मानव मस्तिष्क र व्यवहारमा देखिएको नैतिकताको खडेरी नै अहिलेका धेरै समस्याहरुको जड हो । जुनसुकै तह र स्थानमा बढीरहेको भष्ट्राचार होस् वा अहिले नेपालमा भइरहेका हिसां र हिसां लाई ढाकछोप गर्ने प्रहरीको प्रवृति यी सबैमा एउटा अभावले काम गरेको छ र त्यो हो नैतिकता ।
पैसा र पदका लागि जे पनि गर्न सकिन्छ भन्ने भावना र गर्ने प्रवृृति नै अहिलेको हत्याकाण्ड हुनु र भइसकेपछि पनि त्यसका अपराधी पत्ता लाग्न नसक्नुको मूल कारण हो । बलात्कार र हत्या कसले गरयो ? यो अहिलेको प्रमूख प्रश्न हो र त्यो अपराधीलाई कानूनको दायरामा ल्याएर कारवाही गर्नुपर्ने अहिलेको मुख्य कार्य हो । तथापी किन यस्तो भयो ? भनेर यस विषयमा वहस गरियन भने यस्ता घटना फेरी पनि घट्न सक्ने र त्यसले यो समाजमा दिर्घकालिन असर पारिरहने हुन्छ ।
निर्मला हत्याकाण्ड जो सुकैले गरेपनि यस्ता घटनाहरु घटाएर केही फरक पर्दैन भन्ने मानसिकता पैदा हुनु नै मुख्य कारक तत्व हो । जबसम्म हामी प्रहरी वा शक्तिशाली मानिसहरुको संगतमा हुन्छौ तबसम्म हामीलाई कसैले केही गर्न सक्दैन भन्ने मानसिकता ले यो घटना घटेको हो ।
शक्तिमा भएपछि वा शक्तिको नजिक भएपछि कारवाही हुन्न यो देशमा भन्ने जुन अवधारणा हाम्रो समाजमा विकसित भएको छ यसले नै यस्ता घटना घटाएको छ र घटाइरहनेछ ।
शक्ति होस् वा नहोस् अपराधीलाई कारवाही हुन्छ र शक्तिमा भएका र कानूनका रखवालाहरुले नैतिकता बेच्दैनन् वा उनीहरुलाई किन्न सकिदैन भन्ने मात्र अवधारणाको विकास गर्न सक्ने हो भने नेपालमा धेरै अपराधहरु हुदै हुदैनन् ।
सुनकाण्डमा सुनियो गोरेले प्रहरीका उच्च अधिकारीलाई प्रयोग गर्यो । के लोभमा सहयोग गरे त तीनीहरुले भन्दा पैसा र बढुवा को आशमा गरेका थिए । या की तिनीहरुको नैतिकता किन्न अपराधी सफल भएको थियो । यतिमात्र होइन अपराधी आफै पनि याहा जे गरेपनि केही हुदैन भन्ने कुरामा अभ्यस्त थियो र उसले गलत कार्य गरिरह्यो ।
अहिले निर्मला पन्तको मुद्धामा पनि त्यस्तै भयो । शक्तिमा रहेका मान्छेहरुको नजिक हुदाँ पैसा पनि कमाइ हुने र पछि प्रोमोशन हुन पनि सजिलो हुने भन्ने लोभले त्याहाका प्रहरी प्रशासनले त्यो घटना लुकाउन, प्रमाणहरु नष्ट गर्न सहयोग गरेको हो । अपराधी प्रहरीसगँ नजिकै भएको वा प्रहरीहरु नै भएको भएपनि सबै प्रहरी त पक्कै पनि दोषी थिएनन् तथापी किन यो घटनामा अपराधी अझै पनि उम्किन सफल भए त ? यो उनीहरुमा विकास भएको प्रवृतिको मुख्य जड के हो त ? यो जटिल प्रश्न हो । र यो प्रश्न सिधै गएर आम मानिसको नैतिकतामा गएर जोडिएको छ ।
निर्मला पन्तको हत्या भइसकेपछिका सबै घटनाहरुलाई केलाउदै जाने हो भने घटनाका अपराधीलाई जोगाउन सकेसम्मको प्रयास गरिएको छ । यस्तो कार्यमा के ले भूमिका खेलेको छ भन्दा उत्तर प्रष्ट छ । कि त पैसा वा कि त शक्ति । यी दुवै कुरामा अनुसन्धान कर्ताहरु तथा सम्बन्धितले आफ्नो विवेक किन गुमाइरहेका छन् भन्दा उनीहरुमा भएको नैतिकताको खडेरी नै मुख्य हो ।
चरम रुपमा पैदा भएको नैतिकताको संकट नै अहिलेका धेरै अपराधहरुको कारक तत्व हो र नेपालको न्यायमा, प्रशासनमा, राजनीतिमा लगाएत सम्पूणै क्षेत्रमा यसको अभावलाई पूर्ति गर्ने गरिका अभियान चलाउन जरुरी छ । जसले देशलाई विकासको गतिमा अघि मात्र बढाउदैन एउटा सभ्य समाजको निर्माण गर्दछ र यसले मानव सभ्यताको इतिहासमा एउटा खुड्किलो पक्कै थप्नेछ ।








