काठमाडौं, कालिमाटी फलफूल तथा तरकारी बजारका तीन सय ३८ व्यवसायीमाथि कारवाहीको सिफारिस गरीएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिद्वारा गठित एक उपसमितिले गलत गतिविधि गरेको ठहर गर्दै ती व्यवसायीविरुद्ध कारबाहीको सिफारिस गरेको हो । गत सोमबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ उक्त तरकारी बजारको अनुगमन गरेका थिए । अनुगमनका क्रममा बजारभित्र गलत गतिविधि गरेको पाइएपछि उनले समिति अन्तर्गत एक उपसमिति गठन गरी छानबिन गर्ने निर्देशन दिएका थिए । सो गठीत उपसमितिले धेरै व्यवसायीमाथि कारबाहीको सिफारिस गरेको हो ।
उपसमितिको उक्त निर्णय शुक्रबार बस्ने बोर्ड बैठकमा पेस गर्ने तयारी भएको छ । बोर्डले कारबाहीको बाँकी प्रक्रिया अघि बढाउने मन्त्रालयका अधिकारीले जानकारी दिए । कारबाहीमा पर्नेमा थोकतर्फका फिससेडभित्रका ११ मध्ये आठ, सहकारी समूहका १५ मध्ये १४, माछाका २५ मध्ये २३, २४ टहराभित्र कार्यरत् ३० मध्ये २४, ३८ टहराभित्र कार्यरत ४३ मध्ये आठ व्यवसायी रहेका छन् । त्यसैगरी खुद्रा तर्फका खुद्रा बजारभित्रका ६४ मध्ये ५०, फलफूलभित्रका सबै नौ, गोदाम प्रयोजन केजतर्फका २० मध्ये १४, सटरतर्फका १७ मध्ये सातलाई पनि कारवाहीको निर्णय गरिएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिअन्तर्गतकै बालाजु माछापोखरी बजारका खुद्रा (तल)का २३ मध्ये सात, खुद्रा (माथि) का १४ मध्ये तीन र सटरका १२ मध्ये ६ व्यवसायी पनि कारवाहीमा परेका छन् । हाल उक्त बजारमा ४ सय २५ व्यवसायी छन् । कारवाहीको सूचीमा पर्नेमा बहुउद्देश्यीय भवन र टहराभित्र कार्यरत व्यवसायी छन् । कालिमाटी तरकारी बजारमा बिचौलियाको ठूलो बिगबिगी रहेको पाइएपछि त्यसलाई अन्त्य गरेरै छाड्ने प्रतिवद्धता मन्त्री खनालले अनुगमनकै क्रममा गरेका थिए ।
उक्त बजारमा एउटै स्टलको ठाउँ हेरी ८ देखि १० हजारमात्र बजार व्यवस्थापन समितिलाई बुझाउने र विचौलियाले २ लाख रुपैयाँसम्म खाने गरेको तथ्य पनि अनुगमनका क्रममा फेला परेको थियो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डकै कार्यविधिअनुसार आफ्नो स्थानमा स्वयं कारोवार नगरी अन्य कुनै व्यक्ति वा संस्थालाई बिक्री गर्ने भाडामा दिने वा समितिले उपलब्ध गराएको परिचय पत्रबिहीन व्यक्तिबाट कारोबार गर्न नपाइने व्यवस्था छ ।
कार्यविधि विपरीतको भाडामा यस्तो चलखेल गरेको पाइएमा ७ दिनको समय दिई कसुरअनुसार स्पष्टिकरण माग गरी अख्तियारी दिने वा सम्झौता खोजी गरी इजाजत रद्द गर्नुपर्ने स्थितिमा व्यवसायीको नाम किटान गरी शुक्रबार बस्ने बोर्ड बैठकमा पेस गर्ने तयारी मन्त्रालयको छ ।कारवाहीमा पर्ने भएपछि व्यवसायीले सिमेत बहीबार समितिको कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् ।
शुक्रबार दिउँसो १ बजे फेरि बोर्ड बैठक बस्ने जानकारी मन्त्रालयले जनाएको छ ।








