वैशाख १९,२०८३ / ०९ : ५८ पूर्वान्ह / 2026-05-02 09:58 am
      • param ad
      • furniture
      • veera Incorporation

      सरकार रक्षात्मक हुने बेला भएको छैन

      - ७ वर्ष अगाडि
      कार्तिक १०,२०७५

      प्रतिपक्ष र विरोधीहरुको कुरा लोकतन्त्रमा सुन्नु, मनन गर्नु, विश्लेषण गर्नु आवाश्यक कुरा हो तर उनीहरुकै सबै कुरा सही हुन भनेर जस्ताको तस्तै ग्रहण गर्न जरुरी हुदैन । यो सरकार जनताको मत र म्यान्डेटले बनेको सरकार हो । र कम्तिमा पनि लोकतान्त्रिक मूल्य र मान्यता तथा संवैधानिक ब्यवस्था अनुसार हेर्दा यो कम्तिमा पनि पाचँ वर्षको लागि जनताले म्यान्डेट दिएको सरकार हो । 

      पाचँ वर्ष सम्म जे गरे पनि हुन्छ भन्ने त होइन तर प्रतिपक्ष र विरोधीहरुले विरोध गर्दैमा किनारमा पुगेर रक्षात्मक बन्न जरुरी छैन । केही समय अघि सी पी गजुरेलले यो सरकार संविधानले हटाउन सकिदैन त्यसैले सडकबाट हटाउनु पर्छ भनेर अभिब्यक्ति दिए । के यो उनले बनाएको सरकार हो ? सरकार हटाउने भनेको जनताले हो कुनै नेताले होइन । नेपाली कंग्रेसका नेताहरु पनि बारम्बार सरकारको विरोधमा छन्् यो त विपक्षीहरुको धर्म हो । यस्ता कुराहरुलाई आलोचनात्मक ढंगले लिन सकिन्छ तर उनीहरुका कुरा नै सत्य हुन भनेर पुरै हारे जस्तो केही काम गर्न नसक्ने जस्तो बन्न जरुरी छैन । 

      मेडियाले केही घटनाहरुलाई तिलको पहाड बनाएर उठाउछन् यो उनीहरुको नियमित कार्यक्रम हो उनीहरुले नै भने आधारमा जानु पर्छ भन्ने पनि छैन । अर्कोतिर मेडियाको पनि आफ्नो लाइन हुन सक्छ । केही समय अघि बामदेम गौतमको विषयले मेडियामा, सामाजिक सन्जालमा धेरै चर्चा पायो र यो नेकपाको ठूलै अपराध झै साबित गर्न खोजियो । यो तेस्तो आकाश खस्ने कुरा होइन । पार्टीले कसलाई कहाँ लैजाने कुन जिम्बेवारी दिने भन्ने उसको आन्तरिक कुरा हो यदि मेडियाले र प्रतिपक्षले भने अनुसार जाने हो भने त पार्टीको अध्यक्ष पनि उनीहरुलाई नै चुन्न लगाए भइहाल्यो नी । 

      यो लेखमा मैले मेडिया र आम सामाजिक सन्जालको विरोध गरेको होइन तर कुन कुरामा सरकारले ध्यान दिने भन्ने कुरालाई महत्व दिन खोजेको हो । हामी नेपाली जनताको वितरणमुखी बजेटको अपेक्षा गर्ने चलन भएकोले अहिलेको बजेटले केही गरेन भन्ने खालको गुनासो आएको छ । आर्थिक सुधारको लागि हेर्ने हो भने यो बजेट सान्दर्भिक छ खाली वितरण मुखी हुन नसकेको मात्र हो । राष्ट्रिय गौरवका आयोजनालाई समेटने विषयमा पनि अहिलेको बजेट ठीक छ तर जनतालाई घर घरमा केही राहत चाहिएकोले गर्दा बजेट सही भएन की भन्ने मात्र लागेको हो ।

      यदि केही गरि जनतालाई प्रत्यक्ष खुशी पार्न अहिलेको बजेटबाट सकिएन भनेपनि यो नै अन्तिम बजेट त होइन । फेरी पनि समय छ । अहिले नै आत्तिनु पर्ने केही छैन । 

      विरोेधी र प्रतिपक्षको विरोधमा अत्तालिनुको सट्टामा खास खास जनताका समस्या र तीनीहरुको समाधान तथा राष्ट्रको विकासमा एकोहोरो लाग्नु नै समग्र जनता र राष्ट्रका लागि हितकर हुन्छ । 

      नेपाली जनतासगँ समस्याहरु छन् र यी समस्याहरु भनेका सरकारका लागि चुनौति मात्र होइन अवसरहरु पनि हुन् । खासगरि ग्रामिण भेगमा बसोबास गर्ने, मजदुरी गर्ने खेतिपाती गर्ने र जसलाई शिक्षा, स्वास्थ्यका क्षेत्रमा बढी समस्या छ तीनीहरुका समस्यालाई विशेष ध्यान दिएर अघि बढ्ने हो भने तीनै कार्यक्रमले उत्साह ल्याउछ र देश सकरात्मक दिशातर्फ मोडिन्छ । 

      सरकारलाइ चौतर्फी आक्रमण भयो भन्ने मानसिकता पनि हटाए हुन्छ यो त स्वभाविक कुरा हो । यो त हुन्छ । सरकारको सफलता भनेको अरुले गर्ने विरोध र सर्मथनमा हुदैन यो त उसले आत्मविश्वासका साथ गर्ने कार्यमा भर पर्छ । पूर्ण आत्मविश्वासका साथ जनताको मत र म्यान्डेटको कदर गर्दै अघि बढ्ने बेला हो । यो कुनै पनि कोणबाट रक्षात्मक बन्ने बेला होइन । ब्याटल हारेको बटालिएन जस्तो बन्न सरकारलाई सुहाउदैन । यूद्धको लागि निस्किएको सरकार हो यूद्ध नजितुन्जेल आउने जटिलताहरुबाट यो निराश र विचलित हुनु हुदैन । 

      ओम प्रकाश निरौला 

        सम्बन्धित समाचारहरु