मुस्ताङ, यसवर्ष मुस्ताङमा दसैँ लक्षित भेडाच्याङ्ग्रा पन्ध्र हजारको सङ्ख्यामा निकासी हुने प्रक्षेपण गरिएको छ ।
मुस्ताङका पाँचै वटा स्थानीय तहसँगको समन्वयमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गरेको रिपोर्टिङका आधारमा सो सङ्ख्यामा भेडाच्याङ्ग्रा बाहिरिने प्रारम्भिक प्रक्षेपण गरिएको हो । गत वर्षको भन्दा यसवर्ष दोब्बर सङ्ख्यामा भेडाच्याङ्ग्रा मुस्ताङबाट निकासी हुने अनुमान गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले उल्लेख गरेका छन् ।
उनका अनुसार गतवर्ष डोल्पाबाट मुस्ताङ हुँदै चार हजार बढी भेडाच्याङ्ग्रा बाहिरिएको थियो । गतवर्ष मुस्ताङ र डोल्पाको गरी मुस्ताङबाट कूल १२ हजार बढी च्याङ्ग्रा निकासी भएको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय मुस्ताङको वार्षिक तथ्यांकअनुसार पाँचै वटा पालिकामा ६४ हजार ४०८ भेडाच्याङ्ग्रा र बाख्राको सङ्ख्या रहेको छ । यहाँको पाँच पालिकामा च्याङ्ग्रा ५६ हजार ४०५, भेडा पाँच हजार चार सय २६ र बाख्रा दुई हजार पाँच सय ७७ वटा रहेको छ ।








