फागुन २६, पाँचथर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काबेली करिडोरको निर्माण चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् ।
आयोजनाको स्थलगत अवलोकलको क्रममा पाँचथर आइपुगेका निर्देशक घिसिङले काबेली करिडोरको निर्माणमा भैरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरे । काबेली करिडोर तथा जिल्लामा अन्य निर्माणधिन विद्युत आयोजनाको अवलोकन गर्दै घिसिङले निर्माण कम्पनीले निर्धारित समयमा काम नसके तेस्रो पटक म्याद नथप्ने चेतावनी दिएका छन् ।
काबेली करिडोर निर्माणको म्याद यो भन्दा अगाडी २ पटक थपिसकिएको छ । काबेली कोरिडोर आयोजना निर्माणमा ढिलाइका कारण ताप्लेजुङको शिवानी हाइड्रोबाट उत्पादित पाँच मेगावाट र पाँचथरकै हेँवाखोलाबाट उत्पादित १४ दशमलव ९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिन सकेको छैन । अझै करिडोरको काममा ढिलाई भए हेँवा ‘बी’, काबेली ‘ए’ र काबेली ‘बी’बाट उत्पादन हुने ८६ मेगावाट विद्युत पनि खेर जाने भएकाले बैशाख भित्रै काम सक्न आयोजनाको ध्यानाकर्षण गराइएको घिसिङको भनाइ छ ।
९० किलोमिटर प्रसारणलाईन विस्तारका लागि २ सय ५९ ओटा टावर राख्नुपर्नेमा सिद्धिथुम्काका बासिन्दाको अवरोधका कारण १२ ओटा टावर अझै निर्माण हुन सकेका छैनन् । यद्यपी आयोजनाको ७५ प्रतिशत काम भने पुरा भएको आयोजना प्रमूख दिपेन्द्रराज द्वीवेदि बताउछन् ।








