वैशाख १९,२०८३ / १० : ०५ पूर्वान्ह / 2026-05-02 10:05 am
      • param ad
      • furniture
      • veera Incorporation

      ट्रम्प–किम भेटवार्ता : विश्वमा शान्तिको सन्देश, गोर्खा प्रहरीको शान

      - ७ वर्ष अगाडि
      जेष्ठ २८,२०७५

      विश्व इतिहासमा नै भोली अर्थात जुन १२ तारिख ऐतिहासिक बन्दै छ । विश्वमा आतंकवादविरुद्ध अभियान चलाइरहेको शक्तिराष्ट्र अमेरिका र हातहतियारको राजनीति गरिरहेको उत्तर कोरियाबीच ऐतिहासि वार्ता हुँदैछ । 

      यो वार्ताले अमेरिका र उत्तर कोरिया मात्र होइन, विश्व नै प्रभावित हुने छ । 

      यतिबेला उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सिंगापुर पुगेका छन् । किम पनि सिंगापुरमै छन् ।

      दुई नेताबीच भोलि मंगलबार एक होटलमा ऐतिहासिक वार्ता हुनेछ । ट्रम्प र किमबीचको भेटवार्तालाई विश्वले नै प्रतिक्षा गरिरहेको छ । 

      कुटनीतिज्ञ डा. शंकर शर्माले ट्रम्प र किमबीचको भेटले अब उत्तर कोरिया पनि हातहतियार र युद्धको राजनीतिबाट टाढा हुन खोजेको सन्देश दिने बताएका छन् ।

      “विश्वमा शान्ति स्थापनाका लागि उत्तर कोरिया मात्रै बाधाको रुपमा देखा परेको थियो । किनकी उत्तर कोरिया अरु कसैको कुरा नसुनि आफैँ न्युक्लियर बम बनाउन काममा लागिरहेको थियो । तर अब भने शान्ति चाहेको हो कि भन्ने देखिन्छ ।”

      यसअघि अमेरिका र उत्तर कोरियाबीच आरोप प्रत्यारोप भइरहेको थियो । एकले अर्कालाई आक्रमण गर्ने चेतावनी बारम्बार दिएका थिए । जसका कारण विश्व नै त्रसित बनेको अवस्था थियो । तर अहिले दुवै देशका नेतृत्वकर्ताबीच भेटवार्ता हुँदा सम्बन्ध सुधारको अपेक्षा गरिएको छ । 

      उत्तर कोरियाले संसारको कुनै पनि कुनामा प्रहार गर्न सक्ने अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र विकास गरेको दाबी गरेको छ ।

      उत्तर कोरियाको हतियार विकासको गतिलाई हेर्दा उसले पाँच देखि १० वर्षमा अमेरिकामा प्रहार गर्न सक्ने हतियार बनाउन सक्ने विज्ञहरुले बताउने गरेका छन् 

      दक्षिण कोरियाले हतियार निर्माणलाई नै प्राथमिकता दिइरहेको छ भने अमेरिकाले त्यसको निन्दा गर्दै आएको छ । 

      उत्तर कोरिया र अमेरिकाबीच सम्बन्ध सुधार हुनु विश्वशान्ति र स्थायित्वका लागि महत्वपूर्ण कदम हुने भएकाले भेटवार्ता कसरी हुन्छ र के सहमति हुन्छ ? व्यग्र प्रतीक्षाको विषय बनेको छ । 

      उत्तर कोरिया र विशाल मुलुक अमेरिकाबीच सम्बन्ध सुधार गरी कोरियाली प्रायद्वीपलाई आणविक अस्त्रमुक्त बनाउन सके दुई देशबीचको विवाद र अन्य देशले लिनुपरेको तनाब कम हुने देखिन्छ । 

      अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच हुन लागेका ऐतिहासिक भेटवार्ता औपचारिकतामा सीमित भयो भने चाँही हात्ती आयो हात्ती आयो फुस्सा हुने छ । 

      दक्षिण कोरियामा अमेरिकाले ठूलो लगानी गरेको छ । दक्षिण कोरियाको सुरक्षाका लागि करिब ४० हजार अमेरिकी सैनिक तैनाथ गरिएको छ । उत्तर कोरियालाई छिमेकी चीन र रूसले सहयोग गरिरहेका छन् । उत्तर कोरियाविरुद्ध अमेरिका र संयुक्त राष्ट्रसङ्घले अन्तर्रा्ष्ट्रिय नाकाबन्दी लगाएका छन् । 

      नाकाबन्दीलाई बेवास्ता गर्दै उत्तर कोरियाले पटक–पटक आणविक क्षेप्यास्त्र परीक्षण गरेर आणविक शक्ति राष्ट्रका रूपमा आफूलाई उभ्याएको छ । पछिल्लोपटक छैटौँ आणविक परीक्षण गरेर विश्वमै तहल्का मच्चाएको उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्र बनाएर आफ्ना मुलुक आणविक अस्त्रबाट सुरक्षित भएको दाबी गरेको छ । 

      अमेरिकाको जुनसुकै भागमा पनि अन्तरमहादेशीय क्षेप्यास्त्र प्रहार गर्ने हैसियत बनाएको उत्तर कोरियासँग अमेरिकाले सार्थक वार्ता गरी आणविक विवादको उचित निकास निकाल्नु बुद्धिमानी हुनेछ । 

      गोर्खा प्रहरीको चर्चा

      ट्रम्प र किमबीचको वार्ता स्थल वरपर गोर्खा प्रहरीले सुरक्षा दिनेछन् । सबैभन्दा बढि सुरक्षा दिनुपर्ने ठाउँहरुमा गोर्खा प्रहरी खटाइनुले नेपाल र नेपालीको पनि इज्जत बढेको शर्माको तर्क छ । 

      दुवै नेताहरूले आ–आफ्नै सुरक्षाकर्मीहरू ल्याउने भए पनि सिंगापुर प्रहरीको गोर्खा टुकडीले वार्तास्थल, दुई नेता बस्ने होटल, उनीहरू हिँड्ने सडकलगायत स्थानमा सुरक्षा दिनेछन् । 

      सिंगापुर प्रहरीमा करिब १ हजार ८ सय गोर्खा छन् । १९ औं शताब्दीको नेपाल–अंग्रेज युद्धमा पराजय भोगेपछि बेलायतले गोर्खाहरूलाई भर्ती लिन थालेको हो । तर भारतमा बेलायतको उपनिवेश अन्त्यसँगै केही गोर्खाहरूलाई सिंगापुरमा तैनाथ गरिएको थियो । गोर्खाहरूले दुवै विश्वयुद्धका साथै फकल्यान्ड युद्ध लडेको भए पनि हालै अफगानिस्तानमा भएका विद्रोही लक्षित आक्रमणका कारण विश्वको ध्यान आफूतिर तानेका थिए । गोर्खाहरू बेलायती, भारतीय तथा ब्रुनाई सेनामा पनि कार्यरत छन् ।

      पहिलो विश्वयुद्धदेखि नै विश्वमा बहादुरको परिचय स्थापित गराएको गोर्खालीले यस पटक ट्रम्प र किमबीचको वार्तास्थल वरपर सुरक्षा प्रदान गरेर बहादुरीको परिचयलाई नविकरण गर्ने मौका पाएको छ । 

        सम्बन्धित समाचारहरु