वैशाख १९,२०८३ / ०९ : ५१ पूर्वान्ह / 2026-05-02 09:51 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाली राजनीति र उमेरको प्रश्न : एक बहस

      - ७ वर्ष अगाडि
      पौष २१,२०७५

      बेला बेला नेपाली राजनीतिमा उमेरको कुराले निकै नै हलचल पैदा गर्ने गर्छ । केही समय पहिले नेपाली कंग्रेस पार्टीमा यो निकै नै ठूलो वहसको विषय भयो । त्रिभुवन विश्व विद्यालयले स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा उमेर हद तोकेपछि यसले विद्यार्थी राजनीतिमा पनि उथलपुथल नै ल्यायो । नेपाल कम्यूनिष्ट पार्टीमा पनि बृद्ध हुन्जेल नेतृत्व नछाड्ने प्रवृतिको बेला बेलामा निकै नै विरोध हुने गर्दछ । 

      के नेपालको राजनीतिमा मात्रै यो समस्या हो की अन्य देशमा पनि यो समस्या छ ? यो प्रश्नको लागि छुट्टै एउटा अनुसन्धान गर्नुपर्ने हुन सक्छ । नेपालको राजनीतिमा चाही किन यो समस्या छ त ? के यो राजनीति गर्ने केही नेताहरुको प्रवृतिगत समस्या मात्र हो त ? 

      हरेक देश वा समाजमा एउटा मान्यता हुन्छ त्यो संस्कृतिका रुपमा पनि रहेको हुन्छ भने त्यो परम्परामा पनि जमेको हुन्छ । हाम्रो संस्कृति र परम्परामा सबैभन्दा उमेरमा जो ठूलो हुन्छ उसलाई विशेष सम्मान दिने चलन छ । जुनसुकै सामाजिक वा सांस्कृतिक समारोहमा पनि अग्रज ब्यक्तित्वलाई विशेष स्थान दिने र धेरै जस्तो सांस्कृतिक कार्यक्रमहरुको शुरुवात गर्ने अधिकार नै बुज्रुगहरुलाई दिएको हुन्छ । 

      कुलपुजा गर्ने चलन भएका समुदायहरुमा त त्यस्ता समुदायका कार्यक्रमहरुको नेतृत्व नै सबैभन्दा बढी उमेर भएका ब्याक्तिहरुलाई दिइएको हुन्छ । यही परम्पराका कारण हाम्रो बृद्धबृद्धाहरुलाई सम्मान गर्ने चलन छ जसले गर्दा बुढेसकालमा पनि पारिवारिक सहारा दिने गरिन्छ । 

      अर्कातिर हाम्रो समाजले अनुभवलाई विशेष मान्यता दिन्छ । हाम्रो शिक्षा प्रणाली पनि सैद्धान्तिक बढी र ब्यवहारिक कम भएको कारण जो सगँ बढी अनुभव छ त्यही ब्याक्तिलाई विशेष ज्ञानी मान्ने चलन रहेको छ । कुनै पनि कामका लागि बिज्ञापन गरिदाँ पनि अनुभविलाई विशेष ग्राह्यता भनेर उल्लेख गरिन्छ यी समग्र उदाहरणले के प्रमाणित गर्छ भने हामी लामो अनुभव भएकालाई धेरै नै राम्रो उत्कृष्ट मान्ने गर्छौ । यो हाम्रो चलन र परम्परा हो र हाम्रो ज्ञानको प्रणाली पनि यसैसगँ सम्बन्धित छ । 

      अब अर्को एउटा प्रश्न उठ्छ । सबै कुरामा अनुभविहरुलाई विशेष प्राथमिकतामा राख्ने हाम्रो समाज र समुदायले राजनीतिक नेतृत्वमा चाही किन बृद्ध नेताहरुको बहिष्कार गर्न मिल्छ ? यो धेरै नै ठूलो बहसको विषय हो । बृद्ध नेताहरुमा साच्चै नै क्षमता हुदैन वा युवा नेताहरुले आफ्नो पालो नआउने देखेर उनीहरुको आलोचना गरेको हुन ? यी सबै प्रश्नहरु यति सजिलै उत्तर दिइहाल्न सकिने विषय होइनन् । 

      तथापी नया युगमा नया सचेत नागरिकले अनुभवलाई भन्दा पनि आविष्कारलाई बढी मान्यता दिन्छ । र नेपालको राजनीतिमा पनि आविष्कारलाई मान्यता नदिएको भनेर भन्न मिल्दैन । अहिले नेपालको राजनीतिमा नेतृत्व गरिरहेको केही नेताहरुलाई हेरेर पनि यो कुरा प्रमाणित गर्न सकिन्छ । 

      १) बि. पी. कोइराला ४५ वर्षमा प्रधानमन्त्री भएका थिए । 

      २) पुष्प कमल दाहाल(प्रचण्ड)ले ४२ वर्षमा जनयूद्धको नेतृत्व गरेका थिए । 

      ३) मदन भण्डारी ४२ वर्ष नहुदै पाटीका महासचिव भइसकेका थिए । 

      यी सबैले कलिलै उमेरमा नेतृत्व गरेको थिए । किनकी यिनीहरुसगँ विचारका हिसावले केही नयाँ थियो । जसलाई उनीहरुको एउटा आविष्कारका रुपमा लिन सकिन्छ । नयाँ विचार र क्षमता सहित आएपछि नेतृत्व मिल्छ भन्ने विषय प्रमाणित गर्न यी नेताहरुको उदाहरण काफी छ । नेपाली समाज र राजनैतिक दलका कार्यकर्ता तथा नेता त्यति निकम्बा पनि छैनन् की उनीहरु नयाँ आविष्कार र क्षमतालाई स्थापित हुन दिदैनन् । 

      यसर्थ उमेरको विरोध गर्नुमात्र नेपाली राजनीतिको निकास होइन समय अनुसार नयाँ विचार र विषयको आधारमा राजनैतिक नेतृत्व लिनु र नेतृत्व हस्तान्तरणका लागि पुरानो पुस्तालाई बाध्य बनाउनु नै अहिलेको आवाश्वकता हो । 

       

      ओम प्रकाश निरौला



        सम्बन्धित समाचारहरु