काठमाण्डौ,बैतडी जिल्लामा पेट्रोल को कालोबजारी बढेको छ । जिल्लाको सतबाँझस्थित एक मात्र ‘भण्डारी आयल स्टोर’ले दुई वर्षदेखि पेट्रोल ढुवानी नगरेका कारण कलोबजारी बढेको हो ।
प्रतिलिटर रु १०४ पर्ने पेट्रोल जिल्लाका उपभोक्ताले रु १३५ देखि रु १५० सम्ममा खरिद गर्दैआएका छन् । “चर्को मूल्य तिरेर पेट्रोल किन्न बाध्य छौँ,” जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेले भने । हाल सीमावर्ती भारतीय बजार झुलाघाट तथा छिमेकी जिल्ला डडेल्धुराबाट पेट्रोल खरिद गर्नुपरिरहेको उनले बताए ।
त्यस्तै दुई वर्षयता उपभोक्ताले चर्को मूल्यमा पेट्रोल किन्नु परिरहेको दशरथचन्द नगरपालिका–१ का अमरबहादुर टेर बताउछन् । उनले भने, “सधैँ महँगोमा पेट्रोल किन्न बाध्य छौँ, सम्बन्धित निकाय मौन छ ।” सतबाँझ तथा गोठलापानी बजारका विभिन्न पसलबाट पेट्रोलको कालोबजारी भइरहेको छ ।
घाटा भएपछि पेट्रोल ढुवानी गर्न बन्द गरेको भण्डारी आयल स्टोरका सञ्चालक लालबहादुर भण्डारीले बताउछन् ।
उता पेट्रोलमा भइरहेको कालोबजारीका बारेमा सम्बन्धित पक्षसँग छलफल गरिने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रकाश गैरेले बताउनुभयो ।
यसैबीच पेट्रोलमा भइरहेको कालोबजारीविरुद्ध आइतबार सतबाँझदेखि गोठलापानीसम्म मोटरसाइकल ¥याली निकालिएको छ ।








