बेनी, बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म ५१ लाखबढी भेटी सङ्कलन भएको छ । गत साउनदेखि यही फागुन १४ गतेसम्म पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले ५१ लाख २२ हजार एक सय ५३ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
यो वर्ष भक्तजनको आगमनसँगै भेटी पनि बढेको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताएका छन् । गत आव २०८०/८१ मा ५८ लाख ४० हजार ५१० भेटी सङ्कलन भएको थियो । यस वर्ष नियमिततर्फ २५ लाख १५ हजार ५४७ तथा मेलापर्व र विशेष अवसरमा गरी २६ लाख छ हजार छ सय छ भेटी सङ्कलन भएको हो ।
बुधबारको महाशिवरात्रि पर्वमा चार लाख ३३ हजार सात सय ७४, मङ्सिरको बालाचर्तुदशीमा छ लाख ६१ हजार दुई सय ९४ र साउने सोमबारको मेलामा १५ लाख ११ हजार ५३८ भेटी सङ्कलन भएको कोषका कोषाध्यक्ष कुमारी पुनले जानकारी दिए अन्य शीर्षकमा २१ लाख ४२ हजार पाँच सय २९ सहित कोषले साउनदेखि हालसम्म ७२ लाख ६४ हजार छ सय ८२ आम्दानी गरेको हो ।
मन्दिरको आम्दानी कार्यालय, पूजा व्यवस्थापन, मन्दिरका पुजारी, ज्येष्ठ नागरिकको आश्रमका भान्सेको तलबका साथै संस्कृत विद्यालय सञ्चालनमा परिचालन गरिएको कोषले जनाएको छ । नियमित पूजाबाट तथा महायज्ञबाट सङ्कलन भएको भेटी, तीर्थयात्रीद्वारा दिइएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु ११ करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएका छन् ।
कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । हिन्दुधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्ने गर्दछ । साथै यहाँ दैनिक नित्य पूजाआजा हुने गर्दछ । गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।