विराटनगर - सूर्योदय मिल्क एण्ड बेभरेज उद्योग विराटनगरले परम ब्रण्डको घिउ पुन जापान पठाएको छ । २०७६ साल फागुनमा स्थापना भएको उद्योगले छोटो समयमा नै अत्याधुनिक प्रविधिबाट उत्पादन गरेको ताजा र गुणस्तरिय घिउ पहिलो पटक जापान निर्यात गर्न सफल भएपछि दोश्रो पटक पनि पठाएको हो ।
उद्योगले गत जेठ १३ गते पहिलो पटक १२ सय किलो घिउ, ३ हजार किलो चिउरा, १२ सय किलो चियापत्ती र १२ सय किलो मह जापान पठाएको थियो । बुधबार पुनः १५ सय किलो घिउ ४ हजार किलो चिउरा, १८ सय किलो चियापत्ती र १२ सय किलो मह जापान पठाएको उद्योगका सञ्चालक मनोज यादवले बताएका छन् । यादवका अनुसार जापान पठाएको सामान एक हप्तामै खपत भएको र पुनः डिमाण्ड आएपछि दोस्रो पटक पठाइएको हो ।
अघिल्लो पटकभन्दा यसपटक चिउरा र चियापत्तीको परिमाण बढाएको उद्योगले जनाएको छ ।जापानबाट प्रतिमहिना ५ हजार किलो घिउको माग आएकोले यो डिमाण्डलाई निरन्तर पुरा गर्ने यादवले जनाएका छन् । सूर्योदय मिल्क एण्ड बेभरेज उद्योगसँग जापानमा रहेको पद्मा कर्पोरेसन लिमिटेडले नेपालको घिउ वार्षिक ५० मेट्रिक टन लिने सम्झौता गरेको छ ।
उक्त कम्पनीले जापानसहित ६–७ वटा देशमा सामान निर्यात गर्ने जनाइएको छ । उद्योगले हाल गुणस्तरीय स्तरको दुध, चिया दुध, दुध पाउडर, घिउ, पनिर, दहि, बटर लगायतका प्रोडक्टहरु उत्पादन गर्दै आएको छ । गत वर्ष कोशीमा दूधको अत्याधिक उत्पादन हुँदा उद्योगमा धूलो दूध अत्यधिक उत्पादन भएको थियो । उद्योगमा अहिले पनि करोडौं मूल्यको दुधजन्य वस्तु स्टकमा छ । उद्योग सञ्चालक यादवका अनुसार आन्तरिक डिमाण्ड बढेको खण्डमा पनि निर्यातले निरन्तरता पाउनेछ ।
विगतमा डिडिसीले जापानमा घिउ पठाउने गरेकोमा माग अनुसार पठाउन नसक्दा सम्झौता रद्द भएको थियो ।कोशी प्रदेश सरकारले निर्याततर्फ घिउमा प्रतिकिलो १२०, नौनीमा ९० रुपैयाँ, होलमिल्क पाउडरमा ८० रुपैयाँ र स्किम मिल्क पाउडरको लागि ७० रुपैयाँ अनुदान दिँदै आएको छ । प्रदेश सरकारले अन्य अनुदानका कार्यक्रम कटौती गरेको भएपनि निर्यातमा दिने अनुदानलाई भने निरन्तरता दिएको छ ।