काठमाडौं, शेयर बजारमा साताको अन्तिम दिन विहिबारको कारोबारमा पनि सेयर बजार माथी उठ्न सकेन ।
ठूला लगानीकर्ताहरुमा बजारमा थप लगानी गर्ने अनिच्छा, मौद्रिक नीतिमार्फत व्यक्तिगत ओभरड्राफ्टको सीमामा कटौति, करको अन्यौल लामो समयसम्म समाधान हुन नसकेको अवस्था, म्युचुअल फण्डहरुले दोश्रो बजारमा लगानी गर्नुको साटो मुद्दती निक्षेपमा पैसा राखी ब्याज खाँदै बस्ने प्रवृति लगायतका कारणले बजार माथि उठ्न नसकेको हो ।
शेयर बजार मापक नेप्से परिसूचक आज २.५६ बिन्दुले घटेर एक हजार १९१.३१ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४१ बिन्दुले घटेर २५१.१५ बिन्दुमा पुगेको छ ।
स्टकका अनुसार कूल १६२ कम्पनीको छ लाख ७२ हजार ३६८ कित्ता शेयर रु २० करोड ७९ लाख २१ हजार ४७० मूल्यमा खरीद बिक्री भएको छ । कूल १० उपसमूहमध्ये आज दुई उपसमूहको शेयर बढेको छ भने आठ उपमूहको शेयर उकालो लागेको छ ।
बैंकिङ ०.७३ र उत्पादन समूह १.१७ बिन्दुले बढ्दा होटल २.२५, विकास बैंक ८.२७, जलविद्युत् १.५६, वित्त १.९६, निर्जीवन बीमा ५७.३७, अन्य ४.३९, माइक्रोफाइनान्स १०ं७२, बीमा २६.०६ बिन्दुले घटेको छ । यस्तै स्टकमा एनएमबी बैंकले शेयर मूल्य समायोजन गरेको जानकारी गराएको छ ।
बैंकले रु ३१७.३९ प्रतिकित्ता शेयरमा १५ प्रतिशत बोनस शेयरसमेत थप गरेको छ । बैंकको शेयरको आधारभूत मूल्य रु ३९१.७ कायम भएको छ ।








