काठमाण्डौ । आर्थिक वर्ष दुई हजार पचहत्तर, छयत्तरको बजेटमाथि आजदेखि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पेस गरेको वार्षिक बजेटका विनियोजन विधेयकसहित सबै आश्रित विधेयक संसदमा पेस भइसकेका छन् । पेस भएका विधेयकमाथि आजदेखि छलफल सुरु भएको हो ।
छलफलमा सहभागि हुँदै नेपाली कांग्रेसका नेता तथा सासंद मिनेन्द्र रिजालले सरकारले ल्याएको बजेट प्राथमिकताबिहीन रहेको आरोप लगाए । यस वर्ष आर्थिक विकास र समृद्धिको यात्रा सुरु हुने ठूलो अवसर भएपनि बजेटमा त्यस्ता कार्यक्रम बजेटमा नसेमिटिएको रिजालको आरोप छ ।
सत्तापक्षले चुनाव जितेपछि अब जे गरेपनि हुन्छ भन्ने मनसायले बजेट तर्जुमा गरेको उनको आरोप छ ।
बैठकमा धारणा राख्दै सांसद हृदयेश त्रिपाठीले एनजिओ र आइएनजिओबाट नेपाल भित्रने पैसा रोक्नुपर्नेमा जोड दिए । नेपाली सेनाले पूर्व पश्चिम जोड्ने फास्ट ट्राक निर्माण गर्न नसक्ने दाबी त्रिपाठीले गरेका छन् ।
त्यस्तै राजपाका नेता तथा सासंद सरदसिंह भण्डारीले बजेटले विभेदकारी नीति अवलम्बन गरेको आरोप लगाए ।
आइतबार छलफल सकिएपछि अर्थमन्त्री युवराज खतिवडाले बजेटमा उठेका प्रश्नको जवाफ दिनेछन् । बजेटका विधेयकमध्ये विनियोजन विधेयक ढिलामा पनि असार मसान्तभित्र पारित भइसक्नु पर्नेछ ।








