वैशाख १९,२०८३ / १० : ०१ पूर्वान्ह / 2026-05-02 10:01 am
      • param ad
      • furniture
      • veera Incorporation

      धान फल्ने खेतमा घर फल्न थालेपछि

      - ६ वर्ष अगाडि
      असार १५,२०७६

      २०६१ मंसिर २९ गते नेपाल सरकारले निर्णय गरेर प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने घोषणा गरेपछि, असार १५ को महत्व झनै बढ्दै गएको छ । यो दिन प्रायः वर्षा हुने भएकाले धान रोप्न बाँकी किसानले आफ्नो खेतमा भकारी बाँधेर त कतैकतै बाजा बजाएरै रोपाईँ गर्ने परम्परा छ । यो दिन हिलो छुँदा निरोगी भइने र पुण्य कमाइने पारम्परिक विश्वास भएकाले गैरकृषि क्षेत्रमा आबद्ध व्यक्ति समेत खेतमा गएर हिलो खेल्ने अनि कृषकसँग एकछिन् भएपनि एकाकार हुने प्रचलन सुरु भएको छ ।

       नेपालले आजभन्दा करिब चार दशकअघि फिलिपिन्सस्थित अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था इरीसंग समन्वय गरेको थियो । समन्वयले गर्दा धानबालीका जात र खेती गर्ने तरिकासम्बन्धी धेरै प्रविधिको विकास हुनुका साथै प्रचारप्रसारसमेत भएको छ । नेपालको जुम्लामा पनि धान फल्ने गर्छ जुन संसारको सबैभन्दा अग्लो धान फल्ने स्थान हो । 

      नेपालमा धानको उत्पादन बढ्यो भने देशको आर्थिक वृद्धिदर पनि माथि जान्छ र धानको उत्पादन घट्यो भने आर्थिक वृद्धिदर नै ओरालो लाग्छ । त्यसैले धानले देशलाई अतुलनीय योगदान पु¥याएको छ । तर, समय अनुकूल नीति बनेर त्यसलाई पालना गर्न नसक्दा धानबालीबाट मुलुकले पर्याप्त फाइदा लिन सकेको छैन । 

      काठमाडौं उपत्यकाजस्तो राम्रो धान फल्ने जमिन घरहरूले भरिँदै गएका छन् । मुख्य इलाका मात्र होइन, राजधानी वरपरका गाउँ क्षेत्रसम्म प्लटिङ गरेर घरहरू निर्माण गर्न थालिएको छ । काठमाडौंमा देखिएको यो सहरीकरणको विस्तार र प्लटिङ गरेर जग्गाको भाउ बढाउने प्रवृत्ति अन्य सहरमा पनि फैलिन थालेको छ । झापा, मोरङजस्ता धानबालीका लागि प्रसिद्ध जिल्लामा पनि प्लटिङ गरेर जग्गाको भाउ बढाउने लहर चलेको छ । यसले धानको मात्र होइन, समग्र खाद्यान्न उत्पादनमै कमी आएको छ । बर्सेनि अर्बौं रूपैयाँको खाद्यान्न आयात गर्नुपर्ने अवस्था आएको छ ।

      /pagegallery/2019063012.jpg

       नेपालको कुल खाद्यन्नमा धानको करिब ५० प्रतिशत देन हुने गरेको छ र कुल गार्हस्थ उत्पादनमा समेत धानको करिब २० प्रतिशत योगदान हुने गरेको छ । नेपालको कुल खेतीयोग्य जमिनमध्ये आधाभन्दा बढी जमिनमा धानखेती हुन्छ । बेरोजगारी समाधान गर्न र आवश्यक क्यालोरी आवश्यकताको परिपूर्ति गर्न समेत धानको विशेष योगदान रहिआएको छ । धानको यति महत्व भए पनि यो बालीबाट सोचे जति फाइदा लिन नसकिएको अवस्था छ ।

       पछिल्लो जानकारीअनुसार नेपालमा प्रतिमहिना एक अर्बभन्दा बढीको चामल आयात हुने गरेको छ । धानको उत्पादनमा पर्याप्त मात्रामा वृद्धि गर्न नसक्दा यस्तो लाजमर्दो स्थिति सिर्जना भएको हो । नेपालले करिब दुई दशक अघिसम्म आफ्ना जनतालाई उपभोगमा पु¥याएर बढी भएको धान, चामल निर्यात गर्ने गरेको थियो । जनसंख्या वृद्धिका साथै खेतीयोग्य जमिन बसोवासका लागि नासिँदै गएको र आधुनिक प्रविधिको कृषिमा यथेष्ठ प्रयोग हुन नसकेकाले पनि देशको बढ्दो जनसंख्यालाई पुग्ने गरी उत्पादन गर्न सकिएको छैन । 

      नेपालमा खाद्य बालीमा पहिलो धान, दोस्रो मकै, तेस्रो गहुँ, चौथो कोदो र पाँचौंमा जौबाली रहेको छ । त्यसमा पनि सबैभन्दा बढी प्रयोग हुने खाद्य पदार्थ चामल नै हो । कुनै वर्ष पानी कम पर्नासाथ धान उत्पादनमा कमी आउने गरेको छ । अझै सिंचाइयुक्त जमिन अत्यन्त कम भएकोले मौसमी खेतीमै किसान निर्भर हुनुपर्दा मुख्य बाली नै अर्बौं विदेशी मुद्रा खर्चेर आयात गर्नुपर्ने अवस्था आउनु अवश्य पनि राष्ट्रिय लज्जाको विषय हो । तराई क्षेत्रमा तीनतीन महिनामा उत्पादन हुने धानसमेत आइसकेको छ । तराई क्षेत्रमा चैते धानको उत्पादन २० देखि २५ प्रतिशतभन्दा बढी हुन्छ । तर सिचाइ सुविधा नभएपछि यो सब तथ्यांकमा सिमित छ ।

      हालसम्म नेपाल सरकारले  ५ दर्जन धानका जात सिफारिस गरिसकेको छ । यी जातहरू सिफारिस गरिएपनि कुन स्थानमा कुन धान लगाउने भनेर किसानलाई जागरुक र प्रशिक्षित गरिएको अवस्था छैन । हरेक वर्ष असार १५ पारम्परिक रूपमा केही नेताले दौरा–सुरुवालमा गोरु जोतेजस्तो, बाउसे गरेजस्तो गर्दैमा तथा विद्वान्हरूले कोठामा बसेर दही–चिउरा खाएर शास्त्रार्थ गर्दैमा धानबालीमा सुधार आउने हो र ? त्यसका लागि सर्वप्रथम त मलिलो माटोमा प्लटिङ गर्ने प्रवृत्ति रोक्नुपर्छ र कृषि विशेषज्ञलाई गाउँ–गाउँमा पु¥याएर ठाउँअनुसार खेतीको परम्परा सुरु गर्नुपर्छ । अन्यथा, धान फल्ने खेतमा घरहरु मात्र फलेपछि मुखमा माड लगाउन समेत सधै बिदेशीको भर पर्नु पर्ने छ । 

      /pagegallery/2019063086.jpg

      राधिका जोशी



        सम्बन्धित समाचारहरु