वैशाख १९,२०८३ / १० : ०४ पूर्वान्ह / 2026-05-02 10:04 am
      • param ad
      • furniture
      • veera Incorporation

      व्यंग्य : सम्बन्धको पुरानीकरण

      - ८ वर्ष अगाडि
      चैत २५,२०७४

      प्रधानमन्त्री केपी ओली पुनः भारत भ्रमणमा जानुभएको छ । पुनः किन भनियो भने यो भन्दाअघि पनि प्रधानमन्त्री हुँदा उहाँ भारत जानुभएको थियो । अहिले फेरि प्रधानमन्त्री बन्नुभएको छ । र, फेरि भारत जानुभएको छ ।

      यदि यो कार्यकाल सकाएर उहाँ तेस्रोपल्ट प्रधानमन्त्री बन्नुभयो भने भारतको तेस्रो भ्रमण पनि गर्नु होला । यो निश्चित छ ।नेपालका प्रधानमन्त्रीहरू पटक–पटक भारत गएको देखेर एकपटक मित्र भजनलालले मलाई सोधेको थियो, ‘हाम्रा प्रधानमन्त्रीहरू किन बारम्बार भारत जान्छन् हँ?’

      मैले जवाफ दिन मुख आँ... नै गरिसकेको थिएँ । तर आँ... भइसकेको मुखमा जवाफ भने आएन । किनभने नेपालका प्रधानमन्त्रीहरू पटक–पटक भारत गइरहेका हुन्छन्, त्यो त मलाई थाहा छ । तर, किन जान्छन् त्यो भने मलाई पनि थाहा छैन।

      मलाई मात्र होइन, स्वयम् भ्रमणमा जाने प्रधानमन्त्रीलाई पनि थाहा छैन होला । प्रधानमन्त्री भएको केही दिनमै उहाँहरू भारत भ्रमणमा निस्कनुहुन्छ । अझ कोहीकोही त प्रधानमन्त्री नहुँदै भ्रमणमा निस्किसकेका हुन्छन् । अनि फर्केर आउँदा उहाँहरू प्रधानमन्त्री बनिसकेका हुन्छन् । खुला रूपले नबने पनि गोप्य रूपले बनिसकेका हुन्छन्।  

      मलाई त लाग्छ, नेपालको प्रधानमन्त्रीले वैधानिक रूपले प्रधानमन्त्री बन्न दुईचोटी शपथग्रहण गर्नुपर्छ । एकचोटी नेपालका राष्ट्रपतिबाट, अर्कोचोटी भारतका प्रधानमन्त्रीबाट । नेपालका राष्ट्रपतिबाट अस्ति नै शपथग्रहण भइसक्यो । अब सायद भारतको प्रधानमन्त्रीबाट शपथग्रहण गर्न यो भ्रमण भएको हो कि ? भारतमा गरिने यो शपथग्रहण गोप्य पनि हुन सक्छ । नेपालमा जस्तो खुला नै हुनुपर्छ भन्ने छैन।

      तर, गोप्य रूपमा शपथग्रहण गर्‍र्यो भनेर टिप्पणी गर्नु भने आवश्यक छैन । किनभने शपथग्रहण भनेकै गोप्यताको लागि गरिने हो । शपथग्रहण गर्दा सबै कुरा गोप्य राख्छु भनेर शपथ लिने गरिन्छ । अब सबै कुरा गोप्य राख्छु भनेर शपथ लिएपछि शपथग्रहणकै कुरा पनि त गोप्य राख्नु पर्‍यो नि ! होइन र ?

      भारत जानुअघि प्रधानमन्त्रीज्यूले आफ्नो भ्रमणबारे  सरसल्लाह पनि गर्नुभएको थियो । पूर्व प्रधानमन्त्रीहरू, पूर्व मन्त्रीहरू, पूर्व राजदूतहरू सबैसँग उहाँले परामर्श लिनुभयो । सबैले उहाँलाई एउटै मात्र सुझाव दिए– भारत गएर नयाँ सम्झौता केही पनि नगर्नुस् । पुरानै सम्झौताहरू मात्रै कार्यान्वयन गराउनुस् अर्थात् नयाँ केही पनि नगर्नुस्, जे गर्नु छ पुरानै मात्र गर्नुस्।

      यी परामर्शहरूबाट थाहा हुन्छ, सबैको जोड पुरानैमा छ । अब विज्ञहरू किन पुरानोमा जोड दिइरहेका छन्, त्यो कसैलाई थाहा छैन । विज्ञहरू मात्र होइन, यति बेला पूरा देशमै सबैजना पुरानोमा जोड दिइरहेका छन् । सबैलाई सबैथोक पुरानै किन मन परिरहेको हो, त्यो थाहा पाउन सकिएको छैन । अस्ति राष्ट्रपति संसदमा सम्बोधन गर्न जानुभएको थियो । त्यतिबेला पनि धेरैले पुरानो कुरा सम्झिए।

       

      भनिन्छ नि, नेपाल र भारतको सम्बन्ध ऐतिहासिक छ । सायद यही कारणले होला, यो सम्बन्ध जति पुरानो भयो त्यति राम्रो हुन्छ । किनभने इतिहास भनेको विषय नै त्यस्तो । इतिहासमा जति पुरानो सामग्री भेटियो त्यो त्यति नै अमूल्य हुन्छ । नेपाल भारत सम्बन्धको आधार पनि इतिहास नै भएकाले यो सम्बन्ध जति पुरानो गर्न सकियो त्यति नै टिकाउ हुन्छ।

      राष्ट्रपतिको सवारी पुरानै शैलीको थियो । रवाफ पुरानै थियो । सवारी हुँदा सडकमा हिँड्ने जनताले जो कष्ट खेप्नुपर्ने हुन्थ्यो नि, त्यो पनि पुरानै थियो ।  खैर, अहिले त्यता नजाउँ । प्रधानमन्त्रीको भारत भ्रमण सुरु भइसकेको छ । अतः यतिबेला हामी भारत भ्रमण बाहेक अरु कुरा बारे चर्चा गर्न असमर्थ छौँ । त्यसो गर्न मिल्दैन पनि । अब भारत पुग्नुभएका प्रधानमन्त्री केपी ओलीले भारतमा जे गर्नुहुन्छ, यदि परामर्शमा प्राप्त भएको सम्पूर्ण सल्लाह मान्नुहुन्छ भने, सबै पुरानै मात्र गर्नु हुने छ।

      नयाँ गर्न उहाँलाई परामर्श दिइएको छैन । अब नेपाल र भारत बीचको पुरानो सम्बन्ध के हो ? त्यो हामी सबैलाई थाहै छ । यो सम्बन्धलाई उहाँले पुनः पुरानै बनाउनु हुनेछ । परिस्थिति त नयाँ आइसकेको छ । तैपनि सम्बन्ध भने अब पुरानै हुने निश्चित छ । सन्धि सम्झौताहरू पनि सबै पुरानैलाई नयाँ बनाउनु हुनेछ । पुराना मित्रहरूलाई भेट्नु हुने छ । पुराना कुराहरू गर्नु हुने छ । र, अन्तमा नेपाल भारत सम्बन्धलाई पूरै नयाँ ढंगले पुरानीकरण गर्नु हुने छ।

      नेपाल तर्फको यो तयारी देखेर भारत त गएकै हुनु पर्छ । किनभने भारत त यही चाहन्छ कि नेपाल भारत सम्बन्ध अझै पुरानो होस् । नेपाल र भारतको सम्बन्ध नयाँ–नयाँ दिशातिर जान लागेको देखेर भारत त चिन्तितै छ । अतः भारत चाहन्छ, यो सम्बन्ध नयाँ–नयाँ दिशातिर नबहकियोस् । पुरानै ठाउँमा फर्कियोस् । त्यसैले सम्बन्धलाई पुरानीकरण गर्ने हो भने भारतसँग धेरै नै अजेन्डा छन् । यदि मिल्ने हो भने नेपाल र भारतको सम्बन्धलाई भारत सन् १९५० भन्दा पनि पछि पु¥याउन चाहन्छ।

      इतिहास खोतल्दै जाने हो भने अझ राम्रा सम्बन्धहरू भेटिँनै जाने छ । भनिन्छ नि, नेपाल र भारतको सम्बन्ध ऐतिहासिक छ । सायद यही कारणले होला, यो सम्बन्ध जति पुरानो भयो त्यति राम्रो हुन्छ । किनभने इतिहास भनेको विषय नै त्यस्तो । इतिहासमा जति पुरानो सामग्री भेटियो त्यो त्यति नै अमूल्य हुन्छ । नेपाल भारत सम्बन्धको आधार पनि इतिहास नै भएकाले यो सम्बन्ध जति पुरानो गर्न सकियो त्यति नै टिकाउ हुन्छ।अब हेरौैँ, प्रधानमन्त्री ओली नेपाल भारत सम्बन्धलाई कति पुरानो बनाउन सफल हुनु हुने छ ।  नागरीक न्युजबाट सावर गरीएको

        सम्बन्धित समाचारहरु