काठमाडौं, पटकपटक अवरुद्ध हुँदै आएको राष्ट्रिय गौरवको आयोजना भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य सोमवार देखी पुन : स्थगित भएको छ ।
विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा रकम नपाएको भन्दै स्थानीयले गरेको आन्दोलनका कारण निर्माण कार्य स्थगित भउको हो । विमानस्थलको लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा रकम प्राधिकरणमै अड्काएर राख्दा स्थानीय आन्दोलित भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए केही हप्ताअघि नै मुआब्जा वितरणका लागि अर्थ मन्त्रालयबाट ५ अर्ब रुपैयाँ रकम निकासा भइसके पनि महानिर्देशक गौतमले उक्त रकम वितरणको लागि विमानस्थल आयोजनालाई पठाएका छैनन् । आन्दोलनरत स्थनीय वासीन्दाहरुले धावनमार्गको काम पूर्ण रुपमा ठप्प पारेका छन् भने आयोजनाको सुरक्षामा विगतदेखि नै निर्माण भइरहेको टर्मिनल भवन, कन्ट्रोल टावर लगायतका निर्माण कार्य सुस्त गतिमा रहेको छ ।
त्यहाँका स्थानीय वासीन्दाले पटक पटक मुआव्जाको विषयलाई लिएर कार्यलय धाएता पनि वेवास्ता गरेको भन्दै गुनासो पोखेका छन् । मुआब्जा प्राप्तिको प्रक्रियापत्रमा ३ पटक तोक लगाए पनि प्रमुखको निर्देशन नमान्ने अटेर कर्मचारीका कारण स्थानीयले दुः ख पाएको आयोजना प्रमुख ओम शर्माले बताए । अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुसार विमानस्थललाई आवश्यक रहेको भन्दा बढी जग्गा अधिग्रहण गर्न खोज्दा स्थानीयले विरोध गरेपछि आयोजनाले जग्गाको मूल्यांकन भएको २ महिनाभित्र नै मुआब्जा वितरण गर्ने सहमति गरेको थियो ।
हालसम्म पनि मुआब्जा वितरण नहुँदा बाध्य भएर निर्माणकार्य रोक्नुपरेको ५ नम्बर प्रदेशका प्रदेशसभा सदस्य सन्तोष पाण्डेले बताए । दुई महिनामा मुआब्जा वितरण गर्ने भएको सहमति एक वर्ष भइसक्दा समेत करिब १२ प्रतिशतले मात्र मुआब्जा पाएका छन् ।
विमानस्थलका कारण १ हजार ७ सय ४० जना घरपरिवार सो क्षेत्रबाट विस्थापित भइरहेका छन् ।









