एजेन्सी , जापानी कार निर्माता कम्पनीका केही होण्डा कारहरुमा समस्या देखिएको छ । कम्पनीका कारको इन्जिनले चिसो मौसममा राम्रोसँग काम नगर्ने पाइएको छ ।
यस वर्षको सुरुवातमा पनि कम्पनीका सवारीहरुमा देखिएको समस्याको कारण उल्लेख्य मात्रामा सवारीहरु फिर्ता गर्ने निर्णय गरेको थियो । यो समस्या देखिएसँगै होण्डाले सोमबार आफ्ना थप एक लाखको हाराहारीमा आफ्ना कारहरु फिर्ता गर्ने निर्णय गरेको छ । कम्पनीले आफ्नो एसयूभी मोडलका कारहरु चीनबाट फिर्ता गर्ने निर्णय गरेको हो ।
होण्डा कम्पनीले उत्पादन गर्दै आएको महत्वपूर्ण उत्पादन मध्येको एक मानिएको यो उत्पादनमा भारी मात्रामा खराबीहरु देखिएको हो । इन्जिनमा देखिएको खराबीका कारण ती उत्पादनहरु फिर्ता गर्ने निर्णयमा कम्पनी पुगेको हो । सवारीमा देखिएको समस्याको कारण इन्जिनबाट पनि अत्यधिक नमिठो गन्ध आउने गरेको बताइएको छ ।
यद्यपि उक्त समस्याले इन्जिनको क्षमतामा कुनै किसिमको असर नगर्ने बताइएको छ । कम्पनीका सवारीहरुमा देखिएको यस किसिमको खराबीले हालसम्म कतैपनि दुर्घटना भने नभएको बताइएको छ । दुई हजार अठारको सुरुवातमा इन्जिनमा देखिएको खराबीका कारण कम्पनीको टोकियोमा रहेको मुख्यालयले एक लाख ३० हजार सीआर–भी एसयूभी मोडलका र दुई लाख ९४ हजार सीभिक मोडलकाहरु कारहरु चीनको बजारबाट फिर्ता गरिसकेको छ । अहिले कम्पनीले होण्डाका कारहरुको विषयमा पनि कम्पनीले अनुसन्धान गरिरहेको छ ।
अन्य कारहरुमा पनि सोही किसिमको समस्या छ वा छैन भन्ने विषयमा अहिले अनुसन्धान जारी रहेको जनाएको छ । पछिल्लो समय देखिएको सुरक्षाको विषयले पनि होण्डाको चीनको व्यापारमा व्यापक गिरावट आइसकेको छ । चीनमा गएको जुलाई यता लगातार छ महिनासम्म व्यापारमा गिरावट आइसकेको कम्पनीले जनाएको छ । यो समस्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा सात दशमलव ८ प्रतिशत बढी हो ।








