काठमाडौं, एनएमबी बैंकको एफपीओमा आइतबार बिहानसम्म साढे ९७ करोडको हाराहारीमा आवेदन परेको छ ।
बिक्री प्रबन्धक नागरिक लगानीकोषका अनुसार आइतबार बिहान ११ बजेसम्म एनएमबी बैैंकको एफपीओमा करिब ३५ हजार आवेदकबाट १ अर्ब बढीको खरीद प्रस्ताव परिसकेका छन्। एफपीओमा आवेदन दिन पाउने पहिलो चरणको आईतवार अन्तिम मिति हो । भोलिदेखि एफपीओमा संस्थागत लगानीकर्ताले समेत आवेदन दिन पाउनेछ । बैंकले १०० रुपैयाँ अंकित दरको साधारण सेयरमा २३३ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता ३३३ रुपैयाँको दरले १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता साधारण सेयरको अतिरिक्त निश्कासन गरेको हो ।
एफपीओका लागि छिटोमा असार ३ र ढिलोमा असार २८ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुकले न्युनतम १० कित्ता र अधिकतम ५७०७० कित्तासम्म आवेदन दिन पाउनेछन् । निश्कासन खुल्ला भएको ४ कार्यदिनभित्र सम्पूर्ण सेयर खरीदका लागि सर्वसाधारणहरुबाट निवेदन प्राप्त नभएमा संस्थागत लगानीकर्ताहरुले समेत आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
कम्पनीको एफपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम नागरिक लगानीकोषले गर्नेछ । सेयर अण्डराइट नागरिक लगानीकोष बाहेक एनआइबिएल एस क्यापिटल, नेपाल एसबीआई मर्चेन्ट बैंकिंग, प्रभू क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र आरबीबी मर्चेन्ट बैंकिंग लिमीटेडले गरेका छन् । एफपीओबाट बैंकको चुक्तापूँजीमा १ अर्ब १४ करोड थप हुनेछ भने प्रिमियम बापत संकलन हुने २ अर्ब ६६ करोड जगेडाकोषमा जम्मा हुनेछ ।
हाल यो बैंकको चुक्तापूँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । एफपीओपछि चुक्तापूँजी ७ करोड ६० लाखको उचाईमा पुुग्नेछ । यस्तै, एफपीओपछि सर्वसाधारण सेयरधनीको स्वामित्व अनुपात हालको ३९.९९ प्रतिशतबाट वृद्धि भई ४९ प्रतिशत पुुग्नेछ । हाल ६०.०१ प्रतिशत रहेको संस्थापक सेयर होल्डिङ घटेर ५१ प्रतिशतमा झर्नेछ ।








