काठमाडौं, मुस्ताङको उत्तरी नाका कोरला, धार्मिकस्थल मुक्तिनाथ र कागबेनी जोड्ने पान्डाखोला मोटरेवल पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
लामो समयदेखि ढिलाई गरिँदै आएको पुलको काम बल्ल ९० प्रतिशत सकिएको छ भने बाँकी चालु आर्थिक वर्षमा सम्पन्न हुनेछ । मुस्ताङको उत्तरी नाका कोराला, धार्मिकस्थल मुक्तिनाथ र कागवेनी जोड्ने पान्डाखोला मोटरेवल पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । २०६९ सालमा साढे ३ वर्षभित्रमा सिध्याउने भन्दै पुल निर्माणको काम शंकरमाली जेभीले लिएको थियो ।
उक्त पुलको लम्बाई ५० मिटर र चौडाई ७ मिटर रहेको लुप्रा पान्डाखोला पुलको ४ करोड ७ लाख लागतमा सुरु गरीएको थियो । लामो समय सम्म पुलको काम पुरा नभएपछि कालीगण्डकी करिडोर र जिल्ला प्राविधिक कार्यालयले ८ वटा निर्माण कम्पनीको नाम जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक गरेको छ ।
सम्झौता अवधि सकिन लागेकाले निर्माण कम्पनी र ठेकेदारलाई समयमै काम सम्पन्न गर्न अनुरोध गरेको र अटेर गर्ने कम्पनी र ठेकेदारलाई कानुन बमोजिम कारवाही गरिने मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले चेतावनी समेत दिएको छ । वर्षायाममा पुल नहुँदा मुस्ताङका स्थानीय र पर्यटकहरुले ठूलो सास्ती बेहोर्दै आईरहेका छन् ।








