वैशाख १९,२०८३ / ०८ : २४ पूर्वान्ह / 2026-05-02 08:24 am
      • param ad
      • furniture
      • veera Incorporation

      के शिक्षा बुर्जुवा हुन्छ ?

      - ७ वर्ष अगाडि
      असार २६,२०७५

      शिक्षाले कहिल्यै पनि एउटा बर्गलाई मात्र टेवा पुर्याउदैन, यो त सृजनात्मक हुन्छ र मानव जीवनमा आउने विविध समस्याहरुको हल खोज्छ र मानव जीवन सहज सरल र ब्यवस्थित बनाउन सहयोग गर्छ । त्यसकारण बुर्जुवा शिक्षा भन्ने नै हुदैन अर्थात शिक्षा कहिल्यै बुर्जुवा हुदैन ।  

      नेपालको शिक्षा बुर्जुवा भयो भनेर खास गरि औपचारिक शिक्षाको बिरोध गर्ने, सामान्य नागरिकहरुलाई भ्रममा पार्ने र उनीहरुलाई शिक्षाबाट बन्चीत गराई आफ्नो राजनीतिक तथा आर्थिक फाइदा लिने जुन परम्पराको रुपमा स्थापित भएको मान्यता छ त्यस मान्यतालाई भत्काउनका लागि यो लेख प्रस्तुत गरेको छु । बुर्जुवाको शाब्दिक अर्थ खोज्ने हो भने यसले मध्यम बर्गको भन्ने बुझाउछ । शिक्षाले गर्ने आविश्कार र सृजनाले तमाम समुदायको हित गरेको हुन्छ तसर्थ शिक्षा  (औपचारिक नै किन नहोस् ) कहिल्यै पनि बुर्जुवा हुदैन । 

      शिक्षाले आविस्कार गर्छ । अहिले सम्म विज्ञानका क्षेत्रमा जति पनि आविस्कार हरु भएका छन् त्यो शिक्षाको परिणाम हो । यातायात, सन्चार, स्वास्थ्य लगायत तमाम क्षेत्रमा भएका नयाँ नयाँ आविस्कारहरु जसले हाम्रो जीवनमा ठूलो र अपत्यारिलो परिवर्तन ल्याइदिएका छन् । यो सबै शिक्षाको र बिशेष गरि औपचारिक शिक्षाको उपज हो । अब हामी सामान्य तरिकाले पनि यी आविस्कारले कुन कुन समुदाय र बर्गका मान्छेलाई फाइदा पुर्याएको छ भनेर बुझ्न सक्छौ । के यी सबै आविस्कारहरु बुर्जुवा बर्गका लागि मात्र हुन त ? यदि होइन भने भर्खरै विकसित हुन लागेको मष्तिष्कमा हाम्रो समग्र शिक्षा नै बुर्जुवा हो यसको कुनै अर्थ छैन भनेर गरेको बिश्लेषण कति घातक थियो र हुदैछ भन्ने कुरा अहिलेको परिवेशमा आएर सबैले सोच्ने बेला आएको छ । 

      शिक्षाले खाली के सोच्ने भन्ने मात्र होइन कसरी यो समाज, जगत, दुनीयाँलाई सोच्ने अनि कसरी यसलाई हामी र हाम्रो अनुकुलमा बदल्ने भन्ने कुराको ज्ञान दिन्छ । मान्छेले गर्ने ब्यवहारलाई पनि शिक्षाले मार्ग निर्देशन गर्छ । पढेको मान्छे र नपढेको मान्छेले सोच्ने तरिका र गर्ने ब्यवहार फरक हुन्छ तपाई हामी हाम्रो दैनिक जीवनमा पनि यसका कयौ उदाहरणहरु हाम्रा सामुन्ने पाउछौ । एउटा सवारी चालक वा प्रहरी नै किन नहोस पढेको मान्छेले गर्ने ब्यवहार र नपढेको मान्छेले गर्ने ब्यबहार आकाश पातालकै फरक हुन्छ । किन यस्तो हुन्छ भन्ने कुराको अध्ययन अनुसन्धान नगरी हल्लाको भरमा नेपालको शिक्षा शोषक सामन्तहरुको वा पुजिपतिहरुको हो भनेर घृणा गर्नेहरुले नेपालमा अन्याय गरेका छन् भन्ने मेरो मान्यता हो । जस जसले यस्तो कुरा पत्याय र औपचारिक शिक्षा लिन छोडे उनीहरुकै जीवन अरुको तुलनामा बढी कष्टकर हुन पुग्यो (नेपालमा बस्नेहरुका लागि पनि र बिदेश जानेहरुका लागि पनि)। 

      शिक्षाविद डिवेले शिक्षालाई सामाजिक परिवर्तनको एउटा माध्यामको रुपमा ब्याख्या गरेका छन् । मानिसको जीवनमा औपचारिक शिक्षाको महत्व दर्शाउदै उनले समाजको पुनः संरचना गर्ने चेत शिक्षाले प्रदान गर्ने कुरामा जोड दिएका छन् । याहाँ उनको सन्दर्भ मैले यस अर्थमा जोडेको हो की शिक्षा त अनौपचारिक तरिकाले पनि प्राप्त हुन्छ तर औपचारिक शिक्षाको धेरै नै महत्व हुन्छ । हामी भित्र भएको अन्र्तनिहित प्रतिभालाई बाहीर ल्याउने काम नै शिक्षाले गर्छ अनि जब हाम्रो आफ्नो प्रतिभा बाहिर आउछ त्यसले कसरी एउटा बर्गको मात्र हित गर्छ  त ? नयाँ समाजको निर्माण गर्न पुरानो भत्काउनै पर्छ भन्ने मात्र सोचेर हाम्रो देशमा राम्रा नराम्रा सबै चीजहरु भत्काउन प्रेरीत भएका हरु पनि शिक्षाको कमीले नै हो । 

      शिक्षाले मानिसलाई सृजनाको ढोका खोल्न मात्र सहयोग गर्दैन यसले हामी भित्रको अन्धकारलाई हटाएर उग्रवाद तर्फ अग्रसर हुनबाट समाज र राष्ट्रलाई बँचाउछ । अहिले विश्वमा जतिपनि उग्रवादतर्फ अग्रसर मानिसहरु वा समुदायहरु छन् ती अशिक्षीत समाजका प्रतिफल हुन् । जीवन जगतका बारेमा कसैले फालीदिएको बाक्याशंलाई सत्य यहीँ नै हो भन्ने भ्रममा परी त्यसलाई जस्ताको तस्तै कण्ठस्थ पारेर हिडेका ब्याक्ति वा समुदायको हुलले नै उग्रवादको नेतृत्व लिएको छ । कलेज तथा विश्वविद्यालयहरुबाट राम्रो डिग्री लिएका मानिसहरुले सरल तरिकाले संसारको परिवर्तन गरेका छन् तर त्यो नहुनेहरुले संसारको नेतृत्व गर्ने नाममा हिसांको नेतृत्व गरेका छन् र सबै खालका ब्याक्ति, समुदाय र बर्गको अहित गरेका छन् ।  

      पाउलो फ्रेरे आफ्नो पुस्तक पेडागोजी अफ डी अप्रेसडमा लेख्छन ः शिक्षाले जीवनमा अर्थ प्रदान गर्छ किनकी यसले महिला र पुरुषलाई आफुलाई निर्माण र पुनः निर्माण गर्न सक्षम बनाउछ । याहाँ निर्माण र पुन निर्माण गर्नु भनेको आफुलाई समय र परिस्थिती अनुरुप चलाउन र बदल्न सक्नु भन्ने हो । फ्रेरेको भनाइलाई आत्मसात गरेर हेर्ने हो भने जुन चीजले हाम्रो जीवनको निर्माण र पुर्ननिर्माण गर्छ त्यो कसरी एउटा बर्गको हुन्छ । त्यसैगरी शिक्षीत मान्छेहरु कहिल्यै पनि कसैको दास भएर बस्नु पर्दैन । यसले त जीवन जिउने उत्तम कला सिकाउछ । जस जसले हाम्रो शिक्षाले हामीलाई दास बन्न बाध्य गरायो भनेर शिक्षाको आलोचना गरेका छन् त्यस्तो तर्क बैज्ञानिक र बस्तुगत होइन । यदि कोही दास भएका छन् भने ती शिक्षीत नभएका हुन सक्छन् । 

      यसैगरी अर्का विद्धान जे. कृष्णमुर्ति लेख्छन् ः केही परीक्षा पास हुनु मात्र शिक्षा होइन, यो त तमाम समस्याहरुको बारेमा सोच्न सक्षम हुनु हो जसले गर्दा हाम्रो मस्तिष्क परम्परागत र मेशीन जस्तो हुदैन बरु सृजनात्मक हुन्छ जसले गर्दा हामी केवल समाजमा उपयुक्त मात्र हुदैनौ सामाजिक सरंचना भत्काएर नयाँ निर्माण गर्न पनि सक्षम हुन्छौ । यो भनाइले के कुराको सकेंत गर्छ भने साच्चिकै नयाँ संसार निर्माण गर्ने कुरामा शिक्षाको देन महत्वपूर्ण हुन्छ । यसरी हाम्रो सामु भएको अस्तब्यस्त र भद्रगोल समाजको पुर्ननिर्माण गर्न योगदान गर्ने शिक्षा कसरी बुर्जुवा हुन सक्छ ? उनको भनाइ यस लेखमा सान्दर्भिक हुनुमा पनि उनले औपचारिक शिक्षामा दिएको जोडले नै हो । 

      नेपालको शिक्षा बुर्जुवा भयो । गरीब, मजदुर, किसानका लागि भएन भनेर लामा लामा भाषण गर्नेहरुले पनि त्यही शिक्षाकै आधारमा अरुको नेतृत्व गरेका छन । यही शिक्षाले उनीहरुको अवस्था बदलदिएको छ तथापी उनीहरु यही शिक्षाकै बिरोध गर्न भने छाड्दैनन् । यो उनीहरुले अशिक्षीत नेपालीहरु माथी गरेको अन्याय हो । निजामति प्रशासनको क्षेत्रमा होस वा प्रहरी, सेनामा होस, जुनसुकै क्षेत्रमा भएपनि अर्ध शिक्षीत र अशिक्षीत लाई नियन्त्रण गर्ने काम शिक्षीत ले नै गरेका छन् । यति हुदाँ हुदै पनि बेरोजगार गरीबी र अन्य कारणले पीडीत भएका हरुलाई शिक्षाको जवरजस्ती बिरोध गर्न लगाइ आफ्नो राजनीतिक उदेश्य पुरा गर्नु बाहेक शिक्षाको बिरोध गर्नुको कुनै तुक छैन । 

      अहिलेको  समाज र ससांरमा भएको शिक्षीत मान्छेहरुको तथ्याकं संकलन गर्ने हो भने हाम्रो समाजको हरेक क्षेत्रको नेतृत्व शिक्षीत मान्छेहरुले नै गरेका छन् । राजनीति, ब्यापार, कृषी लगायतका सबै क्षेत्रमा शिक्षीत मानिसहरुकै नेतृत्व छ । कोही कोही मानिसहरु शिक्षीत भएर पनि धनाढ्यका अफीसमा कर्मचारी भएका होलान् , कम्पनीमा डाइरेक्टर हुन नपाएका होलान् तथापी तिनीहरुको जीवन अशिक्षीत हरुको तुलनामा धेरै नै सफल र ब्यवस्थित छ । त्यसकारण एउटा सामान्य मान्छेलाई नेतृत्वमा लैजाने शिक्षा के एउटा बर्गको हुन्छ वा बुर्जुवा हुन्छ ? कदापी हुदैन । त्यसकारण म यो लेख मार्फत सबैमा के अनुरोध गर्न चाहान्छु भने हामी युवाले कुनै पनि बहानामा विद्यालय वा क्याम्पस र विश्वविद्यालय जान छोड्नु हुदैन र अरुलाई पनि यो अवसरबाट बन्चीत गराउनु हुदैन र त्यस्तो गराउने अधिकार कसैलाई पनि छैन ।        

      ओम प्रकाश निरौला



        सम्बन्धित समाचारहरु