आज भन्दा केही वर्ष अघिको कुरा हो म बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मास्टर ईन पब्लिक हेल्थको अन्तिम सेमेस्टरमा अध्ययन गर्दै थिएँ । छुट्टीको बेलामा घर गएको थिएँ । घर बसाईको क्रममै मेरो छिमेकी दाइसँगको कुराकुरानीमा उहाँले मेरो पढाइको बारेमा सोध्नुभयो । उहाँको यसभन्दा अघिको बुझाईमा मैले डाक्टरी पढिरहेको भनेर सुन्नुभएको रहेछ । उहाँलाई मैले मेरो पढाई र जनस्वास्थ्यको बारेमा जानकारी गराउँदा यस्तो पढाई पढेर यहाँ के काम छ ? भनि प्रश्न गर्नु भयो । मैले राम्रोसँग बुभाउन नसकेको हो कि भन्ने अनुभव भयो ।
मैले माथिको उदाहरण दिनुको तात्पर्य भनेको हाम्रो समाजले स्वास्थ्यको धारणालाई कसरी बुझिरहेको छ भन्ने नै हो । सामान्यतया सर्वसाधारणमा रोग वा रोगको उपचारकै दृष्टिकोणबाट स्वास्थ्यलाई बुझ्ने प्रचलन छ । कुनै पनि रोगको उपचार वा औषधि सेवन वा शल्यक्रिया गरेपछि स्वस्थ्य बन्न सकिन्छ भन्ने सामाजिक बुझाई र धारणा रहँदै आएको छ ।
के जनस्वास्थ्य, चिकित्सा, नर्सिङ फरक बिषयहरु हुन ? के यी आवश्यक छन् ? विकसित समाजका लागि यी बिषयहरु अब प्रष्ट पारिरहनु जरुरि छैन होला ? तर अहिले आधुनिक समाजसम्म आईपुग्दा समेत हाम्रो जस्तो विकासोन्मुख देशमा यी र यस्ता कुराहरुको बुझाईमा भएको समस्याले हाम्रा प्राथमिकता, नीतिगत र नियामक कार्यक्रमहरु प्रभावकारी बन्न नसकेका पक्कै हुन् ।
उदाहरणको लागि सामान्यतया मानिस जव आफुलाई सन्चो नभएको महसुस गर्दछ, ऊ अस्पतालमा गएर आफ्नो उपचार गराउँदछ । तर उसले अस्पतालमा आएर उपचार गर्नुभन्दा अगाडी के कस्ता कारणबाट बिरामी भईयो, बिरामी नहुनबाट बच्न के गर्न सकिन्थ्यो, त्यस्तो प्रकारको स्वास्थ्य समस्या परिवारका अन्य सदस्यहरुलाई हुन नदिन के गर्ने भने बिषयमा खासै चासो दिएको पाईदैन ।
उपचारमा धेरै पैसा खर्च हुने गर्दछ, त्यसलाई मात्र खर्चको रुपमा हेर्ने गरिन्छ । मानिसको उपचारका लागि ठुला ठुला अस्पताल र संरचनाहरु बनेका पाइन्छन्, तर रोकथामका त्यस्ता संरचनाहरु खासै बनेका पाईदैनन् ।
आम रुपमा स्वास्थ विज्ञानलाई दुई भागमा बुझ्न सकिन्छ । एउटा रोकथाममुलक र प्रबद्र्धनात्मक स्वास्थ्य र अर्को उपचारात्मक स्वास्थ्य । जसका आफ्नै दायरा र क्षेत्रहरु छन् । अहिले त्यही रोकथाममुलक र प्रबद्र्धनात्मक स्वास्थ्यलाई हामी जनस्वास्थको कार्यक्षेत्र मान्न सक्छौँ । कतै सामुदायिक चिकित्सा, सामाजिक चिकित्सा, सामुदायिक स्वास्थ्य जस्ता विभिन्न शब्दावलिहरुले जनस्वास्थको पर्यायवाची शब्दको रुपमा प्रयोग भैरहेको पाउँछौ । तर सकारात्मक स्वास्थ, रोगमुक्त शरीर, बिराम र मरणबिचको यो लहरमा कहाँदेखि कहाँसम्म जनस्वास्थ्यको कार्यक्षेत्र हो र कहाँदेखि कहांँसम्म उपाचारात्मक स्वास्थ्यको कार्यक्षेत्र हो छुट्याउन मुस्किल नै होला । तर पनि स्वास्थ्य अबस्थादेखि उपचार बाहेकका अबस्थाहरु जनस्वास्थ्यका कार्यक्षेत्र हुन भन्न सकिन्छ ।

अब यहाँ प्रश्न उठ्न सक्छ, के चिकित्सकहरु वा नर्सहरु जनस्वास्थ्यकर्मी होइनन ? उनीहरुले उपचार मात्र गर्ने हो त ? यहाँनिर बुझ्नु पर्ने कुरा के छ भने चिकित्सक वा नर्सहरु पनि जनस्वास्थ्य सम्बन्धि रोकथाममुलक र प्रर्वद्धनात्मक काममा सहभागि हुन सक्छन् ।
जस्तै, समुदायमा कसैले ज्वरो आयो, सबैतिर चिकित्सक नहुन सक्छन । त्यस्ता प्रकारका समस्याबाट बच्न सिकाउने (सफा पानि, खोप, झुल टाँग्ने आदि) आवश्यक ल्याव परिक्षणको लागि प्रोत्साहित गर्ने, अस्पतालबाट फर्केपछि पनि नियमित रुपमा औषधि सेवन गर्ने, अन्य व्यक्तिहरुलाई रोग सर्नबाट बचाउने, रोगसँग जोडिन सक्ने सामाजिक, आर्थिक, वातावारणिय अवस्थाहरुको अनुसन्धान गर्ने, अनुसन्धानको अध्ययनबाट के कस्ता स्वास्थ्य समस्याहरु छन् र तिनको समाधानका लागि कस्तो नीति बनाउने, यी र यस्ता कार्यहरु कसले गर्ने ?
बहुऔषधीय प्ररोधात्मन क्षयरोगका बारेमा सबैले सुन्नुभएको होला, यसको उपचार ज्यादै महँगो पर्दछ, यदि यसको औषधि सेवनमा अनियमितता भएमा, पोषणमा ध्यान नदिएमा यसले समुदायमा पर्ने प्रभाव ज्यादै खतरनाक हुनसक्छ मतलव उपचार वा औषधि अन्तिम अस्त्र होइनन्, साधन मात्र हुन् । तिनको प्रभावकारीताको लागि अरु थुप्रै कार्यहरु आवश्यक पर्दछन ति सबै जनास्वास्थ्यका आयामहरु हुन ।
स्वास्थ्य एउटा समग्र क्षेत्र हो । यस भित्र पनि विभिन्न विधाहरु छन् । जो एकापसमा अत्यन्तै परिपुरक र अन्तर सम्बन्धित छन । सामाजिक बनावट, आर्थिक अबस्था, शिक्षा, राजनीतिक व्यवस्था, वातावरण सुधार, स्वास्थ्य सेवा लगायत समग्र क्षेत्रहरु सुधार नभए स्वास्थ्य पनि दिगो हुन सक्दैन त्यसै कारणले जनस्वास्थ्यले यिनै कुराहरुको बीचमा समन्वय गरी जनताको स्वास्थ्यलाई सुधार गर्दछ ।








