काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय उछाल आएको छ ।
सोमबार १,९०० रुपैयाँले घटेको सुन मंगलबार एकैदिन ५,२०० रुपैयाँले बढेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । मूल्यवृद्धिसँगै आज प्रतितोला सुनको दर २ लाख ४७ हजार ९०० रुपैयाँमा पुगेको छ ।
सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ । आज एक तोला चाँदी ३ हजार २०० रुपैयाँमा कारोबार भएको छ, जुन सोमबारको ३ हजार १३५ रुपैयाँभन्दा ६५ रुपैयाँ बढी हो ।
सुन र चाँदीको तीब्र मूल्यवृद्धिले साधारण उपभोक्ता, विवाह–व्रतबन्ध जस्ता आफ्ना विशेष अवसरका लागि सुन किन्न खोज्ने परिवारहरू, र दैनिक कारोबारमा निर्भर सुन व्यवसायीहरू सबै प्रभावित भएका छन् । उपभोक्ताले सुन किन्नुपर्ने लागत बढ्दा बजारमा खरिद–बिक्री सुस्त हुने देखिन्छ ।
उता, सुन व्यवसायीहरूले मूल्य अत्यधिक चढ्दा कारोबार घट्ने, ग्राहक कम हुने र बजारमा अनिश्चितता बढ्ने जस्ता चुनौतिसँग सामना गर्नुपरेको छ ।








