काठमाण्डौ, नेपालको व्यापार घाटा वर्षेनी बढ्दै गएको छ । वस्तु उत्पादन बढाउन र निर्यात गर्न नसक्दा आयात बढिरहेको छ । आर्थिक वर्ष २०७४–७५ मा १२ खर्ब ४३ अर्ब रुपैयाँको वस्तु तथा सेवा नेपाल भित्रिएको छ ।
आर्थिक वर्ष २०७४–७५ मा अघिल्लो वर्षको तुलनामा २६.३१ प्रतिशत बढी आयात भएको छ । आर्थिक वर्ष २०७४–७५ मा १२ खर्ब ४३ अर्ब रुपैयाँको वस्तु तथा सेवा नेपाल भित्रिएको हो । गत आर्थिक बर्ष आयात भएका वस्तुमध्ये पाँच वस्तुको समूहले करिब आधा ४९.२८ प्रतिशत हिस्सा ओगटेको छ ।
गएको आवमा पेट्रोलियम पदार्थ, आइरन एन्ड स्टिल, मेसिनरी सामान, सवारीसाधन र विद्युतीय सामान तथा उपकरण बढी भित्रिने वस्तुको उत्कृष्ट पाँच सूचीमा परेका छन् । अर्को छिमेकी मुलुक चीनबाट १२.९ प्रतिशत वस्तु आयात भएको छ । कुल आयातमा १९.१ प्रतिशत अन्य देशको छ ।
भारत र चीनबाहेक विश्वका एक सय ४० देशका चार हजार सात सय २५ प्रकारका सामग्री नेपाली बजारमा भित्रिएका छन् । गत आर्थिक बर्षमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको भएको छ । एक वर्षमा एक खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ । एक खर्ब २५ अर्ब ८८ करोडको आइरन एन्ड स्टिल आयात भएको भन्सार विभागको तथ्यांक छ । गएको आर्थिक बर्षमा एक खर्ब २४ अर्ब ४४ करोडको मेसिनरी सामान, ८५ अर्ब ३० करोडको सवारीसाधन र ७८ अर्ब २८ करोडको विद्युतीय सामान तथा उपकरण आयात भएको छ ।
गत आथिक बर्षको आयातमध्ये चार खर्ब २१ अर्ब ९३ करोड अर्थात् ३३.९४ प्रतिशत वीरगन्ज भन्सार कार्यालयबाट भएको छ । दोस्रो बढी सामान भित्र्याउने कार्यालय भैरहवा हो । यो भन्सार कार्यालयबाट दुई खर्ब २४ अर्ब (१८.०२ प्रतिशत) वस्तु घरेलु बजारमा भित्रिएको छ । विराटनगरबाट एक खर्ब ५२ अर्ब ९५ करोड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे एक खर्ब, पर्सा सुक्खा बन्दगाहबाट एक खर्ब ३० अर्ब रुपैयाँका सामान भित्रिएका छन ।
अन्य ठूला आठ भन्सार कार्यालयबाट अर्बभन्दा बढी मालवस्तु आयात भएको छ । निर्यातजन्य वस्तुको पहिचान प्रवद्र्धन र बजारीकरण अभावले बर्षेनि व्यापार घाटा बढ्दै गएको छ । जति धेरै वस्तु आयात भयो त्यति नै धेरै व्यापार घाटा बढ्छ । नेपालको अवस्था यस्तै छ । तर व्यापार घाटा कम गराउने विषयमा सरकरा गम्भीर भएको छैन । यसले समग्र नेपालको अर्थतन्त्र नै कमजारे बनाएको छ ।








