नेपालमा एक वर्षको अवधिमा साढे १४ खर्ब रुपैयाँको रेमिट्यान्स प्राप्त भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार, आव २०८०÷८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो अघिल्लो आव २०७९÷८० को तुलनामा १६.५ प्रतिशतले बढी हो ।
नेपाल राष्ट्र बैंकको अनुसार, यो आवमा मासिक १ खर्ब २० अर्ब रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । आव २०७९÷८० मा रेमिट्यान्स २३.२ प्रतिशतले वृद्धि भएको थियो ।
अमेरिकी डलरमा यो वर्ष १० अर्ब ८६ करोड रेमिट्यान्स प्राप्त भएको छ, जुन गत आवको तुलनामा १४.५ प्रतिशतले बढी हो । अघिल्लो आवमा अमेरिकी डलरमा विप्रेषणको प्रवाह १३.९ प्रतिशतले बढी भएको थियो ।
यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या केही घटेको भए पनि रेमिट्यान्सको प्रवाहले नयाँ कीर्तिमान कायम गरेको छ । एक वर्षको अवधिमा नयाँ श्रम स्वीकृति प्राप्त गर्नेको संख्या ४ लाख ६० हजार १०३ रहेको छ । यस अवधिमा पुनः श्रम स्वीकृति प्राप्त गर्नेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका थिए ।