समय समयमा राष्ट्र र राष्ट्रियताका बिषयहरु नेपालका राजनीतिमा, मेडियामा जोड जोडसगँ उठ्छन् । अनि नेपालीहरु पनि प्रत्यक्ष, अप्रत्यक्ष रुपमा यस्ता बहसहरुमा सहभागी हुन्छन् । नेपालीहरु स्वभाबैले बढी भावनात्मक हुने हुनाले यस्ता बिषयहरुमा अलि बढी नै उत्तेजीत पनि हुन्छन् । विचार भन्दा पनि भावना प्रदान भएर यी कुराहरु उठ्छन् र यो स्वभाविक पनि हुन जान्छ । राष्ट्रको परिभाषा गर्दा दुइथरी विचारहरु सतहमा देखा पर्दछन् । एउटा विचारले देश भनेको भुगोल हो भन्ने कुरालाई बढी बल दिन्छ भने अर्को विचारले देश भनेको जनता हुन भन्ने कुरालाई बढी महत्व दिएको हुन्छ । तर देश भनेको जनता मात्र होइन भुगोल पनि हो अनि भूगोल मात्र होइन जनता पनि हुन् ।

पन्चायत कालमा तत्कालीन पन्चायतका नेतृत्व गर्नेहरुले देश भनेको भूगोल हो भन्ने कुरालाई बढी प्राथमिकताका साथ उठाएका थिए । महेन्द्रको आफ्ना क्रियाकलापहरुमा पनि र त्यसबेलाका नेताहरु सुर्य बहादुर थापा लगायतका नेताहरुले यो डक्ट्रिनलाई आत्मसाथ गरेका थिए । त्यसको प्रतिकार गर्न वा पन्चायतले स्थापित गरेको मान्यतालाई भत्काउन वि. पी. कोइरालाले देश भनेको जनता हुन भन्ने विचारलाई महत्व दिएर उठाए । ( यो कुरा वि. पी. ले आफ्नो आत्मवृतान्तमा पनि उल्लेख गरेका छन् ) त्यसपछि यो वा त्यो विचारको समर्थन वा विरोध गर्ने नाममा नेपालमा दुइथरीका विचारहरु उठाएर प्रशस्त वादविवाद, तर्क वितर्क भइसकेका छन् ।
आधुनिक नेपालको निर्माण गर्दै गर्दा पृथ्वी नारायण शाहले राष्ट्र भनेको यो हो भनेर निश्चित रुपमा परिभाषा त गरेनन् तर उनको उदेश्य लाई विचार गर्ने हो भने उनले भूगोल लाई नै बढी प्राथमिकतामा राखेर आफ्नो अभियान सन्चालन गरेका थिए । त्यसपछि पनि नेपालले गरेको अंग्रेज सगँको लडाई वा अन्य युद्धहरुलाई हेर्ने हो भने पनि नेपालको इतिहासमा देश भनेको भूगोल नै हो भन्ने कुरा प्रमाणीत हुने तथ्यहरु नै धेरै छन् । आखिर त्यो समय नेपालीहरु के बचाउनलाई लडे त भन्ने प्रश्नको उत्तर खोज्ने हो भने पनि हामीले सजिलै ठम्याउन सक्छौ । नेपाल र अंग्रेज बीचको लडाई के को रक्षाका लागि थियो त ? सीमानाको रक्षाका लागि वा जात धर्म, सस्कृतिको रक्षाका लागि, वा जनताका रक्षाका लागि ? मुख्य त त्यो लडाइ सीमानाको रक्षाको लागि थियो ।
पछिल्लो समयमा आएर राजनैतिक बृतमा र आम जनतामा भूगोल वा जनता के हो त राष्ट्रियता भन्ने विषयमा बहश चलीनैरहेको छ । तर अहिले बहसको विषय अलि फरक भएको छ । अहिले आन्तरिक राष्ट्रियता की बाह्य राष्ट्रियता भन्ने बहसले प्रमुख स्थान पाएको देखिन्छ । बाह्य राष्ट्रियतालाई भूगोल सगँ जोडेर हेर्न सकिन्छ भने आन्तरिक राष्ट्रयतालाई जनता सगँ जोडेर हेर्ने गरिएको छ । आखिर देशलाई कुन राष्ट्रियता चाहिन्छ त ? यो आजको प्रमुख मुद्धा हो ।
एकातिर देश भनेको पहिला भुगोल हो र त्यसपछि मात्र जनताहरु हुन भन्ने विचार राख्नेहरुले सीमाना र बाह्य हस्तक्षेपका कुराहरुलाई जोडतोडका साथ उठाइरहेका छन् , पहिला बैदेशीक हस्तक्षेप अन्त्य हुनुपर्ने त्यसपछि आफ्ना समस्या हल गर्ने भन्ने उनीहरुको अभिमत छ भने अर्कोतिर देश भनेको जनता हुन र त्यसपछि मात्र भूगोल हो भन्नेहरुले आन्तरिक जनताका समस्याहरुलाई पहिलो प्राथमिकतामा राखी बाह्य हस्तक्षेपलाई कम प्राथमिकतामा राखेका छन् । अर्थात राष्ट्र बलियो नभइ जनता बलियो हुन सक्दैन भन्नेहरु र जनता बलियो नभइ राष्ट्र बलियो हुन सक्दैन भन्नेहरु बीचको विवाद र सघंर्ष नै अहिलेको नेपालमा भएको राष्ट्र र राष्ट्रियताको विषयको मुख्य सघंर्ष र विवाद हो ।
चाहे साइकल राष्ट्रवाद भने पनि वा क्षेत्रीय मुद्धा उठेपनि यी सबै कुराका चुरो भनेको यही नै हो । यदि यसो हो भने बास्तवमा के हो त नेपालको प्राथमिकता ? हामीले कुन राष्ट्रियतालाई प्रमुख प्राथमिकता दिने हो त ? यी दुवै मध्ये कुन चाहीँ नेपालका लागि उत्तम हुन्छ त ? यी प्रश्नहरु अहिले सबैको मनमा उठीरहेका छन् ।
इतिहासका विभीन्न काल खण्डलाई र इतिहासका विभीन्न तथ्यलाई केलाउने हो भने जब राज्य बाह्य हस्तक्षेपबाट सकंटमा परेको हुन्छ त्यतिबेला बाह्य राष्ट्रियता पहिलो प्राथमिकतामा हुनुपर्छ अर्थात देशको भूगोल नै पहिलो मुख्य बिषय हुन्छ जब देश नै रहदैन तब त्याहाँका जनताको केही अर्थ हुदैन । रहौला कहाँ नेपाली हामी नेपालै नरहे भन्ने गीतले पनि यो कुरालाई प्रष्ट बनाउछ । साथै जब बाह्य हस्तक्षेप कम भएकोे स्थिति आउछ त्यतिबेला आन्तरिक राष्ट्रियता प्रमुख भएर आउनुपर्छ । जनताका जनजीवीकाका मुद्धाहरु, विकास निर्माणका कुराहरु, समान हक र अधिकारका कुराहरु, न्यायका कुराहरु मुख्य मुद्धा भएर आउछन् ।
हामीले याहाँनेर मनन गर्नुपर्ने कुरा के हो भने यी दुवै खालका राष्ट्रियता छुट्टाछुट्टै र बेग्लाबेग्लै समयमा आइपर्ने कुराहरु होइनन् । यी दुवै कुराहरुलाई सगँसगै लानुपर्ने हुन्छ । कुन समयमा कुनलाई प्राथमिकतामा राख्ने र कुनलाई कस्तो बेलामा महत्व दिनुपर्ने भन्ने कुरा चाही समाज र राष्ट्रको नेतृत्व गर्नेहरुले महशुष गनुपर्ने कुरा हो । राजनैतिक आन्दोलनको नेतृत्व गर्नेहरुले बेइमानी नगरीकन यी दुवै खालका राष्ट्रियताको सम्मान र सुरक्षा गनुपर्ने हुन्छ ।

अहिले नेपालमा नेपालीहरुले खतरा महशुष गरेको राष्ट्रियता भनेको बाह्य राष्ट्रियता नै हो । नेपालका बिभीन्न राजनैतिक परिवर्तनमा प्रत्यक्ष हस्तक्षेप गरिरहेको छिमेकीको फेरी पनि देखिएको खुल्ला हेपाहा शैली र ब्यबहारलाई सबै नेपाली एकजुट भएर सामना गर्दा नै राज्यको सुरक्षा हुन्छ । यतिबेला इमान्दार र देशभक्त नागरिकले नेतुत्व गरेको आन्दोलन हो भने आन्दोलनकारीहरुले पनि नेपालको आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेपको बिरोध गर्नु नै सबैको लागि हित हुने कुरा हो । किनकी बाह्य राष्ट्रियता कमजोर भएको मुलुकमा आन्तरिक राष्ट्रियता बलियो खोज्नु सम्भव हुदैन । यस्को अर्थ याहाँका आम जनताहरुको न्याय, समानता, लगाएत हक अधिकारको कुरा गर्नु हुदैन भन्ने होइन । पहिलो प्राथमिकता केलाई दिने भन्ने प्रश्न हो यो । त्यसैगरि देशको नेतृत्व गरिरहेका दलहरुले पनि आन्दोलन गर्नेहरुलाई पहिला बाह्य हस्तक्षेप बन्द गरौ र त्यसपछि हाम्रा समस्याहरु समाधान गरौ भनेर आफ्नो मतलाई स्पष्टसगँ राख्नु उपयूक्त हुन्छ ।
राज्यको निर्माण भएकै समय देखि यी दुवै खालका समस्याहरु जुनसुकै देशहरुमा उत्पन्न भइरहेका हुन्छन् । यो साना र अल्पविकसित देशहरुमा मात्र हुने कुरा होइन । यो ससांरका जुनसुकै राज्यले पनि भोग्नु पर्ने कुराहरु हुन् । फरक के हो भने कुन समयमा कुन राष्ट्रियता खतरामा छ भन्ने बुझ्नेहरुले आफ्नो राष्ट्रलाई जोगाउन र बिकास गर्न सफल भएका छन् जुन जुन राष्ट्रले यो कुरा बुझेनन् तीनीहरु जहिल्यै पनि समस्यामा पर्दै आएका छन् जसले गर्दा न उनीहरुको आन्तरिक रुपमा सफल भए न बाह्य रुपमा ।
यही तथ्यलाई ठुला र शक्तिशाली राष्ट्रहरु (जसलाई विस्तारवादी पनि भन्ने गर्छन) ले राम्रो सगँ बुझेका हुन्छन् । त्यही भएर उनीहरु दुइ खालका प्रयोग गर्छन । एउटा जब त्याहाँ आन्तरिक रुपमा ठुलठुला समस्या आउछन् तब उनीहरु बाह्य राष्ट्रियतालाई अगाडि तेस्र्याएर तीनलाई कमजोर बनाउछन् अनि समय अनुकुल भएपछि त्यसलाई समाधान गर्नतिर लाग्छन् । अर्को जब आफ्ना छिमेकी राष्ट्रहरुमा आन्तरिक राष्ट्रियताको मुख्य बहस चलेको हुन्छ त्यहिबेला हस्तक्षेप गर्छन र अरुको प्राधीकार आफुमा राख्छन् अनि त्यो राष्ट्रलाई सधै आफ्नो बसमा राख्छन् ।
नेपालको इतिहासलाई हेर्ने हो भने जब जब हाम्रो आन्तरिक राष्ट्रियताको कुरा प्रमुख मुद्धा भयो त्यतिनै बेला छिमेकीले कुनै कुनै बहानामा हामी माथी आफ्नो हस्तक्षेपकारी नीति र ब्यवहार लाई खुल्ला रुपमा ब्यबहारमा उतार्यो । जसको कारण हामी न आन्तरिक रुपमा बलियो हुन सक्यौ न बाह्य रुपमा नै हाम्रँो राष्ट्रियता बलियो हुन सक्यो । अब पनि हामीले यो नबुझ्ने हो भने अझै कयौ पुस्ताले दुःख पाउने कुरामा कुनै सकां छैन ।
देश यस्ता सकंटबाट प्राय गुज्रीरहेकै हुन्छन् । यो नेपालको मात्र समस्या होइन । भारतमा पनि नक्सालवादीको समस्या छ, काश्मिरको समस्या छ, बेरोजगारी समस्या छ, आतकंवादको समस्या लगायत विविध समस्या छन् । चीनमा पनि केही अल्पसङयक आदिबासी समुदायको समस्या छ, स्वतन्त्र तिब्बतको आन्दोलनको समस्या छ, नीती सम्वन्धी विवाद लगायतका समस्या छन् । त्यसैगरि अमेरिकामा पनि समस्या छन् तर उनीहरुले कसरी हल गर्दैछन् त ? यो कुरा बुझ्न जरुरी हुन्छ ।
यस्तो बेलामा अन्य देश जसले आफ्नो राष्ट्रियतामाथी अफ्ठेरो सृजना गरेका छन् उनीहरु सगँ सामना गर्ने महत्वपूर्ण रणनीति भनेको उनीहरुको आन्तरिक समस्यालाई समर्थन र सहयोग गर्नु हो । तत् तत् देशहरुको आन्तरिक राष्ट्रियतामा देखिएका प्वालहरुमा खेल्ने हो भने उनीहरु पछि हट्न बाध्य हुन्छन् । उदाहरणको लागि हामी नेपालीहरुले गुजरातमा पटेल हरुले उठाएको मुद्धाका समर्थनमा काठमान्डौमा जुलुश निकाल्ने हो वा नक्सालबादीहरु वा भारतीय कम्यूनिष्ट ( जो शशस्त्र युद्ध गरिरहेका छन् ) उनीहरु आतकंकारी होइनन् भनेर बक्तब्य निकाल्ने वा उनीहरुलााई समर्थन गर्न नेपाल तयार भनेर कुनै पार्टी वा दलबाट बिज्ञप्ती निकाल्ने हो वा काश्मिरको विषय संयूक्त राष्ट्रसघंमा उठाउदिने हो भने उसलाई पनि सकंट आउन सक्छ वा भनौ अन्य देशको आन्तरिक मामलामा हामीले पनि हस्तक्षेप गर्न थाल्ने हो भने त्यो राज्य पनि आफु पछाडि हट्नु पर्ने हुन्छ । यस्तो गर्न नपरोस् भन्ने हो तर आवाश्यकता पर्दाखेरी नेपाली नेता, बुद्धीजीवी हरु, नागरिक समाजका अगुवाहरु सबैले यो भूमिका निर्वाह गनुपर्ने हुन्छ ।
अहिलेको परिस्थितिमा हामीलाइ एकातिर देशलाई एकताबद्ध कसरी बनाउने भन्ने समस्या छ भने अर्कोतिर आफ्नो सावैभौमिकता जोगाउने र देशलाई मजबुत बनाउने चुनौती छ । यी दुवै चुनौतीको सामना गर्नका लागि आज हरेक नेपाली तयार रहनुपर्ने हुन्छ । यतिबेलाको हाम्रो प्रधान राष्ट्रियता बाह्य वा भूगोल नै हो, अर्थात बाह्य हस्तक्षेप नै प्रमुख समस्या हो । यसलाई न्यूनीकरण गर्दैगर्दा आन्तरिक राष्ट्रियता वा जनता पनि उत्तिकै महत्वपूर्ण हुन्छ र त्यसतर्फ पनि लाग्न जरुरी हुन्छ । अहिले हामीलाई अनुकुल हुने र हाम्रो लागि स्विकार्य हुने राष्ट्र र राष्ट्रियताको परिभाषा पनि यही नै हो ।








