कुरा गरौं गणतन्त्र दिवसको, हिजो मंगलवार जेष्ठ १५ गते अर्थात १० वर्षे जनयुद्ध र ०६२÷०६३ को १९ दिने जनआन्दोलन पछि राजतन्त्रले घुँडा टेकेको दिनको । लाखौं सपनाहरुकाबीच करोडौ जनताले विना दुःखको श्वास फेर्न पाउने परिकल्पना गरेको दिनको । तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो हातमा लिएको शाषन जनताको हातमा सुम्पेको दिन । तत्कालिन राजा ज्ञानेन्द्रको निरङ्कुश शाषनको विरुद्धमा सडक आन्दोलनका क्रममा जनताले वलिदान दिए । अर्थात १९ दिने आन्दोलनमा धेरैले ज्यान गुमाए ।
देशमा शाषन व्यवस्था फेरियो तर विकासको अवस्था कहिल्यै फेरिएन । जनताले जे का लागि संघर्ष गरेका थिए त्यो अहिले सम्म प्राप्त भएको छैन । गणतन्त्रपछिको दश वर्षे अवधिमा राजनीतिक अस्थिरता नै हाबी भयो । यसक्रममा केही महत्वपूर्ण राजनीतिक परिवर्तन नभएको होइन । गणतन्त्रसँगै संघियता, समानुपातिक समावेशी र धर्म निरपेक्षता जस्ता विषय स्थापित भयो ।
तर जनताको जीवनस्तर माथि उठ्ने गरी केही परिवर्तन भएको छैन । गणतन्त्र आएपछि जनता सुखी हुन्छन् भन्ने बुझाई गलत पनि हुन सक्छ । किनकी गणतन्त्र एउटा व्यवस्था मात्रै हो, विकासको सुत्र होइन ।
एउटा राजा हटाइये, तर हजारौं राजाहरु जन्मिए । सहरका ति चोक चोकमा, गाउँका ति गल्ली गल्लीमा आज राजाहरु जन्मिएका छन् ।
२०७५ सालको गणतन्त्र दिवसको आभास उपत्यकाको जनताले कसरी प्राप्त गरे त ?
सैनिक मञ्च टुंडिखेलमा गणतन्त्र दिवस मनाईयो । प्रधानमन्त्रि केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जितको दिन हो भनेर सम्वोधन गरे । तर संघीय राजधानी काठमाण्डौका विभिन्न चोकमा सडक र सवारी अस्तव्यस्त थियो ।
गणतन्त्र दिवसले ११ वर्षमा प्रवेश गरेको र जनआन्दोलन पछि प्राप्त भएको गणतन्त्र दिवसमा देशका उच्च पदस्थ व्यक्तिले सम्वोधन गर्ने कार्यक्रम रहेको जनताले थाहा मात्र पाएका थिए । जनताले बलिदानी गरेर ल्याएको गणतन्त्रको सम्झनामा दिवस मनाइहँदा त्यहा जनता थिएनन् । थिए त केवल गणतन्त्रपछिका राजाहरु ।
लगभग २ घण्टा सम्मको सडकमा भएको ट्राफिक जाम गणतन्त्र दिवसको उपलब्धि हो ?
उच्च पदस्थ व्यक्तिले चढ्ने सवारी साधन सडकमा चल्दा जनता चढ्ने सवारी सधान चल्न नपाउने कस्तो गणतन्त्र ?
हुन त उच्च पदस्थ व्यक्तिहरुको सवारीमा अनिवार्य रुपमा सुरक्षा व्यवस्था मिलाउनुपर्छ । तर अत्यावश्यक वस्तुदेखि एम्बुलेन्स सम्म चल्न नदिई गरिने सुरक्षा व्यवस्था कस्तो हो ?
कति सर्वसाधरण आफ्नो दैनिकीका लागि यात्रामा थिए होलान, अवश्य पनि उनीहरु निश्चित कार्य सुरु अवधिमा कार्यालय पुगेनन् होला । कति विरामीहरु एम्बुलेन्स र अन्य सवारी साधनमा छट्पटाउँदै बसे होलान् । यो कुराको हेक्का नेताहरुलाई छ ? पक्कै छैन । उनीहरु त आफू राजा भएको अनुभूति गर्न मात्र अभ्यस्त भइसकेका छन् ।
सामान्य जनतालाई राजनीतिसंग कुनै मतलब हुँदैन । उनीहरू अघिल्लो र पछिल्लो व्यवस्थालाई दाँजेर हृर्छन् । राजतन्त्र हुँदाको र आजको स्थिति जनताले केलाइरहेका छन् । आजको व्यवस्था भनेको राजनीति गर्ने नेताहरूका लागि मात्रै उपलब्धिमूलक देखिएको छ ।
बजारभाउ बढाउने ठूला व्यापारीलाई कार्वाही गर्नुकोसट्टा तिनैलाई समानुपातिक सांसद बनाइनु आर्थिक चलखेल बाहेक अरु के होला त ? यस्ता जनता चुस्ने र उता नेतालाई चन्दा र कमिशन बुझाउनेहरूलाई साथ दिएर नेताले गणतन्त्र स्थापित गराउन खोजेका हुन् ?
छिमेकी मित्ररास्ट्र चिनमा भारतीय राजदुतले चिन बिरोधी गतिबिधि गरेको भए २४ घन्टामा भित्रमा देश छाडेर जाने आदेश पाउथ्यो । राष्ट्रहितको विरुद्धमा काम गर्ने नागरिकहरुलाई मृत्युदण्डको संजाय सुनाईन्थ्यो । तर देशको अस्मितामा छिमेकी भारतले खुल्ला धावा बोल्दा पनि पार्टीका नेता देखि तिनका कार्यकर्ता मुक दर्शक भएर बसेका छन् ।
हो उता सामन्तिहरु नेताहरु हाँसीरहँदा गरीव दुखी जनताहरु रोईरहेका थिए ।
के राजतन्त्र हटेकै हो र ? भनेर जनताले प्रश्न गर्नुपर्ने बाध्यता सृजना भएको छ । यो प्रश्नको जवाफ कसले, कसरी र के भनेर दिने ?








