्तनको प्रभाव हो
विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार १३ लाख २५ हजार जनसङ्ख्या रहेको यो प्रदेशमा वृद्धि भएर ०७४ सालसम्म १८ लाख चार हजार ७२० जनसङ्ख्या पुगेको अनुमानित तथ्याङ्क मन्त्रालयको प्राविधिक शाखामा भेटिन्छ ।








