माघ २२,२०८२ / ०४ : १९ पूर्वान्ह / 2026-02-05 04:19 am
      • param ad
      • furniture
      • veera Incorporation

      विश्वकपबाट बंगलादेश आउट ! नेपाललाई फाइदा कि घाटा ? (भिडियोसहित)

      - २ दिन अगाडि
      माघ १९,२०८२

      के तपाईं तयार हुनुहुन्छ ? फेरि एकपटक विश्व क्रिकेटको महाकुम्भ सुरु हुँदैछ । मिति याद गर्नुहोस्  २०२६ फेब्रुअरी ७ अर्थात् माघ २४ गते । नेपालमा एकातिर निर्वाचनको माहोल तातिरहेको छ भने अर्कोतिर क्रिकेटको ज्वरोले अब सिङ्गो दक्षिण एसियालाई तताउनेछ ।

      सन् २००७ मा भारतबाट सुरु भएको टी–२० विश्वकपको यो १०औँ संस्करण फेरि एकपटक दक्षिण एसियामा फर्किएको छ । भारत र श्रीलंकाको संयुक्त आयोजना, २० राष्ट्रको सहभागिता, र हाम्रो गौरव— नेपाली राष्ट्रिय क्रिकेट टोलीको लगातार दोस्रो विश्वकप सहभागिता !

      तर, यो विश्वकप सुरु हुनुभन्दा अगाडि नै ठूलो ड्रामा भइसकेको छ । बंगलादेश किन बाहिरियो ? स्कटल्यान्ड कसरी आयो ? पाकिस्तानको खेल कहाँ हुन्छ ? र नेपालको विश्वकप यात्रा कस्तो हुनेछ ?
      आउनुहोस्, आज यी सबै प्रश्नको चिरफार गरौँ ।

      सर्वप्रथम कुरा गरौँ हाम्रो नेपाली टोलीको । नेपालले टी–२० विश्वकपमा तेस्रो पटक र लगातार दोस्रो पटक आफ्नो स्थान पक्का गरेको छ । नेपाली टोलीको तयारी यसपटक निकै लोभलाग्दो छ । श्रीलंकामा पहिलो चरणको विशेष प्रशिक्षण सकेर नेपाली टोली अहिले क्रिकेटको ‘हब’ मानिने भारतको मुम्बई पुगिसकेको छ । 

      यहाँ रोचक कुरा के छ भने, मुम्बईमा अभ्यास सकेपछि नेपाली टोली चेन्नई जानेछ, जहाँ ‘अफिसियल वार्म–अप’ खेलहरू हुनेछन् । र, विश्वकपको मुख्य लडाइँ लड्नका लागि टोली फेरि मुम्बई नै फर्कनेछ । मुम्बईको वानखेडे स्टेडियमको त्यो ऐतिहासिक पिचमा नेपाली खेलाडीको जादु हेर्न हामी सबै आतुर छौँ ।

      यो विश्वकपको सबैभन्दा ठूलो र अप्रत्याशित समाचार नै बंगलादेशको अनुपस्थिति हो । सुरुवाती तालिका अनुसार एसियाली पावर हाउस बंगलादेशले विश्वकप खेल्नुपर्ने थियो । तर, सुरक्षाको कारण देखाउँदै बंगलादेशले भारतमा खेल्न अस्वीकार ग¥यो । उनीहरूले आफ्ना खेलहरू श्रीलंकामा सार्न आईसीसीलाई आग्रह गरे ।

      तर, आईसीसीको नियम कडा हुन्छ । अन्तिम समयमा खेल तालिका हेरफेर गर्न सम्भव थिएन । आईसीसीले स्पष्ट भन्यो— “कि त भारतमा खेल्नुस्, कि त बाटो लाग्नुस् ।“ बंगलादेशले आफ्नो अडान छोडेन, र अन्ततः उनीहरू विश्वकपबाट बाहिरिए ।
      यो घटना नेपालको समूहका लागि ‘गेम चेन्जर’ साबित भयो । बंगलादेश बाहिरिएपछि आईसीसीले वरीयताका आधारमा युरोपेली राष्ट्र स्कटल्यान्डलाई विश्वकपमा बोलाएको छ । अब स्कटल्यान्डले समूह ‘सी’ मा बंगलादेशको स्थान लिनेछ, जहाँ नेपाल पनि छ । यसले नेपालको समीकरणमा के असर पार्छ ? हामी एकछिनमा चर्चा गर्नेछौँ ।

      बंगलादेश त बाहिरियो, तर पाकिस्तानको कथा अझै रोचक छ ।

      राजनीतिक तनावका कारण पाकिस्तानले भारतमा खेल्ने वा नखेल्ने भन्ने विषय सधैँ चर्चामा रहन्छ । पाकिस्तान क्रिकेट बोर्डले फेब्रुअरी २ सम्ममा आफ्नो अन्तिम निर्णय दिने बताएको छ । यद्यपि, आईसीसीले पाकिस्तानका लागि विशेष व्यवस्था गरेको छ ।

      पाकिस्तान फाइनलमा पुग्यो भने के हुन्छ ?

      सुन्नुहोस् है, फाइनल खेल मार्च ८ मा भारतको अहमदाबादमा हुने तय छ । तर, यदि पाकिस्तान फाइनल पुग्यो भने त्यो खेल भारतमा होइन, श्रीलंकाको कोलोम्बोमा सारिनेछ । सेमिफाइनलको हकमा पनि यही नियम लागू हुनेछ । खेलकुदमा भू–राजनीतिको योभन्दा ठूलो प्रभाव सायद बिरलै देखिन्छ ।

      यसपटक विश्वकपमा २० राष्ट्र भिड्दैछन् । जसमा एउटा नयाँ पाहुना छ— इटली । फुटबलमा चार पटकको विश्वविजेता इटलीले पहिलो पटक टी–२० विश्वकपमा डेब्यु गर्दैछ । अब हेरौँ समूह विभाजन, विशेष गरी नेपालको समूहः

      समूह एः भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया । 
      समूह बीः अस्ट्रेलिया, श्रीलंका, आयरल्यान्ड, जिम्बाबे, र ओमान ।
      समूह डीः दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, युएई,  अनि क्यानडा ।
      र, अब समूह सी – जहाँ नेपाल छः
      यो समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, नेपाल, स्कटल्यान्ड र इटली छन् ।
      यो समूह नेपालका लागि अवसर र चुनौती दुवै हो ।
      १. इंग्ल्यान्ड र वेस्ट इन्डिजः यी दुवै पूर्व विश्वविजेता हुन् । उनीहरू विरुद्ध खेल्नु नेपालका लागि ठूलो अनुभव हुनेछ ।
      २. स्कटल्यान्डः बंगलादेशको सट्टा स्कटल्यान्ड आउनु नेपालका लागि केही राहत हुन सक्छ, तर स्कटल्यान्ड पनि कमजोर टोली होइन । यद्यपि, एसोसिएट राष्ट्र भएकाले नेपालले उनीहरूलाई हराउने रणनीति बनाउन सक्छ ।
      ३. इटलीः डेब्यु गरिरहेको इटली विरुद्ध नेपालले जित निकाल्नैपर्ने हुन्छ ।

      नेपालका सबै खेलहरू भारतमा हुनेछन् । ५ खेल मुम्बईमा र ५ खेल कोलकतामा । यसको अर्थ हो— नेपाली समर्थकहरूका लागि मैदानमा पुगेर हुटिङ गर्न निकै सहज हुनेछ । “रातो र चन्द्र सूर्य“ ले वानखेडे र इडेन गार्डेन गुञ्जिने पक्का छ !
      प्रतियोगिताको फम्र्याट २०२४ को जस्तै छ ।

      ४ समूहमा ५–५ टोली ।
      हरेक समूहबाट शीर्ष २ टोली ‘सुपर एट’ मा जानेछन् ।
      त्यसपछि सेमिफाइनल र फाइनल ।
      कुल ५५ खेल हुने यो महाकुम्भमा नेपालको यात्रा यस्तो छः
      पहिलो खेलः फेब्रुअरी ८ मा – नेपाल विरुद्ध इंग्ल्यान्ड 
      दोस्रो खेलः फेब्रुअरी १२ मा – नेपाल विरुद्ध इटली 
      तेस्रो खेलः फेब्रुअरी १५ – नेपाल विरुद्ध वेस्ट इन्डिज र
      चौथो खेलः फेब्रुअरी १७ – नेपाल विरुद्ध स्कटल्यान्ड 

      अहिलेसम्म ६ राष्ट्रले मात्र टी–२० विश्वकपको ट्रफी उचालेका छन् । भारत र वेस्ट इन्डिजले २–२ पटक, इंग्ल्यान्डले २ पटक, अनि पाकिस्तान, श्रीलंका र अस्ट्रेलियाले १–१ पटक । साविक विजेता भारत आफ्नै घरेलु मैदानमा उपाधि रक्षा गर्ने दाउमा छ भने अस्ट्रेलिया, इंग्ल्यान्ड र वेस्ट इन्डिज उनीहरूलाई रोक्न तयार छन् ।

      नेपालका लागि यो विश्वकप मात्र सहभागिता होइन, यो विश्व क्रिकेटमा आफूलाई प्रमाणित गर्ने सुनौलो अवसर हो। इटली र स्कटल्यान्डलाई हराउन सके र ठूला टोलीमध्ये (इंग्ल्यान्ड वा वेस्ट इन्डिज) कसैलाई चम्काउन सके, नेपाल पहिलो पटक ‘सुपर एट’ मा पुग्न सक्छ ।
      तपाईंलाई के लाग्छ ?
      के नेपालले इंग्ल्यान्ड वा वेस्ट इन्डिजलाई हराएर इतिहास रच्न सक्ला ?
      र, बंगलादेश बाहिरिएर स्कटल्यान्ड आउँदा नेपाललाई फाइदा भयो कि घाटा ?


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d