काठमाडौं, सेयर बजारमा आइतबार दोहोरो अंकको गिरावट आएको छ ।
नेप्से परिसूचक ११.७३ अंकले घटेको यो दिन कारोबार रकम पनि घटेर २१ करोडमा सीमित भएको छ । लगानीकर्ताको मनोबल उकास्ने भरपर्दा र मौद्रिक नीतिले समेत लगानीकर्ताहरुमा उत्साह भर्न नसकेपछि बजार लगातार घट्न पुगेको हो । मौद्रिक नीतिले सेयर बजार उकास्न गरेका कतिपय राम्रा व्यवस्थाहरुको समेत अपव्याख्या गरी यही बेला बजारमा चलखेल गर्ने समूहहरुको समेत सक्रियता बढेको छ । बजारलाई न्यून विन्दूमा झारेर सस्तो मूल्यमा सेयर उठाउने कतिपय ठूला लगानीकर्ताको प्रयासले समेत बजार गिर्ने क्रम जारी रहेको कतिपयको दाबी छ । त्यसो त पछिल्लो समय लगानीकर्तालाई पूँजीगत लाभकरको भार थपिएको छ भने हकप्रद र बोनस सेयरको आधार मूल्यमै पूँजीगत लाभकर लाग्ने व्यवस्था स्थगन मात्र भई त्यो समस्याको पूर्ण समाधान हुन समेत सकेको छैन ।
अर्थमन्त्रालयले एक अध्ययन समिति बनाए पनि त्यसले प्रतिवेदन बुझाउने र त्यसको आधारमा सो मुद्धाको निकासा निकाल्ने बिषयमा ढिलासुस्ती गरिएको छ । यहीकारण समेत लगानीकर्तामा करको त्रास समेत अझै रहेको देखिन्छ । तरलता प्रशस्त भए पनि बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर अपेक्षित रुपमा घट्न सकेको छैन । यसले समेत मार्जिन प्रकृतिको कर्जा लिएर सेयरमा लगानी गर्नेहरु प्रोत्साहित हुन सकेका छैनन् । यिनै कारणले साताको पहिलो कारोबार दिन आइतबार पनि बजारमा निराशा छाएको हो । ‘क’ वर्गका कम्पनीहरुमा उच्च बिक्री चाप देखिँदा सेन्सेटिभ इण्डेक्स २.५६ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.९१ अंकको गिरावट देखिएको छ । यो दिन बित्त समूह ३ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचकमा रातो पोतिएको छ ।
माइक्रोफाइनान्स, होटल, जीवनबिमा र निर्जीवन बिमा समूहमा पहिरो गएको छ । माइक्रोफाइनान्स समूह ३२.९३ अंकले घट्यो भने होटल समूहमा ३४.५७ अंकको गिरावट देखियो । यस्तै, जीवन बिमा समूहको उपसूचक ७०.२८ अंकले घटेको छ भने निर्जीवन बिमाको उपसूचक ११०.६ अंकले घटेको छ ।
यो दिन बैंकिङ समूह ७.६६ अंक, विकास बैंक समूह १३.४२, जलविद्युत समूह १३.७७, उत्पादनमूलक ३.४१ र अन्य समूह ६.७१ अंकले घटे ।








