हामी भर्खरै एउटा कहालीलाग्दो महामारी, कोभिड–१९ को चपेटाबाट बाहिर निस्केका छौँ । मास्क, स्यानिटाइजर र लकडाउनको त्यो त्रासदीपूर्ण समय सायद हामी कसैले पनि बिर्सेका छैनौँ । तर, के हामी पूर्ण रूपमा सुरक्षित भइसकेका छौँ त ? विज्ञान र पछिल्ला घटनाक्रमले भन्छ— अहँ, खतरा अझै टरेको छैन ।
फेरि एउटा नयाँ स्वास्थ्य चुनौती हाम्रो देशको सिमाना नजिकै आइपुगेको छ । यो कोरोना जस्तो हावाबाट स्वाट्टै फैलिने त होइन, तर यो त्योभन्दा कैयौँ गुणा बढी घातक छ । यसको नाम हो— निपाह भाइरस । नेपालको पूर्वी सिमानासँग जोडिएको भारतको पश्चिम बंगालमा हालै यो प्राणघातक भाइरस देखा परेको छ । संक्रमितको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुने यो भाइरसबारे सुन्दा मात्र पनि आङ सिरिङ्ग हुन्छ । न त यसको कुनै खोप बनेको छ, न त कुनै ठोस औषधि नै ।
आज हामी निपाह भाइरसको इतिहास, यसको लक्षण, यो कसरी सर्छ, नेपाललाई किन उच्च जोखिममा मानिएको छ र यसबाट बच्न हामीले आजैदेखि के गर्नुपर्छ भन्ने विषयमा विस्तृत विश्लेषण गर्नेछौँ ।
सबैभन्दा पहिले चर्चा गरौँ, अहिले नै किन डराउनुपर्ने अवस्था आयो त ?
हालै मात्र भारतको पश्चिम बंगाल राज्य, जुन नेपालको झापा, इलाम लगायतका पूर्वी जिल्लाहरूसँग सिमाना जोडिएको क्षेत्र हो, त्यहाँको एउटा अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीमा निपाह भाइरस पुष्टि भयो । बिरामीको उपचारमा खटिएका डाक्टर र नर्स नै संक्रमित भएर आइसियूमा पुगेपछि त्यहाँको स्वास्थ्य संयन्त्रमा हलचल मच्चियो ।
यो सामान्य ज्वरो वा रुघाखोकी थिएन । ती स्वास्थ्यकर्मीहरू सिकिस्त भए । पश्चिम बंगालका अधिकारीहरूले तुरुन्तै ती संक्रमितको सम्पर्कमा आएका करिब २०० जना मानिसहरूको सूची तयार पारेर निगरानी र परीक्षण सुरु गरे । यो घटनाले नेपालमा किन खतराको घन्टी बजायो भने, पश्चिम बंगाल र नेपालबीचको सिमाना खुला छ । काँकडभिट्टा लगायतका नाकाबाट दैनिक हजारौं मानिसहरू, व्यापारीहरू र यातायातका साधनहरू ओहोरदोहोर गर्छन् । एउटा देशमा देखिएको संक्रमण खुला सिमाना पार गरेर अर्को देशमा भित्रिन धेरै समय लाग्दैन । विगतमा पनि हामीले देखिसकेका छौँ कि भारतमा कुनै संक्रमण फैलिँदा त्यसको केही साताभित्रै नेपालमा पनि त्यसको असर देखिन थाल्छ । त्यसैले अहिले नेपाल सरकारले पनि पूर्वी नाकाहरूमा ‘हेल्थ डेस्क’ राखेर निगरानी बढाएको छ ।
निपाह भाइरस कुनै नयाँ नाम भने होइन । यसको इतिहास बुझ्न हामी सन् १९९८ मा फर्कनुपर्छ । मलेसियाको ’सुङ्गाई निपाह’ भन्ने गाउँमा पहिलो पटक यो भाइरस पत्ता लागेको थियो । त्यसै गाउँको नामबाट यसको नाम ’निपाह’ राखियो ।
त्यसबेला मलेसियामा सुँगुर पालन गर्ने किसानहरूमा अनौठो लक्षण देखियो । सुरुमा यसलाई जापानी इन्सेफलाइटिस ठानिएको थियो, तर पछि यो निपाह भाइरस भएको पुष्टि भयो । यो प्रकोप सिंगापुरसम्म फैलियो र करिब १०० जना मानिसको ज्यान गयो । संक्रमण रोक्नका लागि मलेसिया सरकारले त्यतिबेला करिब १० लाख सुँगुरहरूलाई मार्नुपरेको थियो, जसले गर्दा त्यहाँको अर्थतन्त्रमा ठूलो धक्का लाग्यो ।
यो भाइरस ’जुनोटिक’ हो, अर्थात् जनावरबाट मानिसमा सर्ने रोग । वैज्ञानिकहरूका अनुसार निपाह भाइरसको मुख्य स्रोत ’फलाहारी चमेरा’ हुन् । यी चमेराहरूमा यो भाइरस प्राकृतिक रूपमै हुन्छ तर तिनीहरूलाई यसले खासै असर गर्दैन । तर जब यी चमेराले खाएको जुठो फलफूल वा तिनीहरूको पिसाब, ¥याल सुँगुर वा अन्य जनावरको सम्पर्कमा आउँछ, तब ती जनावर संक्रमित हुन्छन् । र, ती संक्रमित जनावरको नजिक जाने वा स्याहार गर्ने मानिसमा यो भाइरस सर्छ ।
सन् २००१ देखि हाम्रो छिमेकी देश बंगलादेशमा पनि यो भाइरसले पटक–पटक सताउँदै आएको छ । गार्डियन र बीबीसीको रिपोर्ट अनुसार, बंगलादेशमा सन् २००१ यता १०० भन्दा बढी मानिसको ज्यान निपाहकै कारण गइसकेको छ । भारतको केरलामा पनि सन् २०१८ र २०२३ मा यसको प्रकोप देखिएको थियो ।
अब कुरा गरौँ नेपालको सन्दर्भमा । के नेपालमा निपाह भाइरस छ त ?
अहिलेसम्म नेपालमा मानिसमा निपाह संक्रमण पुष्टि भइसकेको छैन, तर यसको अर्थ हामी सुरक्षित छौँ भन्ने होइन । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुका चिफ कन्सल्टेन्ट डाक्टर शेरबहादुर पुनका अनुसार नेपाल भौगोलिक र प्राकृतिक रूपमा निपाहको उच्च जोखिममा छ ।
किन त ?
पहिलो कारण— चमेरा नेपालको तराईदेखि पहाडसम्मका वनजंगलमा प्रशस्त मात्रामा फल खाने चमेराहरू पाइन्छन् । यदि नेपालका चमेराहरूमा यो भाइरस छ भने , तिनीहरूले खाएर खसालेका फलफूल वा तिनीहरूको विष्टामिश्रित खानेकुरा मानिस वा घरपालुवा जनावरले खाएमा संक्रमण फैलिन सक्छ ।
दोस्रो कारण— खुला सिमाना र सांस्कृतिक समानता । बंगलादेश र भारतको पश्चिम बंगालमा जुन ’इकोलोजिकल’ वातावरण छ, नेपालको तराई क्षेत्रमा पनि उस्तै वातावरण छ । त्यहाँ जस्तै यहाँ पनि मानिसहरू पशुपालन गर्छन्, र वनजंगल नजिकै बसोबास गर्छन् ।
फिलिपिन्समा घोडाबाट मानिसमा सरेको उदाहरण छ भने मलेसियामा सुँगुरबाट । नेपालमा सुँगुर पालन पनि व्यापक छ । यो भाइरस चमेरोबाट फलफूल हुँदै वा सुँगुर हुँदै नेपालमा भित्रभित्रै फैलिन सक्छ ।
यदि कसैलाई निपाह भाइरसको संक्रमण भयो भने कस्ता लक्षण देखिन्छन् त ? यो जान्न अति आवश्यक छ ।
यो भाइरस शरीरमा प्रवेश गरेको ४ देखि १४ दिनभित्र लक्षणहरू देखिन थाल्छन् । यसलाई ’इन्क्युबेशन पिरियड’ भनिन्छ । केही केसहरूमा त ४५ दिनसम्म पनि लक्षण नदेखिएको पाइएको छ ।
सुरुवाती लक्षणहरू सामान्य भाइरल ज्वरोजस्तै हुन्छन्न् ।
१. उच्च ज्वरो आउनु ।
२. अत्यधिक टाउको दुख्नु ।
३. मांसपेशी दुख्नु ।
४. घाँटी दुख्नु ।
५. बान्ता हुनु वा वाकवाक लाग्नु ।
तर, यो भाइरसको आक्रमण यतिमै रोकिँदैन । जब संक्रमण बढ्दै जान्छ, बिरामीलाई सास फेर्न गाह्रो हुन थाल्छ । सबैभन्दा खतरनाक पक्ष भनेको यसले मस्तिष्कमा आक्रमण गर्छ । जसलाई ’इन्सेफलाइटिस’ वा गिदी सुन्निने समस्या भनिन्छ ।
यस अवस्थामा बिरामी अचेत हुने , भ्रममा पर्ने , र २४ देखि ४८ घण्टाभित्रै ’कोमा’ मा जाने सम्भावना हुन्छ ।
विश्व स्वास्थ्य संगठनले निपाहलाई कोभिड र जिका भाइरस जस्तै महामारी फैलाउन सक्ने रोगहरूको सूचीमा राखेको छ । यसको मृत्युदर कोभिडको तुलनामा धेरै गुणा बढी अर्थात् ४० देखि ७५ प्रतिशतसम्म छ । यसको अर्थ, १० जना संक्रमित भए भने ४ देखि ७ जनाको मृत्यु हुने सम्भावना रहन्छ ।
सबैभन्दा तितो सत्य के हो भने— निपाह भाइरसको लागि अहिलेसम्म कुनै पनि एन्टिभाइरल औषधि वा खोप बनेको छैन ।
अस्पतालमा बिरामीलाई ’सपोर्टिभ केयर’ मात्र दिइन्छ । जस्तै, ज्वरो आए सिटामोल दिने, सास फेर्न गाह्रो भए अक्सिजन दिने वा भेन्टिलेटरमा राख्ने । कोभिडको उपचारमा प्रयोग गरिएको ’रेम्डेसिभिर’ जस्ता औषधिहरू चलाउन सकिए पनि, ती निपाहका लागि प्रमाणित औषधि होइनन् ।
त्यसो भए बच्ने उपाय के त ? जवाफ एउटै छ— सावधानी !
बजारबाट ल्याएको वा बोटबाट टिपेको फलफूल राम्ररी धोएर, पखालेर र बोक्रा ताछेर मात्र खाने बानी बसाल्नुहोस् । चरा वा जनावरले ठुँगेको वा टोकेको फलफूल कहिल्यै नखानुहोस् । “यो त गुलियो हुन्छ“ भन्ने भ्रममा परेर जुठो फल खाँदा ज्यानै जान सक्छ ।
बंगलादेशमा धेरैजसो संक्रमण खजुरको काँचो रस खाँदा भएको पाइएको छ । चमेराले राती आएर त्यो रस पिउने र ¥याल वा पिसाब छोड्ने गर्छन् । त्यसैले, ताडी वा खजुरको रस राम्ररी उमालेर मात्र पिउनुहोस् ।सुँगुर वा अन्य बिरामी जनावरहरूको स्याहार गर्दा सावधानी अपनाउनुहोस् । पन्जा र मास्कको प्रयोग गर्नुहोस् । मरेका जनावरलाई नाङ्गो हातले नछुनुहोस् ।
कोभिडले हामीलाई हात धुन सिकायो, त्यो बानी नछोड्नुहोस् । साबुन पानीले बारम्बार हात धुदा धेरै प्रकारका भाइरसबाट बच्न सकिन्छ ।
नेपाल सरकारले के गर्दैछ त ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, भारतमा संक्रमण देखिएपछि नेपालका हवाई तथा स्थल नाकाहरूमा निगरानी बढाइएको छ । ’हेल्थ डेस्क’ स्थापना गरिएका छन् र लक्षण देखिएका मानिसलाई निगरानीमा राख्ने व्यवस्था मिलाइएको छ । डाक्टर प्रकाश बुढाथोकीका अनुसार सम्भावित संक्रमितहरूको उपचारका लागि काठमाडौँको टेकु अस्पताल लगायत विभिन्न अस्पतालहरू तोकिएको छ । यद्यपि, विज्ञहरू भन्छन् नाकामा ज्वरो नापेर मात्र पुग्दैन, व्यापक जनचेतना र प्रयोगशालाको क्षमता बढाउनु जरुरी छ ।
निपाह भाइरस डरलाग्दो पक्कै छ, तर आत्तिइहाल्नुपर्ने अवस्था छैन । भारत सरकारले अहिलेलाई पश्चिम बंगालमा स्थिति नियन्त्रणमा आएको दाबी गरेको छ । तर विश्व स्वास्थ्य संगठनले दक्षिण एसियालाई ’हाई अलर्ट’ मा रहन भनेको छ ।
हाम्रो सुरक्षा हाम्रै हातमा छ । वनजंगलमा पाइने चमेरा र जनावरबाट टाढै रहौँ, सरसफाइमा ध्यान दिऔँ र शंकास्पद लक्षण देखिए तुरुन्त अस्पताल जाऔँ । सतर्क बनौँ, सुरक्षित रहौँ ।








