वैशाख १७,२०८३ / १२ : ३१ पूर्वान्ह / 2026-04-30 12:31 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुक्तहलियाले पाउने रकममा अनियमितता

      - ७ वर्ष अगाडि
      श्रावण २८,२०७५

      बैतडी, बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका १६ जना मुक्तहलियाले आफूहरुसँग घुस मागेको भन्दै जिल्ला हलिया मुक्ति समाजका सदस्य वीरभान कोलीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा आइतबार निवेदन दिएका छन् । 

      नेपाल सरकारको हलिया पुनःस्थापना कार्यक्रमअन्तर्गत आफूहरुले प्राप्त गरेको रकममा रु आठ हजारका दरले रकम मागेको मुक्तहलियाले बताएका छन् । जिल्ला प्रशासन कार्यालयमा संयुक्तरुपमा निवेदन दिँदै उनीहरुले आफूहरुको रकम फिर्ता गरिदिन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरेका छन् । 

      जिल्ला मालपोत कार्यालयमार्फत आफूले पाएको रकममा कोलीले रु आठ हजारका दरले मागेको मुक्तहलिया वीरभान महरले बताए । साउन १७ गते ग्वाल्लेकका दुखी रानासँग रु १६ हजारमध्ये रु नौ हजार ५०० घुस मागेपछि घटना बाहिर आएको हो । रु नौ हजार ५०० मागेपछि आफूले प्रहरीमा निवेदन दिएको र वीरभान कोलीले पछि रकम फिर्ता गरेको रानाले बताए । 

      मुक्तहलियाले दिएको निवेदन बुझ्दै प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रैले यो विषयमा छानबिन गर्ने बताए । उहाँका अनुसार “मुक्तहलियाबाट पैसा मागेको पाइएमा कानूनअनुसार कारवाही गरिने छ ।” 

      मुक्तहलियाको रकममा जिल्लाभरि दुरुपयोग हुनसक्ने हलिया मुक्ति समाजका पूर्वकेन्द्रीय अध्यक्ष राजुराम भुलले बताए । तर जिल्ला हलियामुक्ति समाजका सदस्य वीरभान कोलीले भने आफूले पैसा नलिएको दाबी गर्नुभयो । आफूलाई फसाउन राजनीतिक पूर्वाग्रहका आधारमा आरोप लगाएको उहाँको दाबी छ । 

      बैतडीमा गत आवमा एक हजार मुक्तहलिया परिवारका लागि मुक्तहलिया पुनःस्थापना कार्यक्रमअन्तर्गत रकम आएको थियो । सरकारले मुक्तहलियालाई घर निर्माणका लागि रु तीन लाख २५ हजार, जग्गा खरीदका लागि रु दुई लाख र घर मर्मतका लागि रु एक लाख २५ हजारका दरले रकम दिँदै आएको छ । बैतडीमा दुई हजार २२ जना मुक्तहलिया रहेको तथ्याङ्क छ । 

        सम्बन्धित समाचारहरु