आफ्नो कामको जिम्बेबारी लिने भन्दा पनि अन्य मानिसहरुको काम र उनीहरुको कार्यशैलीको विरोध गर्ने र आलोचना गर्ने प्रवृति नेपालमा एउटा परम्पराकै रुपमा स्थापित हुन लागेको छ ।
सार्वजनिक कार्यक्रममा होस वा अन्य सामान्य गफ र बहस कार्यक्रममा होस या अहिले आयर सामाजिक सन्जालमा होस् यो प्रवृति निकै बढेको छ । भर्खरै एक जना सरकारी कर्मचारीले फेसबुकको आफ्नो पोष्टमा अब मन्त्री ज्यू हरुलाई एकपटक फोन गरेर पैसा पठाउकी नफठाऊ भनेर सोध्नु पथ्र्यो भनेर ब्यंग्य गरे । केही समय अगाडि पूर्व प्रधानमन्त्रीले यो देश कर्मचारीहरुले र ब्यूरोक्रेसीले विगारे भनेर सार्वजनिक रुपमा भाषण गरे ।
आफु अगाडि भएका दर्शक श्रोतालाई आफु जिम्मेबार हुँ अरु चाही जिम्मेबार होइनन् भन्ने देखाउन वा प्रमाणित गर्न नेताहरुले गर्ने भाषण होस् वा नेताहरुलाई र उनीहरुको कमजोरी माथि ब्यंग्य गर्न कर्मचारीहरुले गर्ने सार्वजनिक टिप्पणी होस् यि दुवैमा एउटा कुरा चाही समान छ त्यो हो अरुलाई दोषी देखाउने र आफु अरुको नजरमा राम्रो बन्ने प्रवृति ।
एक अर्कालाई नङग्याउनका लागि यस्तो गरेको देखिए पनि र जनताका वा आम जनसमुदायका नजरमा आफु राम्रो देखिन खोजे पनि अन्ततः देश र समुदायका लागि यी दुवै नै खराब छन् भन्ने प्रमाणित भइसकेको छ । फेरी पनि नेता, मन्त्री र ब्यूरोक्रेसी बिना त देश सन्चालन सम्भव छैन तब के हो त यसको हल ? यो प्रश्न उठ्न जरुरी छ ।
यसको समाधान भनेको नेता वा कर्मचारी सगँ आफुले गरेका राम्रा कामको केही न केही उदाहरण हुन जरुरी छ जसले गर्दा उनीहरु आफुले गरेको कामको विवरण जनतामा प्रस्तुत गरुन् नकी अरुको विरोधमा आफ्नो समय विताउन् । सबैतिर नकरात्मक मात्र कामको प्रचार प्रसार नहोस् । सकरात्मक कामको पनि होस् । अनि मात्र सबैमा आशा जाग्छ र त्यही आशाले मात्र देशलाई सकरात्मक दिशामा लैजान सक्छ ।
यस लेखको मुल भाव भनेको अर्कालाई गाली गरेर देश बन्दैन भन्ने हो । हाम्रो त बानी नै यस्तो भइसक्यो की शिक्षकले प्रधानाध्यापकलाई गाली गर्ने, प्र.अ.ले माथिल्लो निकायलाई उसले अर्कोलाई यो चलन राजनीतिक दल पार्टी सरकार, ब्यूरोक्रेसी देखि सबै क्षेत्रमा देखिएको छ । यसकारण नराम्रा कामको चर्चा होइन राम्रा कामको विवरण र उदाहरण प्रस्तुत गर्न सक्ने साहास हामी सबैमा हुन जरुरी छ । अनि मात्र समाजले सही दिशा लिन्छ र समग्र देशको विकास सम्भव हुन्छ ।
ओम प्रकाश निरौला








