माघ २२,२०८२ / ०४ : १९ पूर्वान्ह / 2026-02-05 04:19 am
      • param ad
      • furniture
      • veera Incorporation

      २५ देखि ८८ वर्षसम्मका उम्मेदवार मैदानमा, संसदमा युवाको ’इन्ट्री’ कि पुरानै अनुहारको रजाईं ? (भिडियोसहित)

      - ७ दिन अगाडि
      माघ १४,२०८२

      राजनीतिमा सधैँ एउटा बहस चल्छ– देश चलाउन ’जोश’ चाहिन्छ कि ’होश’ ? अर्थात्, शासनको बागडोर युवाको हातमा हुनुपर्छ कि पाका र अनुभवीहरूको हातमा ? यो प्रश्नको उत्तर भाषणमा जति सजिलो छ, मतपेटिकामा त्यति नै जटिल हुन्छ ।

      आउँदो फागुन २१ गते नेपालमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यो निर्वाचन केवल दलहरूबिचको लडाइँ मात्र होइन, यो ’जेनेरेसन’ हरूबिचको महासंग्राम पनि हो । तपाईँलाई सुन्दा अचम्म लाग्न सक्छ, यसपालिको चुनावी मैदानमा नाति पुस्तादेखि हजुरबुवा पुस्तासम्मको रोचक प्रतिस्पर्धा हुँदैछ ।

      हो, तपाईँले सही सुन्नुभयो । प्रतिनिधिसभाको टिकट लिएर मैदानमा उत्रिनेमा भर्खर २५ वर्ष टेकेका ’जेन–जी’ देखि ८८ वर्षका पाका ’भेट्रान’ सम्म छन् । आखिर कुन उमेर समूहको वर्चस्व छ त यसपालिको चुनावमा ? के साँच्चै युवाहरूको लहर आएको हो वा अझै पनि राजनीति मध्य–उमेर समूहकै कब्जामा छ ?

      आजको भिडियोमा हामी निर्वाचन आयोगको ताजा तथ्याङ्कको ’पोस्टमार्टम’ गर्नेछौँ । १६५ पदका लागि भिडन्तमा रहेका ३ हजार ४८७ जना उम्मेदवारको जन्मकुण्डली हामीले केलाएका छौँ । 

      सबैभन्दा पहिले तथ्याङ्कमा एक नजर लगाऔँ ।

      फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कुल १६५ सिटका लागि ३ हजार ४८७ जना आकांक्षीहरू मैदानमा छन् । निर्वाचन आयोगका अनुसार सुरुमा दर्ता भएकामध्ये ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि यो अन्तिम नामावली तयार भएको हो ।

      लैंगिक हिसाबले हेर्दा, अझै पनि हाम्रो राजनीतिमा पुरुषहरूकै भारी वर्चस्व देखिन्छ । ३ हजार ९० जना पुरुष उम्मेदवार हुँदा महिला उम्मेदवारको संख्या मात्र ३९६ छ । यस्तै अन्य लिङ्ग पहिचान भएका १ जना उम्मेदवार छन्  । निर्वाचन आयोगको डेटालाई गहिरिएर हेर्दा के देखिन्छ भने– उम्मेदवारी दिनेको रेन्ज निकै फराकिलो छ । २५ वर्षदेखि ८८ वर्षसम्मका व्यक्तिहरूले ’म देश बनाउँछु’ भन्दै दाबी प्रस्तुत गरेका छन् ।

      रोचक कुरा के छ भने, २५ देखि ८८ वर्षको बिचमा पर्ने ७९, ८४, ८५ र ८६ वर्षका उमेरका चाहिँ कोही पनि उम्मेदवार छैनन् । यी चार उमेरबाहेक ६४ वटा फरक–फरक उमेर वर्षका व्यक्तिहरू चुनावी रेसमा छन् । “अब लागौँ सबैभन्दा रोचक तथ्यतर्फ ।  तपाईँलाई लाग्ला, युवाहरूको देश भएकाले २०–३० वर्षका उम्मेदवार धेरै होलान् । अथवा, पुराना नेता धेरै भएकाले ६०–७० वर्षका धेरै होलान् । तर तथ्याङ्कले अर्कै कथा भन्छ ।

      यसपालिको निर्वाचनमा सबैभन्दा धेरै उम्मेदवार ५४ वर्ष उमेरका छन् । हो, ५४ वर्षका मात्रै १२९ जनाले सांसद बन्ने आकांक्षा राखेका छन् । यसलाई राजनीतिक विश्लेषणको भाषामा भन्दा, ५४ वर्ष भनेको एउटा यस्तो विन्दु हो जहाँ व्यक्तिसँग काम गरेको लामो अनुभव पनि हुन्छ र काम गर्ने शारीरिक ऊर्जा पनि बाँकी नै हुन्छ । सायद त्यसैले यो उमेर समूहमा टिकट पाउने र दाबी गर्नेहरूको घुइँचो लागेको हो ।

      यस्तै, दोस्रो ठूलो जमात ४२, ४४ र ४८ वर्षका छन् । यी तीनवटै उमेर समूहमा समान १२२–१२२ जना उम्मेदवार छन् । यसले के सङ्केत गर्छ भने, ४० देखि ५० को दशकमा हिँडिरहेका व्यक्तिहरू नै अहिलेको राजनीतिको ’कोर ग्रुप’ वा शक्ति केन्द्र हुन् ।

      पाँचौं नम्बरमा ५० वर्षका ११५ जना, अनि त्यसपछि ४५ र ४७ वर्षका ११०–११० जना उम्मेदवार मैदानमा छन् । ४० वर्षका र ३९ वर्षका पनि १०९–१०९ जनाले उम्मेदवारी दिएका छन् । यी तथ्याङ्कहरूलाई जोडेर हेर्दा एउटा स्पष्ट तस्बिर आउँछ– नेपालको संसदीय राजनीतिमा ’मिडिल एज’ अर्थात् अधबैँसे उमेर समूहको पकड सबैभन्दा बलियो छ । 

      पछिल्लो समय ’नो नट अगेन’ र ’युवाको पालो’ भन्ने नारा खुब चल्यो । के यो नारा उम्मेदवारीमा पनि देखियो त ? आउनुहोस्, तथ्य जाँचौँ । नेपालको संविधानले प्रतिनिधिसभा सदस्य बन्न २५ वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरेको छ । यो ढोका खुल्नासाथ युवाहरू ह्वारह्वार्ती आएको देखिन्छ । २५ वर्षका २९ जना नवजवानहरूले ’हामी तयार छौँ’ भन्दै उम्मेदवारी दिएका छन् ।

      अझ रोचक कुरा त के छ भने, ’जेन–जी’ अर्थात् २५ देखि २९ वर्ष उमेर समूहका मात्रै २०५ जना उम्मेदवार छन् । यो सानो संख्या होइन । २०५ जना युवाले प्रत्यक्ष निर्वाचनमा होमिनु भनेको परिवर्तनको ठूलो सङ्केत हो । यसलाई अलिकति फराकिलो बनाएर हेर्ने हो भने, २५ देखि ३० वर्षसम्मका २६६ जना र ३१ देखि ४० वर्षसम्मका ८१६ जना उम्मेदवार छन् ।


      यसको अर्थ, २५ देखि ४० वर्ष उमेर समूहका कुल १,०८२ जना उम्मेदवार मैदानमा छन् । ३ हजार ४ सय मध्ये १ हजार भन्दा बढी ४० वर्ष मुनिका हुनु भनेको राजनीतिमा नयाँ रगतको सञ्चार भइरहेको प्रमाण हो । तर, यहाँनेर एउटा ’बट’ छ । युवाहरूको संख्या राम्रो देखिए पनि निर्णायक संख्या अझै पनि ४१ देखि ५० वर्ष समूहकै छ ।

       हामीले ५४ वर्षका धेरै छन् त भन्यौँ, तर समग्र समूहगत विश्लेषण गर्दा नतिजा अझ प्रस्ट हुन्छ । ४१ देखि ५० वर्षः यो समूह चुनावी मैदानको ’बाहुबली’ हो । यो उमेर समूहका १,११४ जना उम्मेदवार छन् । अर्थात्, कुल उम्मेदवारको करिब एक तिहाइ हिस्सा यही समूहले ओगटेको छ ।

      ५१ देखि ६० वर्षः यसमा ८५६ जना छन् ।

      ६१ देखि ७० वर्षः यसमा ३६६ जना छन् ।

      अब कुरा गरौँ ’बुढापाका’ वा पाका अभिभावकहरूको ।

      ७० वर्ष कटिसकेपछि धेरैले विश्राम लिने सोच्छन्, तर राजनीति एउटा यस्तो नशा हो जहाँ उमेर केवल एउटा अंक मात्र हो । ७१ देखि ८० वर्ष उमेर समूहका ६३ जनाले उम्मेदवारी दिएका छन् । र, सबैभन्दा आश्चर्यजनक र सम्मानजनक आँकडा– ८१ देखि ८८ वर्ष उमेर समूहका ६ जना वृद्ध योद्धाहरू पनि मैदानमा डटेका छन् ।

      ८७ वर्षका १ जना र ८८ वर्षका १ जना सबैभन्दा पाका उम्मेदवारका रूपमा खडा छन् । उनीहरुको यो जोसलाई मान्नै पर्छ । २५ वर्षे नाति पुस्तासँग ८८ वर्षे हजुरबुवा पुस्ताको यो प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष पनि हो ।
      यी सबै तथ्याङ्कलाई एउटा भाँडामा हालेर घोल्ने हो भने नतिजा के आउँछ ?

      हामीले हिसाब गर्दा, सांसद बन्न चाहने आकांक्षीहरूको औसत उमेर करिब ४७ वर्ष) देखिन्छ । यसले यो बताउँछ कि नेपालको राजनीति ’बालहठ’ र ’वृद्धहठ’ दुवैबाट मुक्त भएर एउटा परिपक्व बाटोमा हिँड्न खोज्दै छ । औसत उमेर ४७ हुनु भनेको संसदमा युवाको ऊर्जा र पाकाको अनुभवको सन्तुलन मिल्न सक्ने सम्भावना हो । न त यो एकदमै कलिलो संसद हुनेछ, न त एकदमै वृद्ध ।

      तर, यो त उम्मेदवारको तथ्याङ्क मात्र हो । जित्ने को हो ? त्यो त तपाईँ मतदाताको हातमा छ । “अन्त्यमा, फागुन २१ गते जब तपाईँ मतपेटिकाको अगाडि उभिनुहुन्छ, तपाईँको अगाडि एउटा ठूलो ’मेनु’ हुनेछ ।

      एकातिर २५ वर्षका युवा छन्, जसले भन्छन् ’हामीसँग नयाँ सोच छ, प्रविधि छ र देश बदल्ने हुटहुटी छ । अर्कोतिर ४०–५० वर्षका अनुभवी उम्मेदवार छन्, जसले भन्छन्न् ’हामीसँग काम गर्ने शक्ति र समाज बुझेको अनुभव छ ।’  र, अर्कोतिर ८० काटेका अभिभावकहरू छन्, जसले भन्छन्न् ’हामीले इतिहास बनाएका हौँ, हामीसँग त्याग र निष्ठा छ । ’

      तथ्याङ्कले त देखायो कि राजनीतिमा ’मिडिल एज’ हाबी छ, तर नतिजाले के देखाउँछ ? के मतदाताले यसपटक २०५ जना ’जेन–जी’ मध्येबाट उल्लेख्य संख्यालाई संसदमा पठाउला ? वा फेरि पनि परम्परागत अनुहारहरू नै दोहोरिनेछन्  ?
      यसको जवाफ पाउन त फागुन २१ गते कुर्नै पर्छ ।


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d