काठमाडौं, आज शुक्रबार सुनको मूल्य इतिहासकै उच्चतम बिन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला २,२१,३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार १,२०० रुपैयाँले बढेर प्रतितोला २,२२,५०० रुपैयाँमा कारोबार भईरहेको छ । यससँगै, नेपालमा अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा सुन कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्यमा पनि बढाउ आएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रुपैयाँले बढेर अहिले २,७४० रुपैयाँमा कारोबार भइरहेको छ ।
दशैं नजिकिँदै गर्दा सुनको मूल्य उच्चतम स्तरमा पुग्दा सामान्य उपभोक्ता र व्यवसायी दुवै प्रभावित भएका छन् । दशैं–तिहारका बेला परम्परागत रुपमा गरगहना खरिद गर्ने नेपाली उपभोक्ताहरूलाई यसपटक मूल्य वृद्धिले ठूलो चुनौती खडा गरेको छ ।
व्यवसायीहरूका लागि पनि यो मूल्यवृद्धि सहज छैन । सुनचाँदी पसल सञ्चालकहरूले ग्राहकको माग घट्दा दैनिक कारोबारमा प्रत्यक्ष असर परेको भोगिरहेका छन् ।
इतिहासमै सबैभन्दा उच्च मूल्यमा पुगेको सुनले सामान्य उपभोक्ताबाट व्यवसायी सम्मलाई दबाबमा पारेको छ, जसले यस वर्षको पर्वमा सुनको बजार सुस्ताउने अनुमान गरिएको छ ।








