गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
जय जय जय नेपाल, सुन्दर शान्त विशाल ।
राष्ट्रकवि माधव प्रसाद घिमिरे हामिबाट सदाको लागि अस्ताउनु भएको छ । उहाँको निधनसंगै नेपालको साहित्यको एक युगको अन्त्य भएकोे छ । काव्य र कविताका माध्यमबाट राष्ट्र, राष्ट्रियता र नेपाली साहित्यलाई अमर राख्ने एक राष्ट्रभक्ति सिपाहीको अन्त्यले राष्ट्रलाई ठुलो क्षती पुगेको छ । यतीबेला देशनै शोकमा डुबेको छ । नेपाली साहित्यको इतिहासमा आधुनिक कालका छुट्टै पहिचान बनाउन सफल हुनु भएका घिमिरे अब सम्झानामा मात्र सिमित हुनु भएको छ । उहाँको १०१ वर्षको उमेरमा गत भदौ २ गते मङ्गलवार अपराह्न लैनचौरस्थित निवासमा निधन भएको थियो। उहाको भदौ १३ गते अर्थात भोली आइतबार १३औँ पुन्यतिथी परेको छ तर परम्परा अनुसार आइतबार त्यस तिथी नगर्ने हुँदा अघिल्लै दिन अर्थात आज १३औँ पुन्यतिथीको कार्य गरीएको छ । यसै आफ्नो जीवनकालमा नेपाली साहित्यमा ठुलो योगदान गरेका उहाँलाई संधै सबैले कहिले बिर्सीने छैनन् । संगीतकार, गायक, गीतकार, संगीत संयोजक, गितार बादक, तथा रेडियो नेपालका senior music coordinator नारायण ओलीले १३औँ पुन्यतिथीको अवसरमा यसरी सम्झिएका छन् ।
भनिन्छ ‘बनको काँडालाई तिखार्नुपर्दैन, आफैं तिखारिन्छ’ । हुन पनि हो । राष्ट्रकवि मात्रवप्रसाद घिमिरेका कृतिलाई कसैले अति व्याख्या गरिरहनु परेन । किनकी उनका कृति आफैंमा तिखारिएका थिए, आफैंमा ओजनदार थिए । जसले उनलाई राष्ट्रकवि बनायो ।
लम्जुङको पुस्तुन भन्ने रमणीय गाउँमा वि.स. १९७६ मा एक बालकको जन्म भयो । हुर्कियो । सुन्दर, रमणीय हिमालको काखमा बसेर सुनौला सृजनालाई इन्द्रेणीमा उन्दै देशलाई सुम्पियो । र आफ्नो देशलाई सृजनैसृजनाको उपमा दिएर गयो । यी अदभुत क्षमतावान व्यक्ति थिए नेपाली साहित्यका धरोहर अर्थात् राष्ट्रकवि माधवप्रसाद घिमिरे ।
घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार थिए । उनले बाल्यकालदेखि नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधा–उपविधाहरूमा निरन्तर कलम चलाउँदै आए ।चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरेका अन्य चर्चित गीतहरूमा ‘फूलको थुंगा बगेर गयो’ (तारादेवी) तथा ‘आजै र राति के देखेँ सपना’ (नारायण गोपाल) ले गाएका छन् । यस्तै चर्चित गीत नेपाली हामी रहौला कहाँ नेपालै नरहेमा स्वर तथा संगीत नाति काजीको रहेको छ ।
‘राष्ट्र निर्माता’ जस्तो खण्डकाव्यको सिर्जना गरेर घिमिरेले साहित्य क्षेत्रमा आफूलाई सु–प्रबल राष्ट्रवादी कविका रुपमा स्थापित गराए । गीत र कविताका माध्यमबाट आधुनिक नेपालको जनमानसमा राष्ट्र प्रेमको भावना जागरण गराउने प्रमुख भूमिका घिमिरेले खेले ।

हुने बिरुवाको चिल्लो पात...’‘
हुने बिरुवाको चिल्लो पात’ भने झैँ राणाकालीन अवस्था भए पनि वि.सं. १९९० पछि नेपालको साहित्य क्षेत्रमा आधुनिक र परिमार्जित काल शुरुहुन्छ । त्यहिबेलादेखि शास्त्रीय छन्दको शुरुआत गर्न सक्रिय रास्ट्रकवि करिव १४ वर्षको उमेर मै गोरखापत्रमा नव पुष्प भन्ने कविता छपाउन सक्षम हुन्छन् ।
बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलवमा लेखक पदमा र वि.सं. २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गरे । घिमिरे वि.सं. २००५ सालमा गोरखापत्रमै सह–सम्पादकको जागिरे पनि थिए । त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा ४ वर्षसम्म सदस्य थिए ।
नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर–किन्नरी (वि.सं. २०३३) जस्ता कविता संग्रह संकलित छन् ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि दियो । जिन्दगी भनेको दुःख र सुखको मिसमास हो भन्न रुचाउने रास्ट्रकवि आफ्नो गीतमार्फत यसरी व्यक्त गर्दछन्ः
‘पहिलो पाली रमाइ रमाइ दोस्रो पाली रुवाइ
यो पापमा नमुछिने छैन मान्छे कोहि
क्षमा गर्न सक्दिनँ म आफैँलाई पनि’
जीवन भनेकै जन्म र मृत्युको संगम हो । जीवन हुइन्जेलसम्म अनेको कर्म भोग्नुपर्छ । कर्म गरे अनुसार नै कर्मको फल कालान्तर सम्म पाइन्छ। उनले कालान्तरसम्म रहने कर्म गरे, जसलाई मेट्न सकिन्न । उनले सच्चा सरस्वती पुत्र भै मातृभुमीलाई जे दिए, त्यो पर्याप्त छ । देश जनता र आउने पुस्ताले भुल्ने छैनन् । ती छोडेका सुन्दर कृतिहरु हिमालका अग्ला उचाईदेखि तराईका समतल फाँटसम्म गुन्जयमान हुने नै छन् ।
आजै र राती के देखें सपना मै मरि गएको
बतास बिना फुलको हाँगा भुइँ झरी गएको
मस्र्याङ्दी नदी नरमाईलो सुसाइरहेको
कहाँ हो, कहाँ बादलभित्र म रोइरहेको ।
घिमिरेले सायद कुनै दिन आफैँ मरेको सपना सायद देखेका थिए होला । कल्पना पनि गरेका थिए होला । जुन गीतमा स्वर दिएका नारायण गोपालको मृत्यु हुँदा यो गीतले सबैका आँखा रसाएका थिए । अहिले पनि यो गीतको आम स्रोताको मन भावुक बनाउँछ ।
फुलको थुंगा बगेर गयो गंगाको पानीमा
कहिले भेट होला है राजै यो जिन्दगानीमा ।
घिमिरेकै शब्दमा तारादेवीको सुरिलो स्वरमा भनेझै घिमिरेको जीवन फुलको थुंगा गंगामा बग्दै होला । गंगामा बग्दै स्वर्गमा बास माग्दै होला ।
यसरी बात लाग्यो :
सबै मान्छे सबै कुरामा निपूर्ण हुँदैनन् । आलोचना नहुने व्यक्ति पनि हुँदैनन् । आरोप विनाको मान्छे पनि हुँदैनन् । विना गल्तीमा मान्छे पनि हुँदैनन् । २०१४ मा राजकिय प्रज्ञा प्रतिस्ठान गठन भए संगै उनी त्यहाँ सम्लग्न भएपछि सत्ताको नजिकका रास्ट्रबादी पन्चे भन्ने उपनाम मिल्न थाल्यो।तर सृजनाले भने सधैं रास्ट्र, प्रकृति र सन्स्कृतिको मात्र जय जयकार गर्थ्यो।
उनलाई धेरैले राजावादी भन्थे । कारण उनी राजकीय प्रज्ञा प्रतिस्ठानमा लामो समय रहनु नै हो । उनलाई राजाको नजिक र राजाको कवि भन्ने आरोप नि नलागेको होइन । कतिपयले उनका केही सृजना राजाकै लागि कोरिएका छन् ।
उनलाई धेरैले सत्ताको धुरीमा पुगेका साशकहरुको सधैं नजिक पुग्ने र अवसर लिन पछि नपर्ने भन्ने गर्छन् । तर उनी राजनीतिमा प्रत्यक्ष रुपमा संलग्न रहेको पाइँदैन । यस्ता सृजनाले अटुट देश प्रेमको व्याख्या गरेको स्पस्ट हुन्छ । राजारानी र राजसंस्थाको व्याख्या आफ्ना सृजनामा भने कतै उल्लेख गरेका पाइँदैन । देश र राजा एउटै हुन भन्दै सत्ता र शक्तिको चाकडी बजाइ पद हत्याउने समयमा यी र यस्ता कुराहरू प्रसस्तै उठेको भेटिन्छ।
नेपाली हामी रहौला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ।
जे भए पनि सकारात्मक सोच, नियमित योग, शारीरिक अनुशासन र उचित खानपिन कै कारण सताब्दी पुरुष बन्न सफल बने । राष्ट्रकविको उपमा पाए । जुन उपाधी अब अरुले पाउने सम्भावना न्यून छ । उपल्लो तहको गीत लेखेर जनमानसमा छोडे नि गीतकार संघको गीति पुरस्कार पाउन बाट बन्चित नै रहे।जुन कुराको खोजी समयले गर्ला। उनी यो दुनियाँमा नरहे पनि राष्ट्रकविको नाम र सृजना सधैं जीवित रहिरहने छन् । फुलको थुंगा गंगामा बगेर गए पनि उनका सृजना कालजयी बनेर जनजिब्रोमा रहिरहने छन् ।









