काठमाण्डौ । विगत लामो समयदेखि शेयर बढ्न सकेको छैन । शेयरमा लगानी गर्नेहरु र गर्न चाहनेहरु यतिबेला अन्योलमा छन् । यो साता शेयर कारोबारमा रकम बढे पनि नेप्से परिसुचक भने ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता १८१ कम्पनीको शेयर किनबेच भएको छ । १५ हजार ३१० कारोबारबाट १ अर्ब ७ करोड ६७ लाख ४८ हजार रुपैयाँ बराबरका ४० लाख ८४ हजार ५२० कित्ता शेयरहरु खरिद बिक्री भएका हुन् । कारोबार रकम गत साताको भन्दा १.९४ प्रतिशत बढी हो । गत साता १७९ कम्पनीको कारोबार भएको थियो ।
जसअनुसार १६८८६ कारोबारबाट १ अर्ब ५ करोड ६२ लाख ९१ हजार रुपैयाँ बराबरका ३९ लाख ४५ हजार ७६० कित्ता शेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.५१ अंकले घटेर अन्तिम दिन ११९१.३१ अंकमा पुगेको छ ।
त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.४० अंकले घटेर २५१.१५ अंकमा आइपुगेको छ । यस साता कारोबार रकम ६ करोड ८७ लाख १० हजार रुपैयाँको आधारमा तथा कारोबार भएको शेयर संख्या ३ लाख ३५ हजार कित्ताको आधारमा माछापुच्छ«े बैंक अग्रस्थानमा रहेको छ ।
त्यसैगरी कारोबार संख्या ७३१ वटाको आधारमा जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । विगत लामो समयदेखि शेयर बढ्न सकेको छैन ।
बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनीक गरिरहेका छन् । केहि माइक्रोफाइनान्स र केहि विकास बैंकले थोरै नाफा घटाए पनि अधिकांशले राम्रो नाफा गरिरहेका छन् । बैंक तथा वित्तीय संस्थाले तरलता केही सहज भैरहेको र ब्याजदर पनि विस्तारै घट्न थालेको म्यासेज दिदै गर्दा पनि यसको प्रत्यक्ष प्रभाव भने बजारमा पर्न सकेको छैन ।








