वैशाख २३,२०८३ / ०७ : १० अपरान्ह / 2026-05-06 07:10 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मकैबाली जोगाउन रातभर टहरमा

      - ६ वर्ष अगाडि
      भाद्र १३,२०७६

      बैतडी, बैतडी मकैको ‘जोन’ जिल्ला हो। जिल्लामा मकै उत्पादन बढाउने र प्रशोधन गर्ने उद्देश्यसहित गत वर्ष सरकारले मकै जोन कार्यालय खोल्यो। कार्यालयले किसानलाई उन्नत प्रजातिको बिउ वितरण गर्‍यो। तर यतिबेला किसान घोगा लागेको मकै कसरी जोगाउने भनेर चिन्तिुत छन्।

      सुर्नया गाउँपालिका–६ शंकरपुरका केशवदत्त अवस्थी मकैबारीमा रातभर जाग्राम बस्छन्। बारीमा लगाएको मकै राति जंगली बँदेलले नष्ट गर्न थालेपछि उनको बास बारीमै हुन थालेको हो।

      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बैतडी मकैको ‘जोन’ जिल्ला हो। जोनकै मकै जोगाउन किसानलाई हम्मेहम्मे परेको छ। ‘राति सुतेका बेला बँदेलले मकै बाली नष्ट गरिहाल्छ’, अवस्थीले भने।

      जिल्लाका अधिकांश ठाउँमा जंगली बँदेलले मकैबाली नष्ट गर्न थालेपछि किसानले खेतमै टहरा बनाएर पहरा दिइरहेका छन्। ‘दिनदिनै बथानमा आउने जंगली बँदेलले मकैबाली नष्ट गरिसक्यो। यो वर्ष भोकमरी हुने चिन्ताले सताएको छ’, अवस्थीले भने। सुर्नया–४ का पदम महरा अनिँदो बस्न थालेको एक महिना बढी भइसकेको छ। ‘बँदेलले मकै नष्ट गरेपछि परिवारलाई के खुवाएर पाल्ने भन्ने चिन्ता छ’, महराले भने।

      दशरथचन्द नगरपालिकाका धेरै स्थानमा बँदेलले मकैबाली नष्ट गरेको किसान वीरबहादुर टेरले बताए। उनले भने, ‘बँदेलले मकैबालीको साथै फलफूलका नर्सरीमा पनि क्षति पुर्‍याएको छ। ओखरका बोट उखेलेर नोक्सान गरेको छ।’

      जंगली जनावरबाट मकै जोगाउन निकै चुनौती रहेको कार्यालय प्रमुख दानसिंह महराले बताए। उनले भने, ‘बैतडीमा मकैको राम्रो उत्पादन हुने भएकाले मकै जोन तोकिएको हो। मकैको घोगा लाग्नेबित्तिकै बँदेलले नष्ट गर्न थालेको सुर्नया–४ का कालु चन्दले बताए। उनले भने, ‘दिउँसो बाँदरबाट मकै जोगाउन सकस छ भने राति दुम्सी र बँदेलले नष्ट गरिरहेको छ। टहरो बनाएर पहरा दिइरहेका छौं तर पनि बँदेलको बथानले मकैबाली नष्ट गरिछाड्छ।’

      जिल्लामा मकैखेती जंगली जनावरले सखाप पार्न थालेपछि प्रत्येक वर्ष उत्पादन घट्दै गएको छ। आव ०७३/७४ मा २३ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो भने गत वर्ष १९ हजार मेट्रिक टनमा झरेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए। यो वर्ष उत्पादन झन् घट्ने अनुमान छ।

      बैतडीमा १४ हजार ५ सय हेक्टर जमिनमा मकैखेती गरिन्छ। दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा मकै जोन कार्यालयले कार्यक्रम सञ्चालन गरेको छ।

      किसानलाई व्यावसायिक बनाउने पहल गरे पनि बाली जोगाउन पहल हुन नसकेको मकै जोन कार्यालयका प्रमुख दानसिंह महरा बताउँछन्। जंगली जनावरले मकैबाली नष्ट गर्न थालेकाले जिल्लामा खाद्य संकट निम्तिने खतरा रहेको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टले बताए। उनले भने, ‘बाली जोगाउने कुनै उपाय निकाल्न सकिएन भने भोकमरी निम्तने खतरा छ। योतर्फ सरकारको ध्यान जाओस्।’

      अन्नपूर्ण पोस्ट 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d