काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको छ । यो रकम हालसम्मकै उच्च कारोबार रकम हो । यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको उच्च रेकर्ड बनाएको थियो ।
नेप्से परिसूचक पनि ४३ अंकले वृद्धि भई ३०००.८१ अंकमा कायम भएको छ, जुन अंक तीन वर्षपछि, १५ भदौ २०७८ मा देखिएको उच्चतम स्तर हो । त्यसबेला भदौ २ गते ३१९८ अंकको उच्चतम रेकर्ड बनाइएको थियो, र त्यसपछि बजार घट्न थालेको थियो ।
आज १०५ कम्पनीको मूल्य बढ्दा १३७ कम्पनीको मूल्य घटेको छ, भने एक कम्पनीको मूल्य स्थिर रह्यो ।
बैंकिङ क्षेत्रको सूचक सबैभन्दा धेरै ५.६५ प्रतिशत बढ्यो । त्यसबाहेक विकास बैंक १.२८, होटल तथा पर्यटन ०.३२, हाइड्रोपावर ०.७९, लगानी २.६९, निर्जीवन बीमा ०.९४ तथा व्यापार समूह १.८१ प्रतिशत बढे ।
फाइनान्स ३.०५, जीवन बीमा ०.७३, उत्पादन १.७३ र अन्य समूहको सूचक २.३० प्रतिशत घटे ।
यस दिन बुटवल पावर, राष्ट्रिय बीमा कम्पनी र माउन्टेन इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । नेपाल इन्भेस्टमेन्ट मेगाको ९.६, एनएमबी बैंकको ९.४, ग्लोबल आईएमई बैंकको ९.२, लिबर्टी इनर्जीको ९, कुमारी बैंकको ८.९, मातृभूमि लघुवित्तको ८.७ तथा अपि पावरको ८.२ प्रतिशत मूल्य बढ्यो ।
नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । विन्ध्यबासिनी हाइड्रोपावरको ७.२, शुभम् पावरको ७.१, मिडसोलु हाइड्रोपावरको ६.२ तथा अपरहेवाखोलाको ५.६ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सानिमा माइ हाइड्रोपावर, अपि पावर, कुमारी बैंक र निफ्रा क्रमशः अगाडि रहे ।








